arrow

चुनाव गराउन कांग्रेस नै चाहिन्छ : डा. महत

logo
प्रकाशित २०७४ भदौ २८ बुधबार
prakash-sharan-mahata.gif

हरिवन (सिराहा)। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले मुलुकका सबैजसो ऐतिहासिक परिवर्तनहरुमा नेतृत्व प्रदान गरी अहम भूमिका निर्वाह गर्दै आएको नेपाली काँग्रेसका कारण मुलुकमा गएको २० बर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन सम्पन्न भएको बताए। 

बुधबार बिहान सर्लाहीको नवलपुरमा आयोजित चुनावी सभालाई सम्बोधनगर्दै उने भने– यस बीचमा धेरै पार्टीका सरकार बने, एमालेले पनि दुई पटकसम्म सरकार चलायो, सकेको भए उनीहरु पनि गर्थे, तर निर्वाचन गर्न भने काँग्रेस नै चाहियो।

उनले यतिका लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन त्यो पनि यति सौहार्द र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनसक्नुले काँग्रेसको शान्ति, प्रजातन्त्र र विधिको शासनप्रतिको प्रतिबद्धता स्पष्ट हुने बताए।

प्रजातन्त्रको स्थायित्व र संविधानको कार्यान्वयनका लागि नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकारले नै आगामी मंसिरमा केन्द्र र प्रदेशको निर्वाचनको तयारी थालिसकेको उनले बताए।  

अहिले प्रदेश नम्बर २ मा हुन गइरहेको निर्वाचनका लागि देशव्यापी रुपमा माहौल बनेको मात्र नभई आमनागरिकको यो रुपको खुसी र चासो देखिनुमा पनि काँग्रेसको नेतृत्वको सरकारको कारणले भएको उनको टिप्पणी थियो।

दुई नम्बर प्रदेशको निर्वाचान तेस्रो चरणमा गर्नेगरी मिति तोक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन गर्न नचाहेको वा नसकेको भनी दुश्प्रचार गर्नेहरुलाई यतिखेर यस क्षेत्रमा देशब्यापी माहोल बनेको र यहाँका नागरिकमा ब्यापक मात्रामा खुसीयाली छाएको हेर्न उनले आग्रह गरे। 

नेता डा.महतले भने– यो निर्वाचनको अभियानमा दुई नम्बर प्रदेशका पनि सबै नागरिक समेटियुन र सबैको सहमतिमा शान्तिपूर्ण निर्वाचन होस भनेर नै यहाँ तेस्रो चरणमा निर्वाचन तोकिएको हो र यो निर्वाचन पनि काँग्रेसको नेतृत्वको सरकार नभएको भए सम्भव नै थिएन। 

उनले मधेशको विकास र यहाँको बाढी लगायतका समस्याको समाधानका लागि नेपाली काँग्रेसलाई नै मतदान गर्न पनि आग्रह गरे। आफू परराष्ट्रमन्त्री भएको समयमा तराईको बाढी तथा अन्य समस्याहरु भारतसँग पटक पटक उठाएको र हालैको प्रधानमन्त्री देउवाको भारत भ्रमणमा पनि बिहारमै पुगेर बाढीको समाधानका लागि बिहारका मुख्यमन्त्रीसँग वार्ता गरेको पनि उनले बताए।

नेपाली काँग्रेसले क्षणिक रुपमा फाइदा लिनका लागि हुदै नहुने काम पनि गर्दिन्छौँ भनेर जनताका अघि सपना नबाँड्ने र जे गर्न सकिन्छ त्यो मात्र भन्ने गर्छ भन्दै नेता डा.महतले यो देशको विकास र समृद्धिका लागि काँग्रेस नै बलियो हुनुपर्छ भने। 

नेता डा.महतसहित नेपाली काँग्रेसका नेताहरु यतिखेर निर्वाचन प्रचार प्रसार अभियनका लागि तराईमा हुन्छ। उनीहरुले विभिन्न जिल्लामा भेला र सभा गरिरहेकाछन्। प्रधानमन्त्री देउवा पनि हिजो तराई पुगेका थिए। उनहरुले आज र भोलि पनि विभिन्न जिल्लाका कार्यक्रम, भेला र चुनावी सभालाई सम्बोधन गर्ने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ