arrow

 बिरामी किन्ने अस्पतालले शव पनि दिएन

logo
प्रकाशित २०७४ असोज २ सोमबार
neuro.jpg

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ पीडारवनीकी ६० वर्षीय गेरीदेवी माझीको शव दुई दिनदेखि विराटनगरको न्युरो अस्पतालमा छ । दुर्घटनामा परेर गम्भीर घाइते भएपछि माझीलाई भदौ २८ गते उपचारका लागि न्युरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो ।

विराटनगरबाट विराटचौकतर्फ जाँदै गरेको को १७ प १२५९ नम्बरको मोटरसाइकलले पैदलयात्री माझीलाई भदौ २८ गते राति ठक्कर दिएर घाइते बनाएको थियो । उनलाई तत्काल उपचारका क्रममा नोवेल मेडिकल कलेजमा लगिएको थियो ।

नोवेलमा उपचार गराइरहेकी माझीलाई दलाल र एम्बुलेन्स चालकले न्यूरो अस्पतालमा प्रभावकारी उपचार हुने भन्दै माझीका आफन्तलाई फकाएर घाइतेलाई उपचारका लागि न्युरो लैजान बाध्य पारेका थिए ।

पेटको शल्यक्रिया गरिएकी माझीको उपचारका क्रममा शनिबार दिउँसो २ बजे मृत्यु भएको थियो । तर आफन्तलाई अस्पताल प्रशासनले अहिलेसम्म शव दिएको छैन । अस्पतालले आफन्तलाई नदिइकन शव आफ्नै नियन्त्रणमा राखेको छ ।

उपचार गरे बापत न्युरोलाई तीन लाख ५५ हजार रुपैयाँ तिर्न बाँकी रहेको गेरीदेवीका छोरा सुमन माझीले बताए । ‘चिकित्सकले दुर्घटनाका कारण पेटमा चोट लागेको छ भनेर शल्यक्रिया गरिदिए,’ उनले भने, ‘शल्यक्रिया गरेर थप उपचार सुरु गरेपछि आमाको मृत्यु भयो ।’

चिकित्सकले लापरवाहीपूर्ण तरिकाले शल्यक्रिया गरिदिएका कारण आमाको मृत्यु भएको सुमनले बताए । ‘उपचारमा लापरवाही गरिएका कारण बिरामीको मृत्यु भएको छ र पैसा नतिरेको भनेर शव आफन्तको जिम्मा नदिनुले समस्या भइरहेको छ,’ सुमनले भने, ‘हामी परिवारका सदस्यले शव लगेर अन्त्येष्टी पनि गर्न पाएनौं ।’ 

अस्पतालले पैसा नतिरिकन शव दिन नसकिने भन्दै आफन्तलाई फर्काइदिएको छ । दुर्घटना गराउने मोटरसाइकल चालक बेलबारी २ का ५० वर्षीय योगेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थापाले शनिबार मात्रै माझीको उपचारका लागि भनेर ५० हजार रुपैयाँ ऋण गरेर पठाएका थिए । 

थापा र माझीको आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालमा उपचार गराए बापतको रकम तिर्न सक्ने अवस्था नभएको बताइएको छ । ‘मसंग पैसा नै छैन । उपचार पनि ऋण खोजेर गरिरहेको थिएँ,’ प्रहरी नियन्त्रणमा रहेका थापाले भने, ‘अलिकति भएको जमिन विक्री गरेर अस्पतालको पैसा तिरौंला । अहिले शव निकालेर आफन्तलाई अन्त्येष्टी गर्ने वातावरण बनाइदिए हुन्थ्यो ।’

गेरीदेवीका छोरा सुमनले पनि आमाको उपचार बापत अस्पताललाई तिर्न बाँकी रहेको रकम तिर्न सक्ने अवस्था नभएको बताए । ‘हाम्रो परिवारको आर्थिक अवस्था एक दमै नाजुक छ,’ उनले भने, ‘यतिधेरै रकम कहाँबाट ल्याएर तिर्नु ।’ 

उनले दुर्घटना गराउनेले पछि जग्गा विक्री गरेर अस्पतालको पैसा तिर्ने बताए पनि तत्काल शव निकालेर अन्त्येष्टी गर्न नपाइएको गुनासो गरे । सुमनले न्युरोको उपचार खर्च अत्यन्तै महँगो र विपन्नले उपचार गराउन सक्ने अवस्थाको नभएको पनि बताए ।

 ‘एकातिर आमाको मृत्यु भएको पीडा त छँदैछ,’ उनले भने, ‘शव नपाएर अन्त्येष्टी रोकिंदा कस्तो भएको होला ?’ पैसा नतिरेमा शव नै गायव पारिदिने सम्मको धम्की अस्पतालले दिएको गुनासो आफन्तको छ ।

पीडारवनीका स्थानीय बासिन्दाले मृतकका आफन्तलाई अस्पतालले उपचार बापत लिएको चर्को मूल्य जुटाउन गाह्रो परिरहेको बताए । उनीहरुले शव नपाउँदा मृतककोे दाहसंस्कार गर्न परिवारले नपाएको बताए ।

 ‘दुर्घटना गराउनेले पनि पैसा तिर्न सकिरहेका छैनन्,’ एक स्थानीयले भने, ‘मृतकका आफन्तले पनि उपचार खर्च बेहोर्न सकेनन् ।’ ती स्थानीयले उपचार गर्न जाने दुर्घटनाका घाइतेसंग न्युरो अस्पतालले अत्यधिक रकम लिएर बिरामी र बिरामीका आफन्तमाथि ठगी गरिरहेको बताए ।

दुर्घटनाका घाइते भन्ने वित्तिकै अस्पतालले उपचार बापतको विल धेरै देखाउने गरेको उनले बताए । उनका अनुसार अस्पतालले सामाजिक र मानविय समवेदनालाई समेत ख्याल नगर्ने गरेको पाइयो ।

उपचार खर्च तिर्न नसकेर शव अस्पतालले नदिएपछि शव निकाल्नका लागि बेलबारी र पीडावनीका बासिन्दा रकम संकलनमा जुटेका छन् । थापा र माझीका छिमेकी तथा आफन्तहरु रकम जुटाएर अस्पतालको पैसा तिरेर शव निकाल्ने तयारीमा लागेका हुन् । 

नीजि अस्पतालले बिरामी किन्ने गरेका छन् । उनीहरुले एम्बुलेन्स चालक र दलालहरु मार्फत बिरामी किन्ने गरेका छन् । स्रोतका अनुसार एक जना बिरामीलाई पुरयाए बापत न्युरो अस्पतालले बिरामी हेरेर एक जना एम्बुलेन्स चालकलाई एक देखि दुई हजार रुपैयाँ सम्म रकम दिने गरेको छ । 

गोल्डेनले पनि एक जना बिरामी ल्याइदिए वापत चालकलाई दुई हजार रुपैयासम्म दिने गरेको पाइएको छ भने बिराट नर्सिङ होमले एक हजार पाँच सय रुपैया चालकलाई दिने गर्छ ।

दलाललाई पनि त्यही हिसावले रकम दिने गरेका कारण दुर्घटनाका घाइतेहरुलाई न्युरो लैजान एम्बुलेन्स चालक र दलाल सक्रिय हुने गरेको एक चिकित्सकले बताए । ‘उपचारका लागि सरकारी अस्पताल कोसी अञ्चल अस्पताल जान खोजेका एक बिरामीलाई एम्बुलेन्स चालकले सिधै न्युरो पुरयाए,’ उनले भने,‘बिरामी लगे बापत एम्बुलेन्स चालक र बिरामी ओसार्ने दलालले त्यहाँबाट रकम लिने गरेका रहेछन् ।’

विशेष गरेर अस्पताल र एम्बुलेन्स चालकको मिलेमतोमा यस्तो धन्दा चलाइएको उनको भनाइ छ ।

अस्पतालका प्रशासकिय अधिकृत सुरेश आचार्यले आफन्तले उपचार बापतको खर्च तिरेर लैजाने भनेकाले उनीहरुकै सहमतिमा शव राखिदिएको दावी गरे ।

‘बिरामीको अवस्था एकदमै गम्भीर थियो,’ उनले भने, ‘ठूलो आन्द्रा र सानो आन्द्रामा चोट लागेको थियो ।’ परिवारका सदस्यकै सहमतिमा शल्यक्रिया गरेर उपचार गरिए पनि बिरामीलाई बचाउन नसकिएको आचार्यको भनाइ छ । आफन्त पैसा खोज्नका लागि भनेर गएका कारण उनीहरु नआउँदा सम्मलाई शव अस्पतालमै राखिएको उनले बताए । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ