arrow

खै कसलाई के भनी दिउँ शुभकामना ?

logo
डा‍. विष्णुप्रसाद पोखरेल,
प्रकाशित २०७४ असोज ९ सोमबार
bishnu_pokhrel1.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कार्यरत करिव १२ सय आंशिक शिक्षकहरु पेशागत सुरक्षा र आफ्नो अधिकारका लागि २०६९ सालदेखि हालसम्म शान्तिपूर्ण आन्दोलनमा छन् । शिक्षकहरु जहिलेपनि शान्तिपूर्ण र बौद्धिक आन्दोलनमा विश्वास गर्ने पेशाका मानिसहरु हुन् र प्राध्यापकहरुले पनि त्यहि गरिरहेका छन् । आफ्नो शान्तिपूर्ण आन्दोलनको क्रममा उनीहरु कहिले प्रधानमन्त्री निवास बालुवाटार पुग्छन् त कहिले सिंहदरबारको ढोका उघार्न पुग्दछन् । सबैको ढोकामा धाइसकेपछि अहिले प्राध्यापकहरु त्रिवि केन्द्रीय कार्यालयमा पुगेका छन् । 

यसै क्रममा उनीहरुले यो वर्षको दशैं पनि आन्दोलनका क्रममा त्रिवि केन्द्रीय कार्यालयमा नै मनाउनु पर्ने भएको छ  । विगत दुई महिनादेखि त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुर अगाडि पेशागत सुरक्षाका लागि लडिरहँदा पनि पर्याप्त रुपमा मन वचन र कर्मले सहयोगी हातहरु बढिरहेको देखिएको छैन । 

अहिले आंशिक प्राध्यापकहरुको आन्दोलनका कारण आन्दोलनरत प्राध्यापक होईन कि अरु प्राध्यापकहरुले पनि खुशी भएर चाडपर्व मनाउन सक्ने अवस्था भने देखिँदैन । आफ्नै वर्ग मध्ये पनि जो वढी परिश्रम गर्छ र सँगै काम गरिरहेको छ उसलाई आन्दोलनको बाटोमा लगाएर उनीहरुको संघर्ष हेरेर अरु प्राध्यापक पनि खुशी हृदयले दशैं मनाउन सक्ने अवस्था देखिँदैन । परिश्रम र मिहिनेत गरेर आफ्नो परिवारलाई चार्डपर्वको समयमा परिवारलाई मीठो मसिनो खुवाउनको लागि पनि नसक्ने अवस्था भएपछि त्यो समस्या समाधानको लागि उनीहरुले अहिलेको चाड खुल्ला आकाश मुनी नै विताउने निर्णय गरेका छन् ।

नेपालका विभिन्न विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरुमा प्रति पिरियड पारिश्रमिक प्राप्त गर्ने गरी नियुक्त गरिएका प्राध्यापकहरु अहिले चाडपर्व नभनी आफ्नो अधिकारको लागि त्रिवि केन्द्रीय कार्यमलय अगाडि आन्दोलनमा उत्रिएका छन् । नेपालका नौ  विश्वविद्यालय र चार स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानका अन्तर्गतका कूल ९८ आंगिक क्याम्पसहरु र नेपालको सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मात्रै ६० आंगिक क्याम्पसहरुका आशिक प्राध्यापकहरु अहिले आन्दोलनमा छन् । 

नेपाल आंशिक प्राध्यापक संघका अनुसार अहिले आन्दोलानमा रहेकाहरु मध्ये सबैभन्दा धेरै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुका प्राध्यापक रहेका छन्। जुन संख्या १२ सय रहेको छ । समयमा विश्वविद्यालयहरुले नयाँ प्राध्यापक नियुक्तिको लागि विज्ञापन नमाग्ने लगायतका अन्य यावत समस्या भोगिरहेका आशिंक प्राध्यापकहरुमाझ यसका अलावा पनि तोकिएको कक्षा समापन गरे वापत न्यून पारिश्रमिक मात्र प्राप्त हुनु, पेशागत सुरक्षाको प्रत्याभूति नहुनु र पेशागत विकासका लागि कुनैपनि सुविधा प्राप्त नहुनु आंशिक प्राध्यापकहरुले भोग्दै आएको समस्याहरु हुन् । यही समस्या भोग्दै आएका आंशिक प्राध्यापकहरुले अहिले त आफ्नो हकको लागि चाडपर्व पनि मनाउन पार्इरहेका छैनन् । 

यस्तो अवस्थामा आफ्नै सहयात्रीहरु आन्दोलनमा लागिरहेको अवस्थामा प्राध्यापकहरुको हकहितको लागि काम गर्ने संस्थाको जिम्मेवार व्यक्तिको हैसियतले कसरी भनौ वडा दशैंको शुभकामना ? राजनीतिक निर्णयहरुको आधारमा यस अघि पनि यस्ता कैंयौं मागहरु पूरा भएका नजीरहरु छन् । त्रिवि र नेपाल सरकारले विगत लामो समयदेखि हामीसँगै प्राध्यापन गर्ने सहयात्रीहरुको मागलाई सम्बोधन गरी महान चार्डहरु मनाउन बाटो खोलिदिनु पर्नेमा मौन बसेको सरकारलाई हेरेर ती प्राध्यापकको मन कुड्याउने गरी कसरी भनौं दशैंको शुभकामना ? तर जे जस्तो भएपनि आंशिक प्राध्यापकहरुको यथाशक्य चाँडो माग पूरा गर्ने आंशिक प्राध्यापकहरुको मागमा नवदूर्गा भवानीको पनि आशीर्वाद मिलोस् वडा दशैंको सबै विश्वविद्यालयमा कार्यरत प्राध्यापक, कर्मचारी, शिक्षक एवं सरकारी कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा हार्दिक मंगलमय शुभकामना । 

डा‍. पोखरेल प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका सचिव हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ