arrow

यार्चा लाँदै, सुन ल्याउँदै

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
88kg-gold.JPG

काठमाडौं । ८८ केजी सुन तस्करीमा संलग्न भएको आशंकामा पाँच जना सुन व्यवसायी पक्राउ परेका छन् । काठमाडौंको रन्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी पसलका गणेदत्त बडु, नरदेवीस्थित रविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल, बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको सिद्धनाथ सुनचाँदी खार्नीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्गलेलाई सोमबार पक्राउ गरिएको हो । 

रविश्याम ट्रेडर्सका अग्रवाल यसअघि पनि अवैध सुन खरिद आरोपमा पक्राउ परेका थिए । २०७२ पुस २३ मा काठमाडौंबाट साढे ९ केजी अवैध सुनसहित पक्राउ परेका चार जनामा अग्रवाल पनि एक थिए । 

उनी त्यतिबेला ११ लाख रुपैयाँ बोकेर अवैध सुन किन्न पुगेका थिए । कार्यविनायक सुनचाँदी पसलका बडु भने यार्चागुम्बु व्यापारीका रूपमा चिनिन्छन् । दार्चुलाका बडु लामो समयदेखि यार्चालगायत बहुमूल्य जडीबुटी तिब्बत र चिनियाँ बजारमा थोकमा बेच्ने काममा संलग्न छन् । 

स्रोतका अनुसार बडुले नेपालबाट यार्चा पठाउने र त्यसबापतको पैसा भने सुनका रूपमा बुझ्ने गरेको देखिन्छ । पक्राउ परेका अन्य तीन भने बिस्कुट आकारमा आएको सुनलाई गालेर स–साना बनाउने काममा संलग्न हुन् । 

प्रहरीका अनुसार सुनका असली मालिक भनिएका चिनियाँ नागरिकसँग अग्रवाल र बडुको निरन्तर सम्पर्क थियो । यी दुवैले केरुङ नाका हुँदै काठमाडौं भित्रिएको सुन चिनियाँ नागरिकबाट किन्ने र ओटुको सिद्धनाथ सुनचाँदी र पशुपति सुनचाँदीमा लगेर खारेको देखिन्छ । 

यी दुवैले गालेको सुनलाई बजार मूल्यभन्दा कममा अन्य सुनचाँदी पसलेलाई पनि बेचेको देखिन्छ । नियमित रूपमा अवैध बजारको सुन किन्ने अन्य केहीमाथि पनि महानगरीय अपराध महाशाखाले अनुसन्धान अघि बढाएको छ । 

पक्राउ परेका पाँचै जनालाई महाशाखाले काठमाडौं जिल्ला अदालतमा संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ । 

संगठित सुन तस्करीमाथि निरन्तर अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार नेपालमा आउने अवैध सुनबापतको भुक्तानी मूलतस् तीन तरिकाबाट हुने गरेको देखिन्छ । 

हुन्डीमार्फत अवैध रूपमा डलर पठाउने र त्यसको मूल्य अवैध मार्गबाट नेपालमा सुन भित्र्याएर तिर्ने सबैभन्दा प्रचलित तरिका हो । गत वैशाख २७ मा पनि महाशाखाले काठमाडौंबाट रसुवाको केरुङ नाका हुँदै तिब्बत जान आँटेका चिनियाँ नागरिकलाई नागढुंगाबाट करिब ४ करोड विदेशी मुद्रासहित पक्राउ गरेको थियो । 

काठमाडौंका विभिन्न स्थानबाट संकलन गरिएको त्यतिका ठूलो परिणामको विदेशी मुद्रा उनीहरूले किन तिब्बत लैजान खोजे भन्नेमा प्रहरीले अनुसन्धान केन्द्रित गरेको थियो । 

अवैध मार्गबाट विदेशी मुद्रा लैजाने र त्यसबापत सुन नेपाल ल्याउने प्रयासअन्तर्गत उक्त अवैध मुद्रा तिब्बत लैजान आँटिएको प्रहरीको निष्कर्ष थियो । १९ असोज २०६९ मा पनि दुबई पठाउन आँटिएको एक करोड २४ लाख रुपैयाँ मूल्य बराबरको अवैध विदेशी मुद्रा जफत भएको थियो । 

यो प्रकरणमा विमानस्थलका तत्कालीन एसएसपी रविराज श्रेष्ठ नै मुछिएका थिए । अवैध रूपमा विदेश लैजान आँटिएको विदेशी मुद्राका अन्य घटनाजस्तै त्यसपल्ट पनि सुन ल्याउने र त्यसबापत अवैध विदेशी मुद्रा तिर्न खोजेको देखिएको थियो । 

८८ केजी अवैध सुन बरामदको घटनामा प्रहरीले नयाँ तथ्य फेला पारेको छ । त्यो हो, नेपालबाट यार्चागुम्बुलगायत महँगा जडीबुटी तिब्बत पुर्‍याउने र त्यसबापतको रकम अवैध सुनबाट बुझ्ने । यस्तो अवैध ओसारपसारबाट जडीबुटी व्यापारी र सुन तस्कर दुवैलाई मनग्गे फाइदा हुने देखिन्छ । 

८८ केजी सुन तस्करीको घटनामाथि अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, ‘पहिले रक्तचन्दन अवैध रूपमा तातोपानी नाका हुँदै चिनियाँ बजारमा पठाइन्थ्यो र त्यसको रकम सुन ल्याएर पूर्ति गरिन्थ्यो । रक्तचन्दन ओसारपसारमा कडाइ भएपछि तस्करले जडीबुटीलाई सुनसँग सट्ने गरेको देखिन्छ ।’

चिनियाँ नागरिकसँग नजिकको सम्बन्ध राखेका बडुको पक्राउपछि प्रहरीले सुन तस्करीमा जडीबुटी व्यवसायीको संलग्नताको आंशका गरेको छ ।

स्रोतका अनुसार हिमाली भेगबाट संकलन हुने जडीबुटी स्थानीय संकलनकर्ताबाट किन्ने र तिब्बतलगायत चिनियाँ बजारमा पठाउने व्यापारी नै सुन तस्करसँग जोडिएको हुन सक्ने देखिन्छ । (कान्तिपुर दैनिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ