arrow

एमालेभित्र रडाको, माधवको आलोचनापछि केपीको यस्तो जवाफ

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले प्रदेश २ को स्थानीय तह चुनावमा सोचेजस्तो सफलता नपाए पनि मतका हिसाबले सन्तोषजनक अवस्था रहेको उल्लेख गर्दै मंसिरको चुनावमा ७ वटै प्रदेश र केन्द्रमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।

झन्डै एक वर्षपछि बसेको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले अबको निर्वाचनबाट सातवटै प्रदेश र केन्द्रमा पनि एमाले नेतृत्वको सरकार बन्ने ठोकुवा गरे । स्थानीय चुनावको समग्र परिणाममा पार्टी पहिलो भएको उल्लेख गर्दै यही जनमतको आडमा मंसिरको चुनावमा सफलता हासिल गर्ने उनले उल्लेख गरे ।

‘सत्ताको दुरुपयोग, षड्यन्त्रलगायत कारण प्रदेश २ को परिणाम यस्तो आए पनि समग्रमा एमालेको मत राम्रो छ, आउँदा चुनावमा हामी त्यहाँ जित्छौं,’ ओलीले भने, ‘राष्ट्रिय स्वाधीनताको पक्षमा हामीले लिएको अडान ठीक रहेछ भन्ने चुनावले पनि पुष्टि गरेको छ ।’ 

स्थानीय चुनावको समग्र परिणामले पार्टीलाई उत्साहित बनाएको उल्लेख गर्दै ओलीले आम घेराबन्दीको बीचमा आएको परिणाम राम्रो भएको उल्लेख गरे । उनले नवौं महाधिवेशनले पास गरेको नीति र सिद्धान्तकै जगमा पार्टीले काम गरिरहको र त्यहीअनुसारको चुनावी परिणाम हासिल गरेको बताए ।

बैठकलाई अध्यक्ष ओलीले सम्बोधन गरेपछि सचिव प्रदीप ज्ञवालीले अध्यक्षको प्रतिवेदन पढेका थिए । नेता माधव नेपालले भने पार्टी सञ्चालन गर्ने शैलीदेखि माओवादीसँगको गठबन्धन तोडेकासम्म विषयहरू ल्याएर अध्यक्ष ओलीको आलोचना गरे ।

उनले माओवादीसँगको सत्ता गठबन्धन तोड्नु एमालेको गल्ती भएको उल्लेख गरे । ‘माओवादीसँग सत्ता गठबन्धन तोड्नु गलत थियो, हाम्रो कारणले गठबन्धन तोडिएको थियो, यसमा गल्ती महसुस गर्नुपर्छ,’ उनले भने ।

त्यसबेला माओवादीसँग भएका वार्ताका प्रसंगसमेत उठाउँदै नेपालले गठबन्धन कायम रहेको भए स्थानीय चुनावमा प्रदेश २ लगायत अन्य क्षेत्रमा समेत अहिलेको भन्दा धेरै सिट बढी जित्न सकिने अवस्था हुने दाबी गरे । 

सरकारले नीति तथा कार्यक्रम पेस गरेपछि माओवादीलाई नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको दाबी गर्दै नेता नेपालले ‘त्यस्तो सहमति भएकै छैन भन्ने दम्भ’ प्रदर्शन गरेर ओलीले गल्ती गरेको बताए । 

झलनाथ खनाल, वामदेव गौतम र आफूसहितको उपस्थितिमा भएको त्यो सहमति तोडिएको उनले उल्लेख गरे । महाधिवेशनदेखि नै पार्टी राम्ररी चल्न नसकेको भन्दै नेपालले आलोचना गरे । 

झन्डै एक वर्षपछि मात्रै केन्द्रीय समिति बैठक बसेको प्रसंगसमेत उल्लेख गर्दै उनले पार्टी एउटा कोटरी र गुटबाट मात्र सञ्चालन भइरहेको जस्तो देखिएको आरोप लगाए । विधिविधान पालनाभन्दा पनि गुटका आधारमा चल्ने परिपाटी जारी रहेको भन्दै नेता आक्रोश व्यक्त गरे । 

प्रदेश २ लगायत स्थानीय तहका सबै चुनावको टिकट वितरणमा गुट हाबी भएको नेपालको भनाइ थियो । त्यही गुटले जथाभावी गर्दा प्रदेश २ को परिणामसमेत कमजोर भएको नेपालले बताए । 

उनले पटक–पटक भएका गलत निर्णय सच्याउने तत्परता नेतृत्वमा नभएको उल्लेख गर्दै समग्र विषयमा बैठकले समीक्षा गर्नुपर्ने प्रस्ताव राखे । कमीकमजोरीलाई सच्याएर अघि बढदा पार्टीको अवस्था राम्रो हुने, तर यही शैली दोहोरिए समस्या बढ्ने नेपालको भनाइ थियो । 

नेपालबाहेक शुक्रबारको बैठकमा अन्य कोही बोलेनन् । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ