arrow

दशैंको होमवर्क र नयाँ राजनीतिक गठवन्धनको तयारी

logo
अजयबाबु शिवाकोटी,
प्रकाशित २०७४ असोज १७ मंगलबार
oli-dahal-xi-china.png

काठमाडौं। स्थानिय निकायको तेस्रो चरणको चुनावको प्रचार प्रसार सकाएर तराईबाट फर्किदै गर्दा सिमरा विमानस्थलमा भेटिएका प्रचण्ड त्यति उत्साहित थिएनन्। सत्ता साझेदार दल काँग्रेस सभापति र प्रधानमन्त्रीसँग निरास पनि थिए प्रचण्ड। उनले सिमरा विमानस्थलमा भेटिएका केहि काँग्रेस नेता तथा साँसदसँग आफ्ना चुनावी अनुभव पनि साँटी हाले। 

माओवादी अध्यक्ष प्रचण्डले आफ्नो चुनावी अभियानबाट प्राप्त अनुभवलाई संस्लेषण गर्दै संक्षिप्तमा भनेका थिए, ' काँग्रेस सभापति देउवाजी अलि गम्भिर भएको भए परिणाम धेरै राम्रो हुन्थ्यो। तर पनि पहिलाको भन्दा राम्रो हुन्छ।' सत्तारुढ गठवन्धन दलका तर्फबाट काँग्रेस र माओवादीले तेस्रो चरणको चुनावमा कम्तिमा राजमार्ग क्षेत्रमा संयुक्त उमेद्वारी दिउँ भन्दा त्यसलाई काँग्रेस सभापतिले गम्भिरतापूर्वक नलिइ तालमेलको लागि सघन गृहकार्य हुन नसक्दा केहि ठाउँ गुम्ने प्रचण्डले भविष्यवाणी पनि गरेका थिए। काँग्रेसले राखेको सय सीटको लक्ष्यलाई पनि उनले कटाक्ष गरेका थिए। 

सत्तारुढ गठवन्धनको एक दलकै अध्यक्षले प्रधानमन्त्री तथा काँग्रेस सभापतिमाथिको यो टिप्पणी सामान्य थिएन। त्यो प्रचण्डका तर्फबाट एउटा राजनीतिक सन्देश पनि थियो। चुनावी रणनीतिमा काँग्रेस गम्भिर नभएको प्रचण्डको टिप्पणी यताका दुई हप्तामा दशै विदाको समेत सदुपयोग गर्दै भएका राजनीतिक गृहकार्यले अबको राजनीतिक दशा र दिशा वदल्ने संकेत गर्दै गएको छ। दशैको लामो छुट्टीमा विद्यार्थीलाई विद्यालयबाट प्राप्त हुने गृहकार्य जस्तै एमाले र माओवादी नेतृत्वलाई प्राप्त यो गृहकार्यमा उनीहरु सबै गृहकार्यको हल खोज्न तयार भएर लाग्नु नै उनीहरुको पहिलो सफलता थियो। जुन दशैको उत्तरार्दतिर प्रचण्डको निधारमा परेको दशै टीकासँगै खुलेर आउन थालेको थियो। 

विशेषगरि सबै कम्युनिष्ट विचार समुहलाई एक ठाउँमा ल्याउने तयारीका साथ भइरहेको यो गृहकार्यको ठूलो काम भनेको एमाले र माओवादीलाई एक ठाउँमा आउने वातावरण तयार गर्नु थियो । यो वातावरण वन्दै गर्दा एउटै पार्टी अनि एउटै चुनाव चिन्हसम्म बनाएर जाने तयारीमा एमाले र माओवादी नेतृत्व पुग्ने संकेत देखिदैछ। यो समुहमा कम्युनिष्ट स्कुलिङबाट आएका विभिन्न राजनीतिक दलसँग आवद्धहरुलाई पनि ल्याउने तयारी बढ्दै छ। माओवादी नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता वामदेव गौतमहरुले लामो समयदेखि दुईटा कम्युनिष्ट पार्टीलाई एक बनाउन गरिरहेको प्रयासलाई यो पटक वैधता दिन खोजिदैछ। यसो हुँदा देशभित्र लामोसमयसम्म राजनीतिक रुपमा कब्जा गर्न सकिन्छ भन्ने मनोदशाले काम गरेको छ।

कम्युनिष्ट पार्टी मात्र हैन कम्युनिष्ट स्कुलिङबाट हुर्किएका नेताहरुलाई पनि एकै ठाउँमा जोड्ने प्रयास शुरु भएको छ। यसको संकेत एमाले र स्वतन्त्र राजनीतिक समुहका बीचमा असोज १६मा भएको सहमतिले प्रष्टयाइसकेको छ। एमाले महासचिव इश्वर पोखरेल समुहका तर्फबाट हृदयेश त्रिपाठी सहितका ५ नेताले हस्ताक्षर गरेको सहमति पत्रमा समुहका नेताहरु सूर्य चिन्ह लिएर आगामी सबै चुनावमा सहभागि हुने उल्लेख छ। यसको सोझो फाइदा ति नेताले जति पाउँछन ति नेताहरुसँग जोडिएको मत समानुपातिकमा एमालेले आफ्नो पोल्टामा पार्दा उसलाई हुने छ।

छिमेकीहरुको स्वार्थ
प्रदेश र संघको चुनाव मंसिरमा दुई चरणमा हुँदै छ। यस चुनावबाट मौजुदा अवस्थामा कुनै पनि राजनीतिक दल वहुमत जुटाएर एकमना सरकार बनाउने हैसियतमा पुग्ने अवस्था छैन। हामीले अंगिकार गरेको मिश्रीत चुनावी पद्धतीले कुनै एक दललाई बहुमत जुटाएर सरकार बनाउन अत्यन्तै मुस्किल छ । यो अवस्थामा फेरि पनि राजनीतिक अस्थिरता बल्झिरहने कुरा हामीले भन्दा अब हाम्रो छिमेकीले बुझ्न थालेका छन्।

यहाँको अस्थिरता हामीलाई भन्दा पनि हाम्रो छिकेकीको लागि टाउको दुखाई बन्दै छ। यो अवस्थामा उत्तरको चीन र तीनतिरबाट जोडिएको भारत हामीलाई अस्थिर भइरहेको हेर्न चाहने अवस्थामा छैनन्। वा अस्थिरता पनि उनीहरुको अनुकुलतामा होस। यहाँ स्थिर हुँदा आफूलाई फाइदा हुने विश्लेषणमा रहेका उनीहरुले नेपालको स्थिरताको लागि यहाँ राजनीति प्रभाव विस्तार गर्दै स्थिरताको सुनिश्चितता गर्न लालायित झै देखिएको छ। क्षेत्रीय प्रभाव विस्तारमा पनि यो उनीहरुको लागि महत्वपूर्ण हुनै भयो। नेपालको स्थिरताको सन्दर्भमा चीनको चासो यसमा पहिला देखिनै मुखर भएर आएकै हो। त्यसैले पनि उसले मजवुद र भरपर्दो शक्तिसँग सहकार्यको रणनीति अख्तियार गर्दै आएको हो। नेपाल अस्थिर हुँदा तीव्वत हुँदै चीनमा पनि अस्थिरता निम्तिन्छ भन्ने बेइजिङ बुझाई छ । यसकारण पनि चीन नेपालमा स्थिर बलियो संयन्त देख्न चाहन्छ।

यसका लागि उसले यहाँ बलियो राजनीतिक शक्ति बनोस भन्ने चाहना राख्नु अन्यथा पनि लिन सकिन्न। त्यस्तो राजनीतिक शक्ति विभिन्न विचार समुहका नाममा वाँडिएका कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याएर निर्माण गर्न सकिन्छ भन्ने सोच सम्भवत चीनको छ। चीन मामिलाका एक जानकार भन्छन,  ' भरपर्दो र बलियो राजनीतिक शक्तिका रुपमा एउटै राजनीतिक दलसँग कुरा गरेर नेपालबाट आफ्नो उद्धेश्य पुरा गर्न चीनियाँ सरकार र त्यहाँको कम्युनिष्ट पार्टीको डिजाइन अनुसार यो काम भइरहेको छ। ' अन्तराष्ट्रिय राजनीति र यस क्षेत्रको क्षेत्रीय राजनीति बुझेकाहरु पनि यसलाई त्यहि रुपमा स्विकार्छन्।

पुराना शक्ति पनि एकैं ठाउँ
कमल थापा नेतृत्वको राप्रपाका कतिपय नेताहरु चीनसँग नजिकिन पुगेका छन्। पार्टीमा विभाजन आइसकेपछि कमल थापासँग रहेका कतिपय नेताहरु चीनसँग सघन रुपमा नजिकिएका छन्। उनीहरुको भेटघाट वाक्लिएको छ। चीनमा आउजाउ बढेको छ। हिन्दुत्वको एजेण्डालाई बोकेर हिंडेपनि आफूलाई हिन्दुवादी पार्टी भनेर चिनाउने छिमेकी मुलुकका पार्टीबाटै धोका पाएको बताउने कमल थापा पनि उत्तरको छिमेकीको एजेण्डासँग नजिकिन सक्ने माहौल बन्दै गएको छ। यो अवस्थामा कमल थापाहरु प्रचण्ड झै एमालेसँग एकै चुनाव चिन्ह लिएर चुनावमा जान तयार हुन्छनकी हुँदैनन त्यो भन्न सकिन्न। तर समयले थापालाई कम्युनिष्ट घटकहरुसँगको मोर्चामा एकै ठाउँमा पुर्‍याउन सक्ने सम्भावनालाई भन्ने इन्कार गर्न सकिन्न। 

यो गठवन्धनमा पुरानो राजसंस्थाको प्रतिनिधी ज्ञानेन्द्र शाहलाई पनि अटाउने गृहकार्य भइरहेको छ। ज्ञानेन्द्र पुरानो राष्ट्रवादी धारको प्रतिनिधीको रुपमा रहने विश्वास यो गृहकार्य गर्नेहरुमा देखिन्छ। राष्ट्रवादी भनिने धारदेखि सबै कम्युनिष्टहरु एक ठाउँमा आउने अवस्था आए यो नेपालको भरपर्दो र दीगो शक्ति हुने विश्वास रणनीतिकारहरुको छ। यसकारण पनि दशै नमनाएरै सिंगापुरतिर बसिरहेका ज्ञानेन्द्रलाई नेपालको राजनीतिमा दुरगामी अर्थ राख्ने मंसिरको दुई तहको चुनाव अघी नै मनाएर पठाउने गृहकार्य भइरहेको स्रोतको दावी छ। भारतीय संस्थापनले आफ्ना विरुद्ध षडयन्त्र गरेको बुझाइ राख्ने शाह र उनका आसपासकाहरु पनि भारतीय पक्षलाई ' देखाईदिन ' का लागि पनि नयाँ रणनीतिको एक सारथीका रुपमा अगाडी आउने सम्भावना रहेको स्रोत बताउँछ। 

पिल्सिदै नेपाली राजनीति
नयाँ राजनीतिक समिकरण र गठवन्धन बन्ने हल्ला र नेपालका सानातिना गतिविधीमा पनि मसिनो रुपमा चासो राख्दै माइक्रो मेनेजमेन्ट गर्दै आएको भनिएको भारतीय पक्ष यो राजनीतिक गृहकार्य पछि सबैभन्दा वढी सशंकित देखिदैछ। नेपालको राजनीतिमा देखिने र भनिने गरिएको भारतीय प्रभाव अन्त्यका लागि जुट्दै गरिएको मानिएको नयाँ गठवन्धन सतहमा आएर हैसियत कायम राखेमा नेपालमा भन्ने गरिएको भारतीय प्रभाव निकै नै कम भएर चिनियाँ प्रभाव ह्वात्तै वढने परराष्ट्र मामिलाका जानकारहरु बताउँछन्। सीमा विवादका कारण बेलाबेलामा तनावमा आउने चीन र भारत नेपालमा प्रभाव राख्ने नाममा थप तनावमा आउने अवस्थाद सिर्जना हुन सक्छ। यो विकसित हुन खोजेको नयाँ घटनाक्रमबारे स्वयं नेपाली राजनीतिक दलहरुले नै सोच्नु पर्ने बेला आएको छ। दुई ठूला छिकेकीको बीचको रणनीतिक स्वार्थमा टकराएको अवस्थामा नेपालले चाहि केहि हासिल गर्ने भन्दा पनि गुमाउने नै बढी हुने अवस्था आउन सक्छ। यसका लागि तत्कालको राजनीतिक लाभ हेर्ने की दीगो राजनीति हेर्ने हो त्यो भने नेपाली राजनीतिक दलहरुले नै ध्यान दिनुपर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ