arrow

मापदण्ड विपरीतको भवन भत्काउन आदेश

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
kathmandu-district-office.jpg

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीको न्युरोडस्थित जुद्ध शालिक नजिकै बन्दै गरेको व्यापारिक भवन भत्काउन आदेश दिन नगर विकास कार्यान्वयन योजना समितिलाई अनुरोध गरेको छ । 

व्यापारिक भवन स्वीकृत मापदण्डविपरीत बनिरहेको समाचार प्रकाशमा आएपछि जिल्ला प्रशासन कार्यालयद्वारा गठित समितिले दिएको प्रतिवेदनका आधारमा उक्त अनुरोध गरिएको हो । भवन महर्जन बिजनेस एसोसिएट्स प्रालिले नियो क्लासिक डिजाइनमा निर्माण गरिरहेको छ ।

प्रतिवेदनपछि उक्त भवन प्राचीन स्मारक संरक्षण ऐन २०१३ (संशोधन सहित) को दफा ९ बमोजिम स्वीकृत मापदण्डविपरीत बनेको भवन भत्काउन आदेश दिन नगर विकास योजना कार्यान्वयन समितिलाई अनुरोध गरिएको हो ।

हनुमानढोका दरबार संरक्षित स्मारक क्षेत्रभित्र पर्ने उक्त भवन प्राचीन स्मारक संरक्षण ऐनविपरीत निर्माण भइरहेको प्रतिवेदनमा उल्लेख छ । पुरातत्व विभागअन्तर्गतको विश्व सम्पदा संरक्षण शाखालगायत विभिन्न निकायले निर्माणाधीन भवन मापदण्डविपरीत भएको भन्दै निर्माण रोक्न काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको थियो ।

उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले उक्त भवन निर्माणको अवस्थाबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको थियो ।

काठमाडौँ महानगरपालिकाका इञ्जिनियर हिक्मतसिंह कठायत, काठमाडौँ उपत्यका विकास प्राधिकरणका इञ्जिनियर रवि शर्मा र पुरातìव विभागका इञ्जिनियर शोभा महर्जन सम्मिलित समितिले अध्ययन गरी तयार पारेको प्रतिवेदनमा उक्त भवन मापदण्डविपरीत निर्माण भइरहेको उल्लेख छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर २४ मा पर्ने कित्ता नं ९२४ को ६२७ दशमलव ९८ वर्गमिटरमा बनिरहेको उक्त भवन स्वीकृत नक्साभन्दा फरक रहेको प्रतिवेदनमा उल्लेख छ । 

उक्त भवनको नक्सामा भूमिगत तला (बेसमेन्ट) नभएको भए पनि भवन निर्माण गर्दा नौ फिट सात इञ्चको बेसमेन्ट र चार फिटको लिफ्ट पिट निर्माण गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

उक्त बेसमेन्टका कारण सँगै रहेको मल्लकालीन ढुकुटीको सुरक्षामा समेत चुनौती थपिएको स्थानीय सम्पदाप्रेमीहरूले गुनासो गर्दै आएका छन् ।

त्यस्तै भवनको भुइँ तला, पहिलो तला र दोस्रो तलाको उचाइ ७ फिट ७ इञ्च मात्र हुनुपर्नेमा १० फिट ७ इञ्च रहेको प्रतिवेदनले देखाएको छ । भवन तेस्रो तलासम्म निर्माण गर्दा ३५ फिट हुनुपर्नेमा फुटपाथदेखि दोस्रो तलामाथिको स्ल्याबसम्म नै ३२ फिट ९ इञ्च भएको देखिएको प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै भवन निर्माणका क्रममा सार्वजनिक फुटपाथमा स्काफोलिङ राखेर पैदल यात्रुको आवागमनमा असहज स्थिति पैदा गरेको प्रतिवेदनमा जनाइएको छ । (गोरखापत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ