arrow

समाजसेवीको आवरणमा लुकेका अस्ट्रेलियन यौनदुराचारी पक्राउ

logo
प्रकाशित २०७४ भदौ २४ शनिबार
australian-citizen.jpg

काठमाडौं। अस्ट्रेलियन नागरिक केन्डलर मार्कुसलाई धादिङ गोगनपानीका बासिन्दाले हरेकपटक गाउँ आउँदा सम्मान गर्थे । गोगनपानीमा उनको समाजसेवीको पहिचान थियो। नेपाल आएलगत्तै उनी सो गाउँमा पुग्ने गर्थे। तर, मार्कुसको उद्देश्य विशुद्ध समाजसेवा थिएन, सो गाउँका गरिब बालकहरूसँग अप्राकृतिक यौन गतिविधिमा रमाएर आनन्द लिने थियो। बिहीबार पक्राउ परेपछि मात्र मार्कुसको वास्तविकता उदांगो भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलको ठहिँटीस्थित होटेलबाट उनलाई पक्राउ गरी एक बालकलाई उद्धार गरेको छ।

पेसाले इलेक्ट्रिसियन बताउने उनी पटक–पटक नेपाल आउने गरेको सिआइबीकी प्रवक्ता एसपी मीरा चौधरीले बताइन् । हालसम्म उनले दुई बालकमाथि यौनदुराचार गरेको पुष्टि भएको छ । ‘धेरै बालक उसबाट पीडित भएको हाम्रो अनुमान छ,’ एसपी चौधरी भन्छिन्, ‘उसलाई सहयोग गर्ने अन्य मान्छे पनि हुन सक्छ ।’ उनको थप पृष्ठभूमि थाहा पाउन प्रहरीले इन्टरपोललाई पत्राचार गरेको छ । सन् २०१४ देखियता उनी चारपटक नेपाल आइसकेका छन् । मार्कुस पछिल्लोपटक २० अगस्टमा नेपाल आएका थिए ।

अन्य देशको तुलनामा नेपालको कानुन कमजोर
कमजोर सजायका कारण नेपाल विश्वमै बाल यौनदुराचारीको ‘हब’ बन्दै गएको छ । गत वर्ष २५ भदौमा अमेरिकी नागरिक केनेथ जोसेफ कुम्बस र नेपाली एजेन्ट बुद्ध पुतवारलाई बाल यौनदुराचारको अभियोगमा सिआइबीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा संगठित रूपमै दुवैले नेपालमा बाल यौनदुराचारको धन्दा गर्ने गरेको खुलेको थियो ।

नेपालमा प्रहरीले बाल यौनदुराचार मुद्दामा जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाउँछ । जसमा १३ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । विदेशमा जन्मकैदसम्मको सजाय हुने व्यवस्था छ । नेपालमा गरिब परिवारका बच्चालाई सहयोगको प्रलोभनमा सजिलै प्रभावमा पार्न सकिने ठानेर यौनदुराचारीहरू पर्यटकको आवरणमा आउने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

हाल जेलमा रहेका ४८ वर्षीय अमेरिकी नागरिक कुम्बस यसअघि पनि बाल यौनदुराचार मुद्दामा अमेरिकामा पक्राउ परी फरार भएका व्यक्ति हुन् । पेसाले उनी मोबाइल एप डिजाइनर हुन् । २१ वर्षीय नेपाली युवक पुतवार भने विदेशीलाई बालक उपलब्ध गराउने एजेन्ट हुन् । धेरै विदेशीले नेपाल आउँदा उनलाई नै फोन गरेर बालक मगाउने गरेको खुलेको थियो । पक्राउ परेका कुम्बसले पाँचजना बालकलाई ठमेलको एक होटेलमा बोलाएर यौन दुव्र्यवहार गरेको खुलेको थियो । पालैपालो बालकहरूलाई बोलाएर उनले यौन दुराचार गर्दै आएका थिए । त्यसबापत उनले बालक र एजेन्टलाई पैसा दिँदै आएका थिए ।

विश्वका धेरै देशमा बाल यौनदुराचार मुद्दामा कडा सजाय भए पनि नेपालमा कमजोर सजाय भएको यस्तो प्रवृत्तिका मान्छेहरू पर्यटकका रूपमा नेपाल आउने गरेका छन् । नेपालमा पक्राउ परे पनि केही वर्षमै छुट्ने भएकाले विश्वका बालदुराचारीका लागि नेपाल ‘हब’ बन्दै गएको छ । बाल यौनदुराचार एक प्रकारको मानसिक रोग हो । यस्ता रोग भएका मानिस कलिला बालकस“ग यौनक्रीडामा रमाउने गर्दछन् ।

पर्यटकको आवरणमा यौनदुराचारी 
नेपालमा पटक–पटक बाल यौनदुराचारी पक्राउ पर्दै आएका छन् । गत १५ असारमा प्रहरीले जर्मन नागरिक अल्बर्ट फ्रेड क्लिनिचेलाई पक्राउ गरेको थियो । उनको कोठाबाट एक बालकको उद्धार गरिएको थियो ।

गत जेठमा पनि एक साउदी अरेबियन बाल यौनदुराचारकै आरोपमा पक्राउ परेका थिए । ६३ वर्षीय साहिद मोहम्मदलाई महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीले पक्राउ गरेको थियो । एक सडक बालकलाई खाना खुवाउने भन्दै उनले ठमेलको नियल होटेलमा लगेर ‘ओरल सेक्स’लगायत गतिविधि गराएका थिए । पछि साथी नामक संस्थाले सो घटना थाहा पाएपछि प्रहरीमा उजुरी गरी उनलाई पक्राउ गरेको थियो ।

 दुई वर्षअघि विश्वकै कुख्यात बाल यौनदुराचारी फेनविक म्याकन्तोस ललितपुरमा पक्राउ परेका थिए । सेन्ट जेभियर्स वेलफेयर सेन्टरका एक बालकलाई होटेलमा लगेर उनले यौनशोषण गरेका थिए । धनाढ्य व्यवसायी म्याकन्तोस क्यानडाका कुख्यात बालयौन दुराचारी हुन्, जो भारतमा समेत बाल यौनदुराचारकै आरोपमा पक्राउ परेका थिए । क्यानडामा मोस्ट वान्टेड रहेका उनलाई भारतमा पक्राउ गरी क्यानडामा बुझाइएको थियो। तीन वर्षअघि क्यानडामा छुटेपछि उनी नेपालमा बस्दै आएका थिए । सो घटनामा उनलाई सात वर्ष मात्र कैद सजाय भएको छ । ललितपुर जिल्ला अदालतले उनलाई पीडित बालकलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ । हाल उनी जेलमा छन् ।

केही महिनाअघि फ्रान्समा पक्राउ परेका जेरार्ड फिलिपसमेत बाल यौनदुराचारकै लागि पटक–पटक नेपाल आउने गरेको खुलेको छ । तीन महिनाअघि फ्रान्सको प्रहरी उनको गतिविधिबारे अनुसन्धान गर्न नेपाल आएको थियो । अनुसन्धानका क्रममा उनले १४ जना बालकमाथि यौन दुव्र्यवहार गरेको खुलेको छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ