arrow

नीतिगत सुधारले अर्थतन्त्रमा सकारात्मक प्रभाव : अर्थमन्त्री  कार्की

logo
प्रकाशित २०७४ भदौ २० मंगलबार
gyanendra_bahadur_karki.JPG

काठमाडौं । अर्थमन्त्री श्री ज्ञानेन्द्रबहादुर कार्कीले आन्तरिक राजस्व विभागको भदौ २० देखि २१ गतेसम्म संचालन हुने व्यवस्थापन गोष्ठीको पासनमा बत्ति बाल्दै मंगलवार उद्घाटन गरे । कार्यक्रममा अर्थमन्त्री कार्कीले आगामी दिनमा विभागको दिशानिर्देश गर्नको लागि, समस्याहरु पहिचान गर्दै प्रभावकारी रुपमा विभागलाई समृद्धिको बाटोमा लान व्यवस्थापन गोष्ठी अग्रसर हुने अपेक्षा गरेका थिए। 

करदाताको संख्यालाई वृद्धि गर्न निर्देशन दिँदै मुलुकको दूरदराजमा बसेको मानिसले पनि विकास निर्माणको अनुभूति गरेको हेर्न चाहन्छौं भन्दै त्यसको लागि राजस्व संकलनमा विभागको भूमिका महत्वपूर्ण हुने समेत बताए। सन् २०२२ सम्ममा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा र सन् २०३० सम्म मध्यम आय भएको राष्ट्रमा स्तरोन्नतिको लागि ठूलो आन्तरिक स्रोतको परिचालन आवश्यकता हुने बताउँदै मुलुकलाई समृद्धितर्फ लानका लागि निजी क्षेत्र, उद्योगी, व्यवसायी र कर प्रशासनबीच समन्वयको आवश्यकता रहेको बताए ।  

विभागलाई तोकिएका राजस्व लगायत थप राजस्व संकलन गर्न गोष्ठी सफल हुनेछ भन्ने अपेक्षा गर्नुहुंदै नीतिगत सुधारका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको बताए । कर कानुनको कडा रुपमा परिपालना र प्रभावकारी अनुगमन गर्न निर्देशन दिँदै परम्परागत कार्यशैलीलाई अध्यावधिक गर्नुपर्नेमा जोड दिए । कर्मचारीको मनोवल वृद्धि गर्न कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणालीलाई समयमै निर्णय गरी कार्यान्वयन गरिने बताए । 

व्यवस्थापन गोष्ठीमा अर्थराज्यमन्त्री श्री उदयशमसेर राणाले व्यवस्थापन गोष्ठीबाट राजस्व संकलन गर्ने सम्बन्धमा नयां सोच आउने अपेक्षा गरे । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा लक्ष्यभन्दा १११ प्रतिशत बढी राजस्व संकलन गरेकोमा बधाई दिँदै यो आर्थिक वर्षमा स्थानीय तहको निर्वाचन भैसकेको संघ र प्रादेशिक निर्वाचन हुन लागेकाले आर्थिक भार पर्ने हुँदा कर प्रशासनलाई जुन लक्ष्य दिइएको छ, त्यो पूरा गर्न निर्देशन दिए । करदातालाई कर तिर्ने सहज वातावरणको सिर्जना गर्न निर्देशन दिनुहुंदै करदाताले विल जारी गर्दा केन्द्रीय सिस्टममा तुरुन्तै देखिने पद्दतिको विकास गर्नु पर्नेमा जोड दिएका थिए ।

अर्थसचिव डा. शान्तराज सुवेदीले व्यवसायीले व्यवसाय घाटा भयो भन्ने तर उसको रहन सहन र जीवन शैली उच्च स्तरको हुंदै जाँदा तालमेल हुन नसकेको बताए । उनले विगतमा गरिएका घोषणापत्रका प्रतिवद्धताहरु कति पूरा भए ? त्यसबाट कति नतिजा प्राप्त भयो ? व्यवस्थापन गोष्ठीमा समीक्षा गर्न निर्देशन दिए । कर परीक्षण र अनुसन्धान तथा छानविन कार्यलाई गुणस्तरीय बनाउन समेत निर्देशन दिए । व्यवसाय घाटा हुँदा कर तिर्न नपर्ने बताउँदै तर व्यवसायले लुकाउने, छल्ने जस्ता गलत काम गर्न नहुने बताए । व्यवसायीबाट उठाइएको करको ठूलो हिस्सा शिक्षा, स्वास्थ्य, जेष्ठ नागरिक भत्ता लगायतका सामाजिक क्षेत्रमा खर्च गरिरहेको बताए । 

अर्थसचिव श्री सुवेदीले कर प्रशासनले प्रभावकारी भूमिका खेल्नु पर्ने बताउँदै आर्थिक गतिविधि वृद्धि हु्ँदै जाने पर्यटन क्षेत्र, उद्योग व्यवसाय, ठेकेदारले कामहरु गरिरहने तर तदनुसार राजस्व दाखिला नहुने गरेको बताए । उनले लामो समय बक्यौता राख्ने सम्पूर्ण करदाताको विवरण पत्रपत्रिका, रेडियो र टिभीमा सार्वजनिक गर्न निर्देशन दिए । गलत कार्य गर्नेलाई नछाड्न निर्देशन दिँदै सही काम गर्नेलाई दुःख नदिन पनि उनले जोड दिँदै घुम्ती कर शिविर राखेर गाउँगाउँमा करदाता शिक्षा र दर्ता प्रकृयालाई अगाडि बढाउन निर्देशन दिएका थिए । 

कार्यक्रममा राजस्व सचिव श्री शिशिरकुमार ढुंगानाले गत आर्थिक वर्षमा संकलन भएको राजस्व मध्ये कर प्रशासनकै मेहनतले कति संकलन भएको हो समिक्षा गर्न निर्देशन दिए । २०७४ श्रावण र भदौ महिनाको राजस्व संकलनको अवस्था सन्तोषजनक नरहेको बताउँदै कसरी लक्ष्यभन्दा बढी संकलन गर्न सकिन्छ भन्ने तर्फ अग्रसर हुन निर्देशन दिए । २ दिनमा हुने व्यवस्थापन गोष्ठीमा कार्य योजना बनाउन केन्द्रित हुन र कार्य सम्पादन गर्दा आफ्नो दक्षताको उपयोग गर्न निर्देशन दिएका थिए । संस्थागत सुधारका लागि गोष्ठी केन्द्रित हुनुपर्ने बताउँदै समस्याहरुमा केन्द्रित भएर छलफल गर्न पनि राजस्व सचिव ढुंगानाले निर्देशन दिएका थिए । 

महालेखा नियन्त्रक श्री राजेन्द्रप्रसाद नेपालले व्यवस्थापन गोष्ठीले आगामी कार्ययोजना बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने अपेक्षा गरेका थिए । आरएमआइएस मार्फत् ७५ जिल्लामा नै राजस्व संकलनको अवस्था थाहा पाउन सकिने अवस्था रहेको बताउँदै कार्यालयले ५ हजार भन्दा माथिको भुक्तानी दिँदा प्यान नम्बर इन्ट्री गरेर मात्र भुक्तानी गर्ने व्यवस्था गरिएको जानकारी दिँदै प्रणाली व्यवस्थापनमा अझै सुधार जरुरी रहेको बताए । आगामी दिनमा कार्य क्ष्ोत्रमा सहज रुपले काम गर्ने गरी कार्य योजना बनाउनु हुनेछ भन्दै गोष्ठी सफलताको शुभकामना दिए । 

आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्कीले आन्तरिक राजस्व विभागले प्रत्येक वर्ष आयोजना गर्दै आएको व्यवस्थापन गोष्ठीले राजस्व प्रशासन र कर प्रणालीमा भए गरेका कार्यहरुको विस्तृत रुपमा लेखाजोखा गर्ने, मूल्यांकन तथा समीक्षा गर्ने र आगामी वर्षको लागि कार्य योजना बनाई अगाडि बढ्ने एउटा महत्वपूर्ण व्यस्थापकीय औजारको रुपमा प्रयोग गर्दै आएको बताए । 

विगतमा शुरु गरेका कार्यहरु के कति सम्पन्न भए, के कति सम्पन्न हुन सकेनन् त्यसको व्यापक रुपमा लेखाजोखा गरी आगामी वर्षको लागि कार्य योजना बनाउने र त्यसमा भएका समस्यालाई व्यापक छलफलबाट समाधानतर्फ उन्मुख रहने अपेक्षा गरेका थिए । स्वेच्छिक कर सहभागिताको माध्यमबाट कर सहभागितामा अभिवृद्धि गर्नका लागि नीतिगत, प्रकृयागत, संरचनागत र व्यवस्थापकीय एवं व्यवहारगत सुधार गर्दै करदाता मैत्रि कर प्रशासनको अबधारणाबाट निर्देशित भई कार्य सम्पादन गरिदै आएको बताए । 

विश्व अर्थतन्त्रमा आएको परिवर्तनलाई आत्मसात गर्दै मुलुकको अर्थतन्त्रलाई राष्ट्रिय हित अनुकूल बनाउने उद्देश्यले कराधारको संरक्षण गर्न नीतिगत सुधार गर्न थालिएकोमा हालको समय सुहाउँदो जनशक्ति विकास एवं नतिजामा आधारित विशिष्टिकृत एवं व्यवसायिक र आधुनिक संगठनको रुपमा आन्तरिक राजस्व विभाग स्थापित भएको कुरा अवगत गराएका थिए । 
महानिर्देशक कार्कीले आर्थिक वर्ष २०७३।०७४ मा करको दायरा बिस्तार भई १ लाख ९२ हजार ७७६ करदाताहरु थप भई कूल करदाताको संख्या १६ लाख २३ हजार ७८ पुगेको, ८ ओटा कार्यालयमा बैंक काउण्टर स्थापना गरिएको, अन्तःशुल्क, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा करको सफ्टवेयर तयार गरी बिद्युतीय प्रणालीमा आबद्ध गरिएको, व्यवस्थापन सम्बन्धी अध्ययन गरी प्रतिवेदन प्राप्त भएको जानकारी दिए । 

कार्कीले चालू आर्थिक बर्ष २०७४।०७५ को लागि राजस्व संकलनको कूल ७३० अर्वको लक्ष्य मध्ये रु. ३०० अर्ब विभागको जिम्मेवारीमा परेको, जसलाई हाँसिल गर्ने कार्य आफैमा चुनौतिपूर्ण रहेको र सो चुनौति पुरा गर्न सक्ने गरी विभाग तथा मातहत कार्यालयले व्यवसायिक कार्ययोजना निर्माण गरी कार्य सम्पादन शुरु गरिसकिएको समेत जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ