arrow

बाग्लुङमा चाडपर्वलाई लक्षित गरी सुपथ मुल्य पसल सञ्चालनमा

logo
नारायण रिजाल,
प्रकाशित २०७४ भदौ २१ बुधबार
photo.jpg

बाग्लुङ । नजिकै आएको चाडपर्वलाई लक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेशन बाग्लुङले सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ । दशै, तिहार तथा छठ पर्वका बेला आम नागरिकलाई सहुलियतमा सामान उपलब्ध गराउने उद्देश्वले मंगलबार देखि सुपथ मुल्य पसल सञ्चालन गरिएको छ ।

पसलबाट चिनी र नुन बजार भन्दा कम मुल्यमा विक्रि गरिन्छ । सुपथ मुल्य पसलबाट चिनी एक केजीको ७७.५० रुपैँया र नुन १८ रुपैयाँमा विक्रि गरिने साल्ट ट्रेडिङ बागलुङ कार्यालयका प्रमुख मनोज श्रेष्ठले जानकारी दिए । एक जनाले ५ सय १९ रुपैँयामा ३ केजी नुन र ६ केजी चिनी लैजान पाउने व्यवस्था मिलाएको उनले बताए । तोकिएको भन्दा बढी लैजान नपाईने उनको भनाई छ । पसल कार्तिक २० गते सम्म सञ्चालन हुनेछ ।

सुपथ मुल्य पसलको शुभारम्भ गर्दै बागलुङ प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले साल्ट ट्रेडिङको कार्यालयमा पसलको सुरुवात गरेपछि चाडपर्वका बेला बजार अनुगमनलाई प्रभावकारी बनाउने बताए । ‘चाड पर्वमा स्वास्थ्यलाई असर गर्ने खालका सामग्रीको विक्रिवितरण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै अनुगमनलाई कडाई गर्छौं,’ थापाले भने, ‘उपभोग्य बस्तुमा अखाद्य चिजको मिसावट र मानेमानी मुल्य गर्ने प्रवित्तिलाई निरुत्साहित गर्नुपर्छ ।’ उनले यसका लागि व्यवसायी तथा सर्वसाधारण नागरिक सवैबाट सहयोग आवश्यक रहने बताए ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सुपथ मुल्य पसल खुल्ने श्रेष्ठले बताए । नुन गत बर्षको तुलनामा यो बर्ष नुनको मुल्य केजीमा २ रुपैयाँ बढी र चिनी एक रुपैयाँ ५० पैसा कम रहेको छ । कार्यालय प्रमुख श्रेष्ठका अनुसार गत बर्ष चिनि ७९ रुपैँया र नुन १६ रुपैँयामा बिक्रि गरिएको थियो । साल्ट ट्रेडिङले अघिल्लो बर्ष ३२ हजार ५ सय केजी नुन र ७१ हजार ३ सय केजी चिनी बेचेको थियो । त्यसबाट ६१ लाख ५२ हजार ७ सय रुपैँयाको कारोबार भएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ