arrow

टनकपुर–महेन्द्रनगर सडक निर्माणले गति लियो

logo
प्रकाशित २०७४ भदौ २४ शनिबार
sadak-photo.jpg.jpeg

कञ्चनपुर । टनकपुर– महेन्द्रनगर लिङ्क सडक निर्माणले गति लिएको छ । सडक निर्माणका लागि यो आर्थिक वर्षमा १५ करोड बजेट विनियोजन भएको छ ।  सडकमा ग्राभेलिङ्ग गर्ने, माटो भरान गर्ने, कल्भर्ट निर्माण गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइएको छ ।

सडकको तीन किलोमिटर क्षेत्रमा ग्राभेल गर्ने, कल्भर्ट, पाइप कल्भर्ट, वक्स स्ल्याब निर्माण गर्ने माटोभरान र ग्बालिन जाली भर्नेलगायतका स्तरोन्नतिका कार्य अगाडि बढाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इञ्जिनियर खगेन्द्रबहादुर शाहीले बताएका छन् ।

“दुई वर्षदेखि सडक निर्माणका लागि निरन्तर रुपमा बजेट आउन थालेपछि निर्माणकार्य समेत अगाडि बढेको छ” उनले भनेका छन् । विगतमा थोरै बजेट विनियोजन हँुदा आठ वर्षको अवधिमा सडक निर्माणको २० प्रतिशत कार्य मात्रै सम्पन्न हुनसकेको उनको भनाई छ ।

गएको वर्ष १५ करोड बजेट विनियोजन भएकोमा आठ करोड ४८ लाखमा सडक निर्माणका लागि ठेक्का भएको थियो । आर्थिक वर्ष २०७२–०७३ मा ७८ लाख सडक निर्माणका लागि विनियोजन भएको थियो । डिभिजन सडक कार्यालय महेन्द्रनगरका इञ्जिनियर शाहीले अब आउने आर्थिक वर्षमा सडक कालेपत्रे गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइने बताए ।

आर्थिक वर्ष २०६७–०६८मा शिलान्यास गरिएको सडकको ब्रम्ह्देवदेखि महेन्द्रनगरको भासिसम्म ट्रयाक खन्ने र ग्राभेलिङ गर्ने कार्य गरिएको थियो । ट्रयाक खोल्न र ग्राभेलिङ्गका लागि मात्रै दुई करोड ५० लाख रकम खर्च गरिएको थियो ।

बजेट अभावले सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्य हुनसकेको थिएन । टनकपुरदेखि ब्रम्हदेवसम्मको तीन किलोमिटर सडक भारत सरकारले निर्माण गर्ने भए पनि हालसम्म कार्य अगाडि बढाएको छैन ।

सडकको सर्भे डिजायन स्टिमेट सबै भारत सरकारले गरेको सडक काठमाडौँं नयाँदिल्ली सोझै बससेवा सञ्चालनका लागि निर्माण गर्ने सहमति भएको थियो । सडक निर्माणका लागि छवर्ष अघिनै ३४२ परिवारलाई मुआब्जा वितरणको कार्य नेपाल सरकारले पूरा गरिसकेको छ ।

महेन्द्रनगरको भाँसिदेखि टनकपुर ब्यारेजसम्म गरी सडकको लम्बाई १३ किलोमिटर रहेको छ । सडकको चौडाइ सात मिटर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ