arrow

चिकित्सकको आन्दोलन फिर्ता, प्रधानमन्त्रीले बालुवाटार डाकेर गराईदिए सहमति

logo
प्रकाशित २०७४ असोज १३ शुक्रबार
Become-a-Medical-Doctor.jpg

काठमाडौं । सरकारले माग पूरा गर्ने सहमति जनाएपछि चिकित्सक संघले ८ दिनदेखि गरेको अस्पताल बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

सरकार र नेपाल चिकित्सक संघबीच शुक्रबार भएको वार्तामा संघले उठाएका तीन वटै माग पूरा गर्ने सहमति जुटेको हो ।

वार्तापछि चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले हाम्राकुरासँग भने, ‘प्रधानमन्त्री ज्यूको उपस्थितिमा स्वास्थ्यमन्त्रालयका पदाधिकारीसँग सहमति भएको हो । चिकित्सक संघले राखेका माग पूरा गर्ने सहमति भयो ।’

के–के माग हो तपाईहरुको ? जवाफमा उनले भने, ‘२ गते मन्त्रिपरिषदले गरेको निर्णय फिर्ता, कानुन हातमा लिएर चिकित्सकमाथि हातपात गर्नेलाई विना धरौटी जेलको व्यवस्था र विरामीलाई लगाउँदै आएको ५ प्रतिशत कर फिर्ता गर्ने मागहरु राखेका थियौँ । यो सबै पूरा हुने सहमति भयो । अब हामी काममा फर्किन्छौँ ।’

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाबाट फर्किनेवित्तिकै विहिबार विमानस्थलबाटै चिकित्सकलाई बन्द फिर्ता लिन भनेका थिए ।  देउवाले विहिबारै माग पूरा गर्ने प्रतिवद्धता जनाएका थिए । प्रधानमन्त्री देउवा आफैले शुक्रबार स्वास्थ्य मन्त्रालयका पदाधिकारी र चिकित्सकहरुलाई बालुवाटारमा बोलाएर सहमति गराएका हुन् ।

वार्तामा भएको सहमति पत्रमा सरकारको तर्फबाट स्वास्थ्य सचिव डा. किरण रेग्मी र संघको तर्फबाट अध्यक्ष मुक्तिराम श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

चिकित्सकहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धित ऐन २०६६ र नियमावली २०६९ संशोधन गरेर जेल विदआउट बेलको माग गरेका थिए ।

यो माग पूरा भएसँगै चिकित्सकहरुलाई हातपात तथा कुटपीट गर्नेहरुबाट धरौटी नलिने र सोझै जेल पठाउने कानुन बन्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ