arrow

नोक्सानीको बाटोमा काँग्रेस : जुन कुराले शेखरको मन भत्भति पोलिरहेको छ

काँग्रेसलाई धक्का लाग्नुको मूल कारण टिकट वितरण

logo
प्रकाशित २०७४ असोज ९ सोमबार
cong-news-aa.jpeg

काठमाडौं । हिन्दु धर्मावलम्बीलाई बडा दशैँको चटारो छ । तर, राजनीतिक दलहरुलाई यतिबेला प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार छान्ने चटारो छ ।

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाका सदस्यहरुको उम्मेदवारको मनोनयनको आधिकारिक पत्रमा हस्ताक्षर गर्ने समय २२ गतेलाई तोकेको छ । यस्तै, असोज २९ भित्र समानुपातिकको बन्दसूची बुझाइसक्नुपर्ने समयसीमा छ ।

सत्ताधारी काँग्रेसले असोज १७ गतेभित्र प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस गर्न भन्दै गाउँ–नगर, क्षेत्र र जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ ।

यद्यपि, काँग्रेसले एउटा निर्वाचन क्षेत्रबाट ३ जनाको नाम पर्ने गरी उम्मेदवारको नाम मात्र गर्न भनेको छ । जसले केन्द्रमा भद्रगोल हुने र समय लाग्ने देखिन्छ । काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भने, ‘समय थोरै छ । काम धेरै छ । यो अवस्थामा जिल्लाबाट सिफारिस गर्दा समानुपातिकमा जाने र प्रत्यक्षमा के मा जाने भन्ने प्रष्ट भनिनु पर्दथ्यो । त्यसो भएको छैन । जसले केन्द्रलाई टुंग्याउन सजिलो हुन्थ्यो ।’

भनेको समयभित्र काँग्रेसले उम्मेदवारी टुंग्याउला त ? जवाफमा उनले भने, ‘सक्नै पर्छ । नभए असोज २९ को मिति थप त हुँदैन होला । १० मंसिरमा पहिलो चरणको चुनाव छ ।’ काम चापाचाप हुन्छ, तर गर्न सकिन्छ । केन्द्रमा छलफल गर्न कम्तिमा पनि ७–८ दिन लाग्ने बताउँदै उनले भने, ‘त्यसमा पनि महिला, दलित, आदीवासी जनताति आदी इत्यादि मिलाउनु पर्ने हुन्छ ।’
 

स्थानीय तह निर्वाचनको परिणाम
१३औँ महाधिवशेनका सबैभन्दा बढी मत ल्याई म्यान अफ द इलेक्सन भएका कोइरालाले स्थानीय तहको निर्वाचनको जतिजालाई सकारात्मक रुपमै लिनु पर्ने बताए ।

उनले भने, ‘भरखरै सम्मपन्न २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा जनताले काँग्रेसलाई नै ठूलो पार्टी बनाए । यद्यपि, सोचे अनुरुप भएन ।’ सोचेअनुरुप हुन नसक्नुको कारण ? जवाफमा उनले भने, ‘कारणहरु धेरै छन् । मूल कारण ६ वटा प्रदेशमा चुनाव हुँदा एउटा प्रणाली अपनाइयो । सातौँ प्रदेशमा भिन्नै प्रणाली अपनाइयो । जस्तो, हामी केन्द्रीय सदस्यहरुलाई नसोधे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व पदाधिकारीहरु, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतलाई त कम्तिमा सोध्नु पर्दथ्यो ।’

टिकट वितरणको कुरा गर्नु भा हो ? उनले भने, ‘हो । २ नम्बरमा हाम्रो अपेक्षा त्यति मात्रै थिएन । टिकट वितरणमा राम्रो गर्न सकिएन । पूर्व पदाधिकारीहरुलाई मात्र सामेल गरेको भए पनि त्यसको म्यासेज अलगै हुन्थ्यो ।’ कति ठाउँमा त केन्द्रले भने अनुसार जिल्ला सभापतिहरुले नदिने भनेर भने भन्ने कुराहरु आइरहेका छन् । कतिपय ठाउँमा खटेकाहरु र प्रभाव भएकाहरुले टिकट पाएनन् ।
 

मधेसको मुद्दा यथावत छ भन्ने सन्देश दियो
डा. कोइरालाले दुई नम्बर प्रदेशको चुनावले मेधसको मुद्दा यथावत छ भन्ने देखाएको बताएका छन् । उनले भने, ‘हामीले मधेसको संवेदनशीलता बुझ्न सकेनौँ । जस कारण राजपा र संघीय समाजवादीको अवस्था केही सुधार भयो ।’ यो परिणामले मधेसको मुद्दा फेरि ज्वलन्त रुपमा उठ्ने पक्का छ ।

अबको मूख्य भूमिका खेल्ने काँग्रेस नै हो, उनले भने, ‘यो बेला काँग्रेस संवेदनशील भएन भने ठूलो घाटा हुन्छ ।’ अब काँग्रेस नै लिड रोलमा हुनु पर्दछ ।
 

अब काँग्रेसले सुधानु पर्ने के ?
उनले बुँदागत रुपमा भनेका छन्, ‘सुरुमा तेरो मेरोको भावना अहिलेदेखि नै त्याग्नु पर्दछ ।’ अर्को मुख्य कुरा टिकट वितरण नै हो । अब ६०–४० को भागबण्डाको आधारमा टिकट विरण हुनु हुँदैन । मेरा ३ वटा तिम्रो एउटा भन्ने भावनाको अन्त्य हुनुपर्दछ, उनले अगाडि भने, ‘अहिले सुनिँदैछ, खर्च गर्न नसक्नेलाई टिकट नदिने, जो पार्टीका लागि मेरि मेटेर लागेको छ । उसको अवस्था कमजोर हुनेवित्तिकै टिकट नदिने भन्नु हुन्छ । केन्द्र के का लागि ? नेतृत्व के का लागि । केन्द्रले ति व्यक्तिहरुलाई सयोग गर्नु पर्छ कि पर्दैन ?’ यो सोच नै काँग्रेस नोक्सानीको बाटो हो ।

अहिले काँग्रेसमा व्यक्तिवादी चरित्र निकै हावी भएको उनले बताएका छन् । मूख्य टिकट वितरणमा प्रभाव भएका र खटेका व्यक्तिबारे संवेदनशील भएर सोच्नु पर्दछ । अर्कोतिर अहिलेसम्म सरकारले गरेका गतिविधि के छन् त्यसको समीक्षा गरेर अब उपरान्त पार्टीलाई घाटा पुग्ने गतिविधि सरकारबाट हुनुहुदैन, डा. कोइरालाले भनेका छन् । कोइरालाले खर्च गर्न नसक्नेलाई टिकट नदिने भन्ने विषयले आफुलाई भत्भति पोलिरहेको सुनाए ।

उनले चुनावी समीक्षा गर्न तत्काल केन्द्रीय समिति बैठक बस्ने सम्भावना नरहेकाले सबैले आत्मसमीक्षा गर्दै जिम्मेवार ढंगले लाग्नु पर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ