arrow

दल बदल्ने नेतासँग होसियार रहन केसीको आग्रह

logo
प्रकाशित २०७४ भदौ २८ बुधबार
NC_Leader-KC.jpg

वीरगन्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले निर्वाचन पिच्छै नै पार्टी परिवर्तन गर्ने र सशस्त्र द्वन्द्वकालमा व्यपारीबाट रकम उठाउन लगाई कमिसन खाने उम्मेदवारसंग होसियार रहन वीरगञ्ज महानगरपालिकाबासीलाई आग्रह गरेका छन् ।

उनले जनताको अधिकारका नलडेका र पदका लागि निर्वाचन पिच्छे पार्टी परिवर्तन गर्दै आएका व्यक्तिले महानगरमा स्तरोन्नति भएको वीरगञ्जको पूर्वाधार विकास र महानगरवासीका आवश्यकतालाई पूरा गर्न नसक्ने उनको कथन थियो ।
          
नेपाली कांग्रेस वीरगञ्ज महानगर समितिले मंगलबार  वडा नम्बर ११ को मुरली चोकमा आयोजना गरेको सन्ध्याकालिन चुनावी सभालाई सम्बोधन गर्दै नेता केसीले जनताकालागि जेल नेल भोग्दै नेपाली  कांग्रेस र नेपाली जनताप्रति  समर्पित भई २० औ वर्ष बिताएको मेयर पदका उम्मेदवार अजयकुमार द्विवेदीलाई विजयी बनाउन मतदातालाई अपिल गरे।


केसीले अवसरवादीले आफ्नो स्वार्थ पूर्तीकालागि विभिन्न खाले भ्रमको खेती गरेको र प्रलोभनको जालाबुनी मतदाताको भोट खोस्ने दाउमा रहेकाले त्यस्ता बुहरुपियासंग सावधान हुन मतदातासंग आग्रह गरे।

नेता के.सी.ले नेपाली कांग्रेसले महानगरपालिकाका मेयर तथा उपमेयर सहित ३२ वटै वडामा जनताको सेवामा लामो समय विताएका इमान्दार, कर्तव्यनिष्ट, गतिशील र विकासप्रेमी नेता कार्यकर्तालार्य उम्मेद्वार बनाएकोले नगरबासीको अकाँक्षालाइृ उनीहरुले सहजै पूरा गर्ने विश्वास व्यक्त गरे ।

“देशको पहिलो पार्टी कांग्रेस हो र पहिलो नै रहन्छ” नेता केसीले भने,“मुसा मोटाएर हात्ति हुँदै न हात्ती दुब्लाएर मुसा हुनै सक्दैन ।”  

उनले कांग्रेस विखण्डनको राजनीतिमा विश्वास नगर्ने  र हिमाल, पहाड, तराईलाई मिलाई सबैको अधिकारकालागि समान ढङ्गले काम गर्ने भएकाले जनताको अपार मायाले कांग्रेस देशको एक नम्बर पार्टी भएको प्रष्ट पारे।
 
प्रदेश नं  २ मा हुने स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस नै पहिलो पार्टी हुने दावी गर्दै नेता केसीले मधेसीको अधिकारकालागि संर्घष गर्ने र अधिकार दिलाउन सक्ने पार्टी कांग्रेस नै भएकाले यस पार्टीलाई मधेसी जनताको अपार सर्मथन रहेको दावी गरे।

केसीले प्रादेशिक पार्टीको हैसियतमा पुगेका दलहरुले नभई नेपाली कांग्रेसले नै मेधेशका जनतालाई अधिकार सम्पन्न बताउने पनि दावी गरे। उनले संसदमा दुई तिहाई पाउने बितिकै कांग्रेसले संविधान संशोधन गरि मधेसी जनतालाई अधिकार सम्पन्न बनाउने विश्वास पनि व्यक्त गरे।नेता के.सी.ले मंसिरमा हुने निर्वाचनमा मधेसका नागरिकले नेपाली कांग्रेसलाई नै मतदान गर्ने विश्वास व्यक्त गरे।
          
चुनावी सभामा नेपाली कांग्रेस वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का बुथ सभापति गोपाल रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद जगदिस नरसिंह केसी, मेयर पादका उम्मेदवार अजय कुमार द्विवेदी, उपमेयर पदका उम्मेदवार शान्ति कार्की, वडा नम्बर ११का उम्मेदवार महेश्वरलाल महतो, पार्टीकी महाधिवेशन प्रतिनिधि रुपा श्रेष्ठ, कोपिला चौरसिया, सुशील भट्ट, रोशन लामिछाने लगायतका वक्ताले कांग्रेसको चुनाव चिन्ह रुख चिन्हमा छाप लगाई नेपाली कांग्रेसलाई विजयी बनाउन अपिल गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ