arrow

एन्फाले थ्रीस्टारलाई एक करोड ५० लाख क्षतिपूर्ति दिने

logo
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
ANFA-NEW-bhaWn.jpeg

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाले थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरुप रु एक करोड ५० लाख दिने भएको छ । 

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको एन्फाको केन्द्रीय समितिको बैठकले करिब १० महिनापछि थ्रीस्टारलाई उक्त रकम औपचारिक रुपमा दिने निर्णय गरेको हो । 

थ्रीस्टारले गत वर्ष एन्फाको लापर्बाहीका कारण एएफसी कपको दोस्रो चरणको खेल खेल्न पाएको थिएन । उक्त खेल खेल्न नपाएपछि थ्रीस्टारले रु छ करोड क्षतिपूर्तिसहित दोषीमाथि कारबाहीको माग गरेको थियो । 

उक्त निर्णय आगामी असोज २३ गते हुने एन्फाको विशेष साधारणसभाबाट अनुमोदनका लागि प्रस्तुत गरेपछि मात्र कार्यान्वयन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ ।

बैठकले ए डिभिजन क्लबका १२ टोली र २०७२ सालमा राष्ट्रिय लिग खेलेका मोफसलका चार क्लबलाई समेटेर १६ टोलीलाई ए डिभिजन लिग खेलाउने निर्णय गरेको छ । 

बिहीबारको बैठकले साफ १५ वर्षमुनिको (यु–१५) च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको नेपाली टोलीका प्रत्येक खेलाडी, प्रशिक्षक र फिजियोथेरापिस्टलाई जनही रु २५ हजार पुरस्कारस्वरुप दिने निर्णय गरेको छ । 

घरेलु मैदानमा नै भएको उक्त प्रतियोगितामा नेपाल फाइनल खेलमा भारतसँग पराजित हुँदै दोस्रो बनेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ