arrow

दुई महिनाभित्र परिवार नियोजन संघको पुनर्संरचना गरिने

फेमिलि प्लानिङको रकम ६ प्रतिशत पुर्‍याउनुपर्छ : राज्यमन्त्री राणा

logo
प्रकाशित २०७४ असोज १ आइतबार
pariwar_niyojan.jpg

काठमाडौं। नेपाल परिवार नियोजन संघ ५९ वर्षमा प्रवेश गरेको छ । यौन तथा प्रजनन स्वास्थ्य अधिकार र परिवार नियोजनको अस्थायी साधन प्रयोगको उद्देश्यसहित ५८ वर्षअघि विस २०१६ साल असोज २ गते नेपालको पहिलो महिला मन्त्री द्ववारिकादेवी ठकुरानीको अगुवाईमा यसको स्थापना भएको हो । ५९औं स्थापना दिवसका अवसर आइतबार संघको केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरियो । जहाँ उत्कृष्ट स्वयंसेवक र कर्मचारीलाई सम्मानसहित पुरस्कृत गरियो । 

कार्यक्रमका प्रमुख अतिथि एवं अर्थराज्यमन्त्री उदयसम्शेर राणाले परिवार नियोजन संघको कार्यक्रमले अहिले मानिसहरु फ्याम्ली प्लानिङ गर्न थालेको भन्दै परिवर्तन ल्याएकोमा संघलाई धन्यवाद दिए । उनले फेमिलि प्लानिङमा एक प्रतिशत मात्र बजेट दिनु उपयुक्त नभएको बताउँदै ५–६ प्रतिशत पुर्याउनुपर्छ भने । अझैपनि २५ प्रतिशत महिलाले फ्याम्ली प्लानिङ नगरेको तथ्यांक आइरहेको र यो ज्यादै दयनीय अवस्था रहेको भन्दै चेतना र शिक्षा बढाउनुपर्नेमा जोड दिए । मन्त्री राणाले अहिलेनै यति बजेट दिन्छु भन्न नसक्ने तर यौन तथा प्रजनन स्वास्थ्यका लागि बजेट कसरी बढाउने भन्नेबारे सोच्ने प्रतिबद्धता जनाए । 

कार्यक्रमलाई सम्बोधन गर्दै परिवार नियोजन संघकी केन्द्रीय अध्यक्ष अमु सिजापतिले दुई महिनाभित्र संघको पुनर्संरचना गरेर नेतृत्वबाट बाहिरिने घोषणा गरिन् । ‘यौन तथा प्रजनन स्वास्थ्य अधिकारको नारासहित उपत्यका, काभ्रे र जनकपुर शाखाबाट सुरु भएको हाम्रो संस्था आज देशभर प्रभावकारी सेवा दिइरहेको छ,’ उनले भनिन्– ‘भूकम्पपछि हामीले विपद् सेक्टरमा काम थालेका छौं । भर्खरै बाढी पहिरोबाट ग्रसित तराईमा घुम्ती शिविर सञ्चालन गरिरहेका छौं । झण्डै ६ हजारले सेवा लिएका छन् ।’

उनले आगामी दुई महिनाभित्रै संघलाई पुनर्संरचनामा अगाडि बढाउने घोषणा गर्दै अगाडि भनिन्– ‘अब हामी नयाँ तरिकाबाट अघि बढ्छौं, शाखा बढाउने होइन् क्लिनिकमा फोकस हुन्छौं । हामीले सेवा दिने हो भने क्लिनिक बढाउनुपर्छ । त्यसका लागि दक्ष जनशक्ति चाँहियो । जस्तै, कास्कीको शाखाले बागलुङको क्लिनिकलाई हेर्न सक्छ । अर्काेतर्फ एउटा शाखा खोल्न १५ देखि २० लाखसम्म न्युनतम खर्च चाँहिन्छ । मैले नेतृत्व लिएको संघले शाखा खोल्ने सार्मथ्य अहिले राख्न सक्दैन् । त्यसैगरी क्लिनिक खोल्न दुईतीन लाख चाँहिन्छ । एउटा शाखा खोल्ने पैसाले ५ वटा क्लिनिक बन्छ । त्यसकारण हामी छिट्टै नयाँ संरचनामा जान्छौं ।’

उनले यौन र तथा प्रजनन स्वास्थ्यका लागि सरकारले स्वास्थ्य क्षेत्रमा छुट्याएको कुल बजेटको ७ प्रतिशत दिने भनेर प्रतिबद्धता जनाएपनि १ प्रतिशत मात्रै दिएकोमा गुनासो गरिन् । ‘यस वर्ष ३३ अर्ब बजेट स्वास्थ्य मन्त्रालयले पाएको थियो । तर, परिवार नियोजन संघले ३३ करोड मात्रै पायो । यति सानो बजेटमा हामीले थुप्रै काम गर्न सफल भएका छौं । सरकारले यो सेक्टरमा ७ प्रतिशत खर्च गर्ने भनेर प्रतिबद्धता जनाएको थियो । तर, कार्यान्वयन भइरहेको छैन्, सरकारलाई घच्घच्याउनु जरुरी छ ।’

कार्यक्रममा पूर्वअध्यक्ष डा भद्रराज पाण्डेले पहिला परिवार नियोजनालाई अश्लील शब्दका लिने समाज, हाम्रो छोरी बुहारीलाई के के सिकायो भन्दै लखेट्ने समाजमा आज यति धेरै परिवर्तन भएकोमा हर्ष व्यक्त गरे । कल्पना अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा कार्यकारी निर्देशक महिमा पौडेलले संस्थाको कार्ययोजना र गतिविधि प्रस्तुत गरेकी थिइन् । नाफारहित गैरसरकारी संस्था परिवार नियोजन संघका हाल २८ शाखा र ३७ जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ