arrow

वीरगञ्ज महानगरका मेयर उम्मेदवार अन्सारीको मेडिकल कलेजको सम्बन्धन खारेज

logo
प्रकाशित २०७४ भदौ २१ बुधबार
national_MC.jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले काठमाडौँको घट्टेकुलामा रहेको नेशनल कलेजलाई दिइएको सम्बन्धन खारेज गरिदिएको छ । त्रिविको छानबिन समितिले बुधबार बिहानै कलेजको अनुगमन गरेर नेशनल मेडिकल कलेजले सम्बन्धन लिन कुनै पनि मापदण्ड पूरा नगरेको भन्दै त्रिवि कार्यपरिषदलाई प्रतिवेदन बुझाएको थियो ।

समितिको प्रतिवेदन बुझेपछि बसेको कार्यकारी परिषद बैठकले कलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो । परिषदले नै गत साउन १२ गते कलेजलाई सम्बन्धन दिएको थियो । कलेजको सञ्चालन तथा सम्बन्धन स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० बमोजिम नभएकाले सम्बन्धन खारेज गरेको त्रिवि कार्यकारी परिषदका एक सदस्यले बताएका छन् ।

चिकित्सा क्षेत्र सुधारको माग राख्दै पटक–पटक अनसन बस्दै आएका डा. गोविन्द केसीले अनसनको तयारी गरिरहेकै बेला नेशनलको सम्बन्धन खारेज भएको हो । गएको साउन ११ गते डा. केसीले नेशनल कलेजको सम्बन्धन तत्काल खारेज नगरे अनसन बस्ने भन्दै १० दिनको अल्टिमेटम दिएका थिए ।

नेशनलको सम्बन्धन खारेज भएपनि डा. केसी पक्षधरहरुले सरकारले गर्नुपर्ने अन्य काम नगरेको भन्दै अनसन बस्ने कि के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छन् । डा. केसी पक्षको वार्ता टोली सदस्य डा.अभिषेकराज सिंहले नेशनलको सम्बन्धन खारेज भएपनि सरकारले गर्नु पर्ने अन्यकामबारे छलफल भइरहेको बताएका छन् ।

त्रिवि कार्यकारी परिषद्ले गएको शनिबार नै कलेजको सम्बन्धन स्थगित गरेको बताएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बन्धन खारेज गर्न निर्देशन दिएपनि त्रिविले सम्बन्धन स्थगित गरेको थियो । प्रधानमन्त्रीको निर्देशनको अवज्ञा गरेको भन्दै त्रिवि उपकुलपति तीर्थ खनियाको निकै आलोचना भएको थियो । नेशनल मेडिकल संचालक बसुरुद्दिन अन्सारी भने एमालेबाट वीरगञ्ज महानगरेको मेयर उम्मेदवार बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ