arrow

'२१ वर्षदेखि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण किन भएन ?'

logo
प्रकाशित २०७४ भदौ २४ शनिबार
mahara-china-visit.jpg

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङले गत असोजमा नेपाल भ्रमण गर्ने तयारी गरे, अन्तिम समयमा रद्द भयो। अघिल्ला राष्ट्रपति हु जिन्ताओ दुवै कार्यकालमा नेपाल आएनन्। चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राजनीतिक भेटघाटमा यसबारे जिज्ञासा राखिरहेका छन्, ‘२१ वर्षदेखि चिनियाँ उच्च नेतृत्वबाट नेपालको भ्रमण किन भइरहेको छैन ?’

राष्ट्रपति सीको पहिलो कार्यकाल सकिन लाग्दैछ । तर पनि नेपाल भ्रमण हुन नसकेकोबारे महराले त्यहाँको नेतृत्वसमक्ष गुनासो गरेका छन् । र, भ्रमणका लागि आग्रहसमेत । प्रधानमन्त्री ली खछ्याङ, स्टेट काउन्सिलर याङ जेइछी, विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका मन्त्री सोङ ताओसँग उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

महराले चीन नेपालको निकट र सदाबहार मित्र हुँदा पनि उच्च राजनीतिज्ञको भ्रमण नभएको विषयलाई उठाएका थिए । चिनियाँ पक्षले नेपालले भ्रमणका लागि गम्भीर तयारी नगरेको उत्तर दिएको छ । ‘भ्रमण हुँदा कुनै नयाँ सहमति र लगानीको विषय उठ्न आवश्यक हुन्छ । यसमा गृहकार्य भएर उपयुक्त समयमा भ्रमण हुने जानकारी चिनियाँ नेताहरूले दिएका छन्,’ एक वरिष्ठ अधिकारीले टेलिफोनमा भने ।

महराले राष्ट्रपति स्तरबाट दुईपक्षीय राजकीय भ्रमण नभएको विषय पनि उठाएका थिए । नेपालबाट चीनतर्फ विशुद्ध दुईपक्षीय (कुनै कार्यक्रमविहीन) भ्रमण हुन नसकेको धेरै भएको छ । नेपाल संघीय गणतन्त्रमा गएपछि बनेका पहिलो राष्ट्रपति रामवरण यादवले बेइजिङको राजकीय भ्रमण नै नगरी आफ्नो कार्यकाल सके । उनी सांघाई एक्स्पोको उद्घाटन सत्रमा सहभागी (२०६७ कात्तिक) र बोआओ फोरमको उद्घाटन सत्रमा (२०७१ चैत) सहभागी भए । तर बेइजिङमा उनलाई रेड कार्पेट ओछ्याइएन । पहिलो संविधानसभाको निर्वाचनपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल पनि ओलम्पिकको समापनमा भाग लिन चीन पुगेका थिए । त्यसपछि बनेका सरकारमध्ये माधवकुमार नेपालले मात्र दुईपक्षीय औपचारिक भ्रमण गरेका थिए । 

चीनबाट पनि सन १९९६ पछि नेपालमा राष्ट्रपतिको स्तरबाट भ्रमण भएको छैन । दोस्रो वा तेस्रो तहका नेताहरूबाट भने निकै धेरै भ्रमण भइरहेका छन् । तत्कालीन प्रधानमन्त्री वेन जिआबाओ कार्यकाल सकिनु केही महिनाअघि नेपाल भ्रमणमा आएका थिए ।

नेपालबाहेक अन्य प्रधानमन्त्रीको चीन भ्रमण प्राय: कार्यक्रम मिलाएर मात्र भएको छ । सुशील कोइराला कुनमिङ मात्र पुगे । हाइनानको बोआओ फोरम जाने क्रममा बेइजिङ पुगेर केपी ओलीले पारवहन तथा यातायातलगायत महत्त्वपूर्ण दुईपक्षीय सम्झौता गरे । गत चैतमा दाहाल पनि बोआओको समारोहको माध्यमबाट बेइजिङ पुगेका थिए । झलनाथ खनाल र बाबुराम भट्टराईले प्रधानमन्त्रीका रूपमा चीनको भ्रमण नै गरेनन् । 

‘उपप्रधानमन्त्री महरासँगको भेटवार्तामा उहाँहरूबीच दुई देशका जनताबीचको सम्पर्क र सम्बन्धलाई विस्तार गर्नेबारे छलफल भएको छ । चीन नेपालको विकासमा सघाउन तयार छ,’ भेटपछि बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अघिल्ला भेटमा पनि दुईपक्षीय सम्बन्ध विस्तार, सञ्जाल सम्पर्क, रेलमार्गलगायत विषयमा छलफल भएको थियो ।’

औपचारिक भेटवार्तापछि उपप्रधानमन्त्री महराले बेइजिङ विश्वविद्यालयको वैदेशिक मामिला प्रतिष्ठानले गरेको ‘नेपाल–चीन सम्बन्धका लागि हिमालयपार विकास’ विषयक कार्यक्रमलाई सम्बोधन गरेका छन् । उनले उक्त अन्तक्र्रियामा नेपाल र चीन सम्बन्धबारे धारणा राख्नुका साथै नेपालको राजनीतिक अवस्थाबारे बताएका थिए । ‘नेपाल र चीनबीचको सम्बन्ध सभ्यता प्रारम्भ भएदेखि नै सुमधुर छ र यसलाई विकास प्रक्रियामा अघि बढाउन आवश्यक छ,’ उनले भने, ‘सम्बन्धको मुख्य माध्यम नै सञ्जाल (कनेक्टिभिटी) हो । यसमा चीनले पनि जोड दिनुपर्छ, हामी पनि उत्तिकै सक्रिय छौं ।’ उनले हिमालय पार विकासका लागि सञ्जाल आवश्यक रहेको भन्दै रेलको महत्त्वमा जोड दिएका छन् । सडक र रेललाई नेपालसँग जोड्न सके चीन–नेपाल–भारत त्रिपक्षीय व्यापारमा सहकार्य हुन सक्ने अवधारणा उनले व्यक्त गरेका छन् । चीनले पनि नेपाललाई दक्षिण एसियाको प्रवेश मार्गका रूपमा लिएको छ । तर सहज यातायातको पहुँच नहुँदा सम्पर्कमा बाधा छ । 

चीन सरकारले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) को अवधारणा नेपालको अर्थतन्त्रलाई उकास्न तथा पुनर्जीवन दिन सहयोगी हुने महराले उल्लेख गरेका छन् । नेपाल बीआरआईका साथै सांघाई कोअपरेसन, एसियन इन्फास्टकचर बैंकमा सक्रियतापूर्वक अघि बढेको छ । नेपाल अध्ययनबारे विभिन्न थिंक ट्यांक रहेकामा पनि महराले खुसी व्यक्त गरेका थिए । 

महराले नेपाली दूतावासमा भ्रमण उपलब्धिबारे समीक्षा बैठक गरे । त्यहाँ उनले केही भेटघाट पनि गरे । समीक्षा बैठकमा उनले नेपालमा चीनको रेल अब ढिलो नहुनेमा आफू ढुक्क भएको बताए । ‘रेलको विषयमा चिनियाँ पक्ष निकै सकारात्मक र गम्भीर छ । अब रेल नेपाल पुग्छ, त्यो टाढा छैन,’ निकै प्रसन्न मुद्रामा उनले भनेको एक अधिकारीले सुनाए, ‘नेपालसँग जोड्ने माध्यम नै रेल हो । अन्य सडक सञ्जालहरू पनि विस्तारै व्यवस्थित गर्दै जाने हो । जलस्रोतमा उनीहरूको पनि उत्तिकै चासो छ ।’ 

दुवैतर्फका राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको भ्रमण गराउने विषयमा पनि राम्रो कुराकानी भएको उनले जानकारी दिए । उनी बेइजिङबाट तीव्र गतिको रेल (जी ६५३) मा हुवेई प्रान्तको सिजिएझुवाङ प्रस्थान गर्नेछन् । त्यहाँको संग्रालय अवलोकन सकेर उनी गोन्जाओ पुग्ने र ६ महिनाअघि स्थापना भएको महावाणिज्य दूतावास उद्घाटन गर्नेछन् । महरा आइतबार नेपाल फर्कने छन् ।  (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ