arrow

निर्वाचन आयोगको सहमतिमा ११२ उपसचिवसहित १२६० कर्मचारीको सरूवा

logo
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
samanya-prasashan-mantralaya.jpeg

काठमाडौं । सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार १२ सय ६० कर्मचारी सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयअन्तर्गतका उपसचिवदेखि खरदारम्मका कर्मचारीलाई स्थानीय विकास मन्त्रालयअन्तर्गत सरुवा गरेको हो । 

निर्वाचन आचारसंहिता सुरु भइसके पनि स्थानीय तहका लागि कर्मचारी सरुवा गर्न निर्वाचन आयोगले सहमति दिएपछि मन्त्रालयले कर्मचारीको सरुवा गरेको हो । यसअघि सरकारले बुधबार ८० कर्मचारी सरुवा गरेको थियो ।

निजामती सेवा नियमावलीअनुसार भदौ महिनाभरि कर्मचारीलाई अन्तरमन्त्रालयमा सरुवा गर्ने समय भए पनि निर्वाचन आचारसंहिताका कारण सरुवा रोकिएको थियो । निर्वाचन आयोगले आचारसंहिताका कारण अन्य मन्त्रालयको कर्मचारी सरुवा भने रोक लगाएको छ ।

११२ उपसचिव सरुवा
सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयअन्तर्गतका एक सय १२ उपसचिव स्थानीय तहमा काजमा खटाएको छ । यस्तै, सरुवा गरिएमध्ये ७५ जना शाखा अधिकृत छन् । मन्त्रालयले ६ सय ८१ जना सुब्बालाई पनि स्थानीय तहमा खटाएको छ ।

यसैगरी, ३ सय ९२ जना खरदारलाई पनि स्थानीय तहमा काजमा खटाएको छ । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएका खरदारमध्ये अधिकांश खरदार सिंहदरबारस्थित विभिन्न मन्त्रालयअन्तर्गतका छन् ।

सामान्य प्रशासन मन्त्रालयले सिहदरबारमा रहेका २ सय २ जना खरदारलाई स्थानीय विकास मन्त्रालयमा खटाउने नीति लिएको छ । सोही नीतिअनुसार अहिले अधिकांश खरदारलाई स्थानीय तहमा खटाएको हो ।

स्थानीय तहमा अझै कर्मचारी खटाइने
सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि अझै कर्मचारी खटाउने जनाएको छ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले राजधानी केन्द्रित कार्यालयबाट स्थानीय तहमा कर्मचारी खटाउने प्रक्रियालाई जारी राख्ने बताए ।

उनले भने, ‘निर्वाचन आयोगसँग सहमति लिएर स्थानीय तहमा कर्मचारी खटाउने काम निरन्तर भइरहन्छ । मेरो जिम्मेवारी नै स्थानीय तहमा कर्मचारी खटाउने र संघका कर्मचारीलाई समायोजनमा पठाउने हो ।’ उनले स्थानीय तहमा अझै २५ सय कर्मचारी तत्काल पठाउनुपर्ने बताए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ