arrow

विवेकशील साझा पार्टी, दोलखाले दियो क्षमावती माध्यमिक विद्यालयलाई फर्निचर

logo
प्रकाशित २०७४ भदौ २७ मंगलबार
chemawati-student.jpg

दोलखा । विवेकशील साझा पार्टी दोलखाले श्री क्षमावती माध्यमिक विद्यालय, सुस्पा क्षमावती, भीमेश्वर नगरपालिका – १ का दुई कक्षाकोठालाई नमुना कक्षाकोठा बनाउन फर्निचर तथा पुस्तकहरु मंगलबार हस्तान्तरण गरेको छ ।

विद्यालय प्राङ्गणमा भएको संक्षिप्त हस्तान्तरण समारोहमा दलका जिल्ला निर्वाचन परिचालन समितिका संयोजक विजय बाबु शिवाकोटीले उक्त सामग्रीहरु विद्यालयका प्रधानाध्यापक मकुन्दराज शिवाकोटीलाई हस्तान्तरण गरेका थिए । हस्तान्तरित सामग्रीहरुमा विद्यार्थीहरुको लागि ३२ जोर टेबल  कुर्सी, कक्षा शिक्षकको लागि दुई जोर टेबल कुर्सी,  दुई सेतोपाटी,  दुइटा कक्षाकोठा पुस्तकालयका लागि दराज तथा १ सय १० थानभन्दा बढी पुस्तकहरु थिए ।

समारोहमा संक्षिप्त मन्तव्य दिँदै प्रधानाध्यापक शिवाकोटीले भने,  “हामीलाई उपलब्ध फर्निचरहरुले यी दुई कक्षाकोठालाई भौतिक रुपमा नमुना बनाउन सघाएको छ । यसले कक्षाकोठमा हुने शिक्षण सिकाइमा सुधार गर्न हामीलाई पक्कै पनि मद्दत गर्नेछ । आगामी दिनमा फर्निचरहरु बनाउँदा हामीलाई प्राप्त फर्निचरहरुको अनुसरण गर्नेछौं । साथै यस फर्निचर उपलब्ध गराउने विवेकशील साझा पार्टी दोलखालाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौं । ”

सोही समारोहमा बोल्दै विवेकशील साझा पार्टीका जिल्ला निर्वाचन परिचालन समिति संयोजक विजय बाबु शिवाकोटीले विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, “सरकारले भर्खरै मात्र नमूना विद्यालय घोषणा गरेको यस विद्यालयलाई सघाउन पाउँदा हाम्रो पार्टी खुसी व्यक्त गर्दछ । नमूनाको रुपमा उपलब्ध गराइएका यी फर्निचरहरुलाई अन्य कक्षाकोठामा पनि विस्तार गर्ने प्रधानाध्यापकको प्रतिबद्धताले हामीलाई खुसी लागेको छ र यसलाई अन्य विद्यालयले पनि अनुसरण गर्नुहुनेछ भन्ने हामीले आशा लिएका छौं ।”

यस परियोजनामा भएको खर्च भएको रकम विवेकशील साझा पार्टीको दैवी प्रकोप राहत कोषबाट उपलब्ध गराइएको हो । भूकम्प प्रभावित विद्यालयलाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत विवेकशील साझा पार्टीको दोलखा इकाइले यस काममा अग्रसरता लिएको हो । पार्टी र विद्यालयबीच २०७४ भाद्र ४ मा एक सम्झौतापत्रमा हस्ताक्षर भई तत्कालै काम सुरु भएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ