arrow

गौशाला नगरपालिकामा माओवादी विजयी, काँग्रेस तेस्रो स्थानमा

logo
प्रकाशित २०७४ असोज ६ शुक्रबार
mahottari.png

महोत्तरी । जिल्लाको प्रमुख व्यापारिक केन्द्र एवं नगरोन्मुख क्षेत्रका रुपमा परिचित रहेको गौशाला नगरपालिकाका प्रमुख पदहरु नेकपा माओवादी केन्द्रको भागमा परेका छन् । 

शुक्रबार बिहान ४ बजे घोषित स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार गौशाला नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका शिवनाथ महतो र उपप्रमुखमा माओवादी केन्द्रकै आशा लामा विजयी भएका हुन् ।  

शिवनाथले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी रामकुमारीदेवी महतोलाई पराजित गरे भने आशा लामाले संघीय समाजवादी फोरमका उपप्रमुखका उम्मेदवार डा रमेश यादवलाई पराजित गरिन् ।  

प्रमुख पदमा माओवादी केन्द्रका महतोले पाँच हजार ९४४ मत प्राप्त गरी विजयी भएका हुन् भने उहाँकी निकटतम प्रतिद्वन्द्वी रामकुमारीदेवीले पाँच हजार मत प्राप्त गरेकी थिइन् ।  

उपप्रमुखमा लामाले पाँच हजार ९७० मत प्राप्त गरी विजयी भइन् भने उहाँका निकटतम प्रतिद्वन्द्वी रमेशले चार हजार ६४२ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालय, गौशाला महोत्तरीले जनाएको छ । 

त्यस्तै, नेपाली काँग्रेसका प्रमुखका उम्मेदवारले चार हजार ३५५, उपप्रमुखले चार हजार ६४२ र राजपा नेपालले प्रमुखमा दुई हजार ७५३ र उपप्रमुखले तीन हजार ३९५ मत प्राप्त गरेका थिए । 

त्यस्तै, गौशाला नगरपालिकाका छ वडामा नेकपा माओवादी केन्द्र, पाँच वडामा काँग्रेस र एउटामा संघीय समाजवादी फोरम नेपाल प्यानलसहित विजयी भएका छन् । 

बीस वर्षपछि चुनिएका अधिकांश जनप्रतिनिधि भने युवा नै रहेकाले अब गौशाला नगरपालिकामा विकासको लहर छाउने स्थानीयवासीले प्रतिक्रिया दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ