arrow

नयाँ नाकाबाट चीन जोड्ने सम्झौता 

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
nepal-china-flag.jpeg

काठमाडौं । चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौता हुँदै छ । दुई देशका उच्चस्तरीय वार्ताटोलीबीच बुधबार काठमाडौंमा हुने छलफलपछि सम्झौता हुने भएको हो । त्यसका लागि १३ सदस्यीय चिनियाँ टोली काठमाडौं आइसकेको छ भने १७ सदस्यीय नेपाली टोलीको अन्तिम टुंगो लागेको छ ।

चिनियाँ टोलीमा त्यहाँको यातायात मन्त्रालय, पराराष्ट्र, गृह, अर्थ, वाणिज्य मन्त्रालयलगायत तिब्बत क्षेत्रका प्रतिनिधि रहेका छन् । त्यस्तै, नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कार्यबाहक सचिव धु्रवराज जोशीले गर्नेछन् । त्यस्तै, गृह, अर्थ, वाणिज्य, पराराष्ट्र, कानुन मन्त्रालयका सहसचिव टोलीमा छन् ।

दुई देशबीच हुने उच्चस्तरीय वार्तामा नेपालले यसअघि नै चीनसँग प्रस्ताव गरेका थप १२ सडक र नाका खुला गर्नेबारे सम्झौता गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिनियर डिभिजनल इन्जिनियर गोविन्दप्रसाद खरेलले जानकारी दिए । तर, चिनियाँ पक्षले भने नाका संख्या घटाउने तयारीमा रहेको बुझिएको छ । ‘सुरक्षाको दृष्टिकोणबाट पनि चीन धेरै नाका नखोल्ने पक्षमा छ,’ मन्त्रालयका एक अधिकारीले भने । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले छलफलमा राखिने सबै नाकामा दुई देशबीच सम्झौता हुने विश्वास व्यक्त गरे ।

नेपाल–चीन सडक यातायात सम्झौताअन्तर्गत अहिलेसम्म चीन हुँदै तीन नाका खुला गर्नेबारेको प्रोटोकलमा सम्झौता भएको छ । तिनीहरूमा खासा–यारी, खासा–रसुवागढी र खासा–ओलाङचुङगोला हुन् । भूकम्पपछि तातोपानी–खासा नाका पूर्ण रूपमा बन्द भएपछि अहिले चीन भएर नेपालको एक नाकाबाट अर्को नाकामा आवतजावत पूर्णतः बन्द छ ।

दुई देशबीच हुने वार्तामा अवरुद्ध भएको खासा नाका सुचारु गराउनेबारे पनि चिनियाँ टोलीसँग विषय उठाउने नेपाली पक्षको तयारी छ । नेपाल र चीनबीच २७ वर्षअघि (सन् १९९४ मा) सडक यातायात सम्झौता भएको थियो ।

नेपाल–चीन सडक प्रोटोकल सम्झौताका ५ फाइदा
१, नेपालका हिमाली र उच्च पहाडी क्षेत्रमा खाद्यान्न, शिक्षा, स्वास्थ्य, औषधि, पूर्वाधार सामग्री चीनबाट आयात गर्न सस्तो र सहज तथा सही व्यवस्थापन गर्न सकिनेछ ।

२, केही नाकाबाहेक नेपालले सडक निर्माण गरेर अहिलेसम्म चीन ९तिब्बत० सम्म पु¥याउन सकेको छैन । यस्तो अवस्थामा पहाडी र हिमाली क्षेत्रमा सुरुङमार्ग निर्माण गर्नका लागि मेसिन ल्याउन चिनियाँ सडक उपयोगी हुनेछ । सुरुङ खन्ने अत्याधुनिक मेसिन चीनमा तयारी गरिने भएकाले पनि यसबाट नेपालले लाभ लिन सक्नेछ ।

३, नेपालको पहाडी र हिमाली क्षेत्रमा निर्माण हुने जलविद्युत्, सिँचाइ र सडकलगायत आयोजनामा आवश्यक डिजेल, पेट्रोललगायत पेट्रोलियम पदार्थ आयातमा सहज हुनेछ । ठूला आयोजना निर्माण खर्च घट्नेछ ।

४, चीनको नेपालसँगको व्यापारमा वृद्धि हुनेछ ।

५, नेपालको समग्र व्यापार घाटा घटाउन थप नाकाले सहयोग पुग्नेछ ।

चिनियाँ राजदूतलाई जानकारी

यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सोमबार चिनियाँ राजदूत यु होङलाई मन्त्रालयमा नै बोलाएर भेट गरेका छन् । उक्त भेटमा नेपालका एक नाकाबाट चीन हुँदै अर्को नाका जोड्ने थप १२ नाकाको आवश्यकता रहेको उनले जानकारी गराएका छन् । यस विषयलाई राजदूतले सकारात्मक रूपमा लिँदै पारित गराउन चीन सकारात्मक रहेको आश्वासन दिएको मन्त्रीका सञ्चार अधिकृत रमेश जोशीले जानकारी दिए ।

चीनसँग प्रोटोकल संशोधन सम्झौतामा प्रस्तावित नाकाहरू 
–रसुवागढी–हिल्सा

–रसुवागढी–कोराला

–खासा–कोराला

–रसुवागढी–डोल्पा

–खासा–डोल्पा

–रसुवागढी–डोल्पा

–रसुवागढी–दार्चुला

–खासा–दार्चुला

–रसुवागढी–बझाङ (ताक्लाकोट)

–खासा–बझाङ (ताक्लाकोट)

–रसुवागढी–ओलाङचुङोला

–रसुवागढी–किमाथांका (संखुवासभा)

नेपाललाई पूर्वाधार प्रयोग गर्न दिन चीन सकारात्मक 
नेपाललाई चीनमा बनेका पूर्वाधार प्रयोग गर्न दिन चिनियाँ उच्च नेतृत्व सकारात्मक रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । विशेषगरी चिनियाँ राजमार्ग प्रयोग गरेर नेपालको हिमाली जिल्लामा पनि सामान ढुवानी गर्न दिनेबारे चीनले उच्च प्राथमिकता दिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले बताए ।

तर, चिनियाँ पक्षले उसको राजमार्ग प्रयोग गर्दा केही सर्त भने पूरा गर्नुपर्ने जानकारी गराएको छ । चिनियाँ पूर्वाधार प्रयोग गर्नेबारे नेपाल र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’समेत भइरहेको मन्त्रालयले जनाएको छ । बुधबार नै यससम्बन्धी पनि दुई पक्षबीच छलफल हुनेछ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ