arrow

विद्यासुन्दरको 'कपिपेस्ट एजेण्डा' : यस्ता छन् केही झूट र केही चलाखी 

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ भदौ २३ शुक्रबार
KTM_pragati1.jpg

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूले पद बहाली गरेको १०० दिनमा आफ्नो प्रतिबद्धतानुसार विकाससम्बन्धी कामका धेरै बुँदाहरु थालनी भएको बताएका छन् । उनले दिएको १०१ कामको विवरण हेर्दा उनले ८६ काम थालनी भएको र १५ काम मात्रै सुरु गर्न नसकिएको दाबी गरेका छन् । एक सय दिनको कार्यविवरण सार्वजनिक गर्दै उनले गर्न चाहेका कतिपय काम आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भएकाले पनि प्रतिबद्धता पूरा गर्न नसकिएको पनि बताउन भ्याए । 

तर हामीले उनले गरेका प्रगतिलाई केही आलोचनात्मक ब्याख्या गर्ने क्रममा उनले गरेको भनेका धेरै कामहरुमा केही झुट र केही चलाखीपूर्ण तवरले जनतालाई झुक्काउने खेल रहेको भेटेका छौं । एक सय दिन पूरा भएको अवधिमा ‘क्लिन द सिटी’ अभियानअन्तर्गत एक हजार ९५ मेट्रिक टन फोहर संकलन, ग्रिन द सिटी अभियानअन्तर्गत एक हजार ८०३ बिरुवा रोपण, ८८ वर्ष उमेर पुगेका कामपाका ज्येष्ठ नागरिकलाई रु १२ हजार महानगर भत्ता वितरण र फोहरबाट बिजुली निकाल्ने काम सम्पन्न भइसकेको जनाइएको छ । यस्तै यस्ता केही कामहरुलाई हामीले आलोचनात्मक व्याख्या गरेका छौं । 

विद्यासुन्दरले चौविसै घण्टा ‘जीवन्त शहर’को रुपमा काठमाडौं महानगरपालिकालाई विकास गर्ने योजनाको निर्माण गर्ने भनेका थिए । यसको प्रगतिमा उनले २०७४ साल जेठ १७ गतेको नगरकार्यपालिकाबाट निर्णय भएको जनाएका छन् । तर, उनले भनेको बोर्ड बैठकको ११ बुँदा मध्ये ११ औं बुँदामा ‘काठमाडौं महानगरलाई चौविसै घण्टा खुला जीवन्त शहरको रुपमा विकास गर्न आवश्यक पूर्वाधारहरुको विकास एवं निर्माण कार्यहरु थालनी गर्ने ।’ निर्णय गरिएको थियो । निर्णय मात्रै होईन कि उनले आफ्नो प्रतिवद्धतामा भनेका थिए ‘जीवन्त शहरको योजना निर्माण गर्ने’ । 

आफ्नो प्रतिवद्धता पूरा भएको भन्ने क्रममा विद्यासुन्दरले यस्तै यस्ता विषय समेटेका छन् जुसले थाहा नपाएका आफ्ना मतदाताहरुलाई झुक्काउन सकियोस् भन्ने उनको आशय रहेको बुझिन्छ । जबकी कुनैपनि शहरलाई जीवन्त शहर बनाउनको लागि ५ वटा आधारभूत आवश्यकताहरु पर्दछ । पहिलो आवश्यकता उज्यालो शहर, दोस्रो व्यापारीहरुको लागि सुरक्षित शहर, तेस्रो ग्राहकहरुको लागि सुरक्षा, चौथोमा रातीमा हाट लाग्ने निश्चित शहर र महानगरपालिकाको नै निश्चित बजार र शहरभरी नै चौविसै घण्टा चल्ने सार्वजनिक सवारी । सार्वजनिक सवारी भित्र हामीले ट्याक्सीलाई पनि मान्न सक्दछौं । ‘ट्याक्सीको सुविधा त अहिले पनि त छ नि’ भन्ने पनि प्रश्न उठ्न सक्छ । तर २४ घण्टे जीवन्त शहरमा ट्याक्सीले अतिरिक्त शुल्क लिन पाउँदैनन् । 

विद्या सुन्दरले भनेको बुँदा नं ३८ को ‘काठमाडौं महानगर झिलिक्क घर घर टिलिक्क’ शीर्षकमा राखेको लक्ष्य यो उनको नयाँ लक्ष्य होईन र अहिले उनको समयमा भएको काम भएपनि त्यो उनको योजनाले तयार भएको काम होईन । यद्यपि यो काम अझै पनि सम्पन्न भईसकेको छैन । यो उज्यालो नेपाल अभियान तत्कालीन समयमा गणेश राई कार्यकारी अधिकृत हुँदा २०६८ साल तिरै सुरु भएको काम हो । त्यतिबेला प्रधानमन्त्री थिए झलनाथ खनाल । उनले त्यतिबेला १ सय ६१ बुँदे काठमाडौं घोषणापत्र सार्वजनिक गरेर काठमाडौं शहर व्यवस्थित बनाउने कार्ययोजना ल्याउने क्रममा ‘उज्यालो काठमाडौं’ योजना ल्याएका थिए । यही योजना अनुरुप लक्ष्मण अर्याल कार्यकारी हुँदा उनले दरबारमार्गमा सोलार बत्ति बालेर देखाए । त्यसपछि कमल थापा संघीय मामला तथा स्थानीय विकास मन्त्री भएको बेलामा स्थानीय समेतको सहभागीतामा काठमाडौंमा सोलार बत्ति वितरणको काम सुरु गरेका हुन् । यो काम अहिले विद्यासुन्दर आएपछि सुरु नभएकोले यो पनि उनले आफ्नो प्रतिवद्धता पूरा गरेको भन्न सक्ने अवस्था छैन । 

त्यस्तै, उनले राजश्व अध्ययन बोर्ड गठन गर्ने भनेर प्रतिवद्धता व्यक्त गरेका थिए । यसमा उनले निजी क्षेत्रको समेत सहकार्यमा राजश्व परामर्श समिति गठन गर्ने तयारी भईरहेको उल्लेख गरेका छन् । तर, उनले भनेको राजश्व परामर्श समिति गठनको लागि अहिले तयारी गर्ने बेला होईन । यो त बजेट निर्माण गर्ने बेलामा तयार पार्नुपर्ने हो । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले तयार पारिदिएको स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शनले बजेट बनाउनुपूर्व प्रत्येक स्थानीय तहले आगामी आर्थिक वर्षको लागि वार्षिक बजेट तथा कार्यक्रम कानूनमा मिति तोकिएकोमा सोही मितिमा र अन्य अवस्थामा आर्थिक वर्ष सुरु हुनु अगावै तर्जुमा गरी सभाबाट स्वीकृत गर्नुपर्नेछ बजेट कार्यक्रम तर्जुमाका लागि देहायका समितिहरु रहनेछन् भनेर भनिदिएको छ । 

दिग्दर्शनले तोकेको पहिलो समिति नै राजश्व परामर्श समिति भनेको छ । उपप्रमुखको संयोजकत्वमा हुने र यसले नै राजश्व संकलको लक्ष्य लिने भएकोले उपप्रमुखलाई विश्वास नगरेर यो वर्ष राजश्व परामर्श समिति गठन गरिएन । विद्यासुन्दरले निजी क्षेत्रको सहभागितामा परामर्श समिति गठन गर्ने भनेर केही नयाँ पन दिन खोजिएको देखाउन खोजेका छन् त्यो पनि यही दिग्दर्शनले नै तोकेको कुरा हो । नगर क्षेत्रका उद्योग वाणिज्य संघ, चेम्बर लगायतको सदस्यता रहने व्यवस्था दिग्दर्शनमा गरिएको छ । 

बरु विद्यासुन्दरले बजेट बनाउँदा बजेट अनुमान तथा बजेट सीमा निर्धारण समिति, बजेट तर्जुमा समिति लगायत समितिको गठन गर्नुपर्नेमा बजेट निर्माण समिति बाहेक अरु केहीपनि समिति नै गठन गरेनन् ।  

त्यस्तै, विद्यासुन्दरले बोलेको अर्को झुट हो ४२ नं बुँदामा उल्लेख गरिएको ‘भूकम्पले नष्ट गरेको र असुरक्षित घरहरुको पुनर्निर्माणका लागि राज्यले व्यवस्था गरेको अनुदान र सहुलियत ऋण प्राप्त गर्नको लागि सहजीकरण गर्ने भनिएको छ । यो पनि कर्मचारीतन्त्रले सञ्चालन गर्दा पनि ३२ वडाकार्यालयहरुले सूचना नदिई पठाउने गरेका थिएनन् र कर्मचारीहरुले दिने सूचनामा जनप्रतिनिधि आएपछि र आउनुपूर्वमा केही फरक देखिँदैन । तर उनले सहजीकरण भईरहेको र ‘फोकल पर्सन’ तोकिएको बताएका छन् । 

२६ नं बुँदाको सडक बाटोमा तयार थुपारिएको निर्माण सामग्री हटाउने भनेका थिए । उनले त्यसको कार्य प्रगतिमा ‘क्लिन दि सिटी अभियान चलिरहेको बताएका छन् । तर, सडकमा निर्माण सामग्री राख्न नपाउने व्यवस्था पहिले नै थियो र हटाउने सवालमा महानगरपालिकाका प्रहरीहरुले निर्माण सामग्री नरहेको ठाउँको फोटो खिचेर समेत सबै उठाईसकेको जस्ता झुटा विवरण दिने भएकोले यो पनि विद्यासुन्दरको प्रगतिमा मात्रै समेटिएको मान्न सकिन्छ । यसमा उनको कुनै गल्ती नरहेपनि नगरप्रहरीलाई परिचालन गर्न नसक्नु उनको कमजोरी हो । 

त्यस्तै, दोस्रो बुँदामा समेटिएको सोह्रखुट्टे पुनस्र्थापनाको काम पनि यस अघिदेखि नै सुरु भईसकेको काम हो । सोह्रखुट्टेमा रहेको एउटा पार्टीलाई लेखनाथको शालिकनिर सार्ने भनेर पहिलेदेखि नै कुरो सुरु भएको हो । तर काम भने अहिले पनि केही नभएको महानगरपालिका स्रोतले जानकारी दिएको छ । 

त्यस्तै, काठमाडौं महानगरपालिका योजना आयोग र काठमाडौं महानगरपालिका लगानी बोर्डको स्थापना गर्ने काम बोर्डको पहिलो बैठकमा गर्नुपर्ने काम अहिले ३ महिनासम्म पनि कुनै काम अघि बढेको छैन । तरपनि यसको नियमावली तर्जुमा गर्ने तयारी भईरहेको भनिनु यो जनता झुक्काउने खेल मात्रै हो । उनले आफ्नो एक सय एक बुँदामा लेखेका धेरै कामहरू पूर्व कार्यकारी अधिकृत गणेश राईको समयमा तयार पारिएको काठमाडौं घोषणापत्रमा उल्लेख भएका विषयहरुलाई नै हु–बहु उल्लेख गरेको भेटिएको छ । जुन धेरै यस अघि नै कार्यान्वयनको प्रक्रियामा अघि बढिसकेका छन् । यिनीहरुमा काठमाडौं टावरदेखि उज्यालो काठमाडौं अभियान समेत गर्दछ । 

यो भन्दा पनि सबैभन्दा हावादारी कुरा त यो छ कि महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउनको लागि सिसि क्यामेरा जडान गर्ने भनिएको छ । सिसि क्यामेराले आफ्नो प्रशासनलाई व्यवस्थापनमा ध्यान दिएर खुलेहाम भ्रष्टाचार गर्ने महानगरपालिकाका केही कर्मचारीहरुलाई नियमन नगरी सिसि क्यामेरा जडान गर्ने भन्नु हावादारी कुराबाहेक अरु केही नभएको जानकारहरु बताउँछन् । 

यसरी विद्यासुन्दरको १०१ काममा ५० भन्दा बढी कामहरु कुनै दोहोरिएको, कुनै पहिलेदेखि नै सुरु भएका कामलाई आफूले गरेको प्रगतिमा राखिएको जस्ता कामहरु गरेर भ्रम फैलाउने काम गरिएको भेटिन्छ । उनले केही गरेका कामहरु पनि बुँदामा समेटेका छन् । उनले बाटो विस्तार पीडित समुदायसँग वार्ता गरी जनभावना अनुरुप समस्या समाधान गर्ने गर्ने काममा राम्रै पहल गरिरहेका छन् । बृद्धबृद्धाहरुलाई महानगरभत्ता दिने, पेन्डिङमा रहेका मुद्दाहरु टुङ्गाउने लगायतका केही कामहरु राम्रै काम पनि गरिरहेका छन् । तर, पहिलेदेखिको नै योजना सोचेर फ्रि वाईफाईका कुरा जस्ता कामहरु अरुको अनुसरणमात्रै गर्न खोजेको देखिन्छ । फ्रि वाईफाईको व्यवस्थाको कुरा गर्दा कार्यकारी अधिकृत हुँदा रूद्रसिंह तामाङले सुरु गरेकोमा पछि प्रभावकारी नदेखेपछि ईश्वरराज पौडेलले बालाजु बाईसधाराको फ्रि वाईफाईको व्यवस्था खारेज नै गरिदिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ