arrow

एमाले-माओवादी संयुक्त पत्रकार सम्मेलन ५ बजे सभागृहमा, यस्ता छन् सहमती

logo
प्रकाशित २०७४ असोज १७ मंगलबार
oli-prachanda.jpg.jpeg

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरणको लागि साँझ ५ बजे पत्रकार सम्मेलन हुने भएको छ । एमालेनिकट स्रोतका अनुसार घोषणा सभाअघि पार्टी एकताको जानकारी दिन संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी भएको हो । 

पार्टी एकताका लागि मंगलबार दिनभर चलेको बैठकमा एमालेका तर्फबाट अध्यक्ष केपी ओली, नेता माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम सहभागी थिए भने माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डसहित नेता नरायाकाजी श्रेष्ठ, रामबहादुर थापा, बादल सहभागी भएका थिए ।  

उनीहरुबीच भएको सात बुँदे समझदारी यस्तो छ । 

१ एमाले र माओवादी केन्द्रबीच कम्तीमा चुनावी गठबन्धन र बढीमा पार्टी एकता गरेर अघि बढ्ने, प्रतिनिधिसभा र प्रदेश सभामा वाम, प्रगतिशील र राष्ट्रवादी शक्तिबीच चुनावी गठबन्धन बनाउने ।

२ गठबन्धन र एकतामा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलगायतका दल र शक्तिलाई पनि सामेल गराउने, हृदयेश त्रिपाठीलाई पनि समेट्ने ।

३ निर्वाचनमा नयाँ शक्ति र फोरमलगायतका शक्तिलाई दिइनेबाहेक बाँकी सिटमा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत सिट लिने ।

४ पार्टी एकताका लागि सर्वपक्षीय प्रतिनिधित्व हुने गरी १० सदस्यीय एकता संयोजन समिति बनाउने । समितिमा एमालेका तर्फबाट पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनालसहित नेता वामदेव गौतम, माओवादी केन्द्रका तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ प्रकाश र रामबहादुर थापा बादल, नयाँ शक्तिबाट डा बाबुराम भट्टराई तथा संघीय समाजवादी फोरमबाट उपेन्द्र यादव र अशोक राईले प्रतिनिधित्व गर्ने ।

५ पार्टी एकता भएमा एमाले र माओवादी केन्द्रका अध्यक्षको हैसियत समान रहने, दुईमध्ये एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने ।

६ निर्वाचन आयोगले सहमति दिए एउटै चिह्नबाट दुवै दलले प्रत्यक्ष र समानुपातिकतर्फ चुनाव लड्ने, आ–आफ्ना चुनाव चिह्नबाट उम्मेदवारी दिएको अवस्थामा पनि निर्वाचनपछि पार्टी एकता गर्ने ।

७ निर्वाचनअघि नै सरकार परिवर्तनको पहल गर्ने, राष्ट्रिय सहमतिको आधारमा सर्वदलीय चुनावी सरकार गठन गर्ने विषयलाई प्रस्तावको रूपमा अघि बढाउने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ