arrow

एमाले, माओवादी र नयाँ शक्तिको एकतालाई वाम ध्रुवीकरण भन्दैनौँ –मोहनविक्रम (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ असोज १८ बुधबार
Mohan-Bikram-Singh.jpg

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच पार्टी एकताको अभ्यासले नेपाली राजनीतिक वृत्तमा तरंग ल्याएको छ । विगतमा काँग्रेस–माओवादी केन्द्र्रको गठबन्धनलाई भारतीय ग्रान्डडिजाइन भनियो । तर, अहिले एमाले, माओवादी र नयाँशक्तिबीचको एकता प्रयासलाई अन्य कुनै बाह्य शक्तिको ग्रान्डडिजाइन हो भन्ने आरोप लाग्छ कि लाग्दैन ? हामीले नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहसँग कुराकानी गरेका छौँ । 

एमाले, माओवादी र नयाँ शक्तिबीचको गठबन्धनलाई वाम ध्रुवीकरण भनेर भन्नु मिल्यो कि मिलेन ?
–हामीले वाम ध्रुवीकरण त भन्दैनौँ । तर, त्यो कदमलाई हामीले सकारात्मक मान्छौँ र स्वागत गर्दछौँ ।

किन त ?
–किन भने, नेपालको कम्युनिष्ट आन्दोलनमा को वाम हो, होइन । को कम्युनिष्ट हो, होइन भन्ने विषयमा धेरै विवादहरु छन् । त्यस्ता कयौँ सैद्धान्तिक कोणबाट छलफल गर्नु पर्ने जरुरी छ । त्यो लामो एउटा छलफलको विषय हो । त्यो विषयमा हाम्रो विभिन्न पक्षसँग जुन विवाद थियो विगतका दिन । अहिले उहाँहरुबीच एकीकरणको प्रयास हुँदैछ त्यो राम्रो हुन्छ । पहिले प्रचण्डले ओली नेतृत्वको सरकार छोडेर जानुलाई नै हामीले गलत भनेका थियौँ । त्यसलाई फुटाएर जानुलाई नै गलत मानेका छौँ । त्यसको परिणाम देशले धेरै भोग्नु परेको छ । देशको राष्ट्रियताको प्रश्नमा र अन्य धेरै प्रश्नमा त्यसलाई हामीले गलत मानेका थियौँ । बाबुराम भट्टराईले पनि माक्र्सवादलाई छोडेर जानु भएको थियो त्यसलाई पनि हामीले गलत मानेका थियौँ । कोही कम्युनिष्ट भए पनि नभएपनि र वाम भएपनि नभएपनि हामीहरुको जोड यो थियो, कि संविधान निर्माणका पक्षपाती शक्तिहरु मिलेर जानुपर्छ । अहिले उहाँहरुबीच, चुनावको तालमेलको कुरा भइरहेको छ । अर्को पार्टी एकीकरणको कुरा भइरहेको छ । त्यसले नेपालको राजनीतिमा सकारात्मक योगदान दिनेछ भन्ने हाम्रो विश्वास छ । त्यसैले हामीले त्यसलाई स्वागत गरेका छौँ ।

अहिलेलाई गठबन्धन भनिएको छ, एकताको पनि प्रसंग आइसकेको छ, एकतामा जाने भनिएको छ, त्यसले तपाईकै दलको कुरा गर्दा पनि,, नेकपा मसाल र अरु दलहरु साना वामपन्थी नाम जोडिएका दलहरुको भविष्य संकटमा पर्‍यो हैन त ?
–हामीले त्यसरी पनि भन्दैनौँ । किन भने, जहाँसम्म वामपन्थी शक्तिहरुको प्रश्न छ–म्युनिष्ट आन्दोलनको कुरा छ, त्यो नेपालमा मात्र होइन विश्वस्तरमा पनि धेरै कमजोर भएको छ भन्ने हामीले महसुस गरेका छौँ । रक्षात्मक अवस्थामा छ । विश्वका धेरै वामपन्थी कम्युनिष्ट पार्टीहरुको दक्षिणपन्थी दिशामा पलायन । त्यो सबैको असर नेपालमा पनि परेको छ । त्यो स्थिति नेपालमा पनि छ । त्यसले हाम्रो स्थिति कमजोर छ भन्ने आज मात्र अनुभव गरेका छैनौँ । हामीले आफ्नो क्रान्तिकारी सिद्धान्त, नीतिको रक्षाका लागि संघर्ष गरिरहेका छौँ । एकातिर दक्षिणपन्थी र उग्रपन्थी सोचहरुकाविरुद्ध हाम्रो संघर्षको लामो इतिहास छ । जस्तो पहिले पूर्व मालेले उग्रपन्थी भड्काउकाविरुद्ध संघर्ष गर्दा पनि हामीले त्यसलाई दृढतापूर्वक साथ दिई संघर्ष गरेका थियौँ । माओवादीले त्यही किसिमको रणनीति अपनाउँदा हामीले दृढतापूर्वक संघर्ष गरेका थियौँ । संविधान निर्माण र यसको कार्यान्वयनका लागि पनि हामी संघर्ष गर्दै आएका छौँ । राष्ट्रियताविरुद्ध भइरहेका बाह्य हस्तक्षेपविरुद्ध पनि हामीले संघर्ष गरेका छौँ । उहाँहरुको एकीकरणमा हाम्रो दुई प्रकारको नीति हुन्छ । एउटा राष्ट्रियताको पक्षमा र संविधान कार्यान्वयनमा जति सकारात्मक भूमिका खेल्नु हुन्छ, त्यसलाई हामी समर्थन गर्छौँ । अर्कातिर हाम्रो स्थिति पहिले जस्तै कमजोर हुन्छ र यसले हामीलाई असर गर्छ भन्ने पनि लाग्दैन । संघर्षमा सिथिलता आउने छैन ।

यी दलको पार्टी एकताले वाम शब्द जोडिएका साना दलहरुको भविष्य नेपालबाट सिधियो भन्ने अवस्था रहयो कि रहेन ?
–त्यस्तो कुरालाई हामीले स्वीकार गर्दैनौँ । किन भने, आज मात्र होइन पञ्चायतदेखि नै हामीले लगातार संघर्ष गर्दै आइरहेका छौँ । कयौँ मान्छेले के सोच्छन् भने, चुनाव नै सबै चिजको मूख्य पक्ष हो । चुनावमा जानु राजनीतिको प्रधान पक्ष हो भन्ने ठान्दछन् । हामीले त्यो कुरा माथि विश्वास गर्दैनौँ । हामीले चुनावलाई प्रयोग गरेका छौँ । जो अहिले देशको राष्ट्रिय आवश्यकता हो । संविधानको निर्माण, संविधान कार्यान्वयन, राष्ट्रियताको रक्षा यी राष्ट्रिय आवश्यकता हुन् । हामीले यसमा योगदान दिन वैधानिक रुपमै संसदको चुनावमा भाग लिने निर्णय गरेका छौँ । तर, हाम्रो संघर्षको प्रधानपक्ष त्यो मात्र होइन । संसद बाहिर पनि हाम्रो आन्दोलन जारी रहन्छ । राष्ट्रिय आवश्यकता अनुसार हामी आफ्नो आन्दोलनमा अघि बढ्छौँ । उहाँहरुको एकता भएकोमा हामी विचलित छैनौँ ।

काँग्रेस माओवादीको गठबन्धनलाई भारतीय ग्रान्डडिजाइन भन्नु भयो यहाँले, अहिले केही कम्युनिष्ट पार्टीका नेताहरुको भनाईलाई आधार मान्ने हो भने अहिलेको गठबन्धन चीनको ग्रान्डडिजाइन हो भन्ने आरोप लाग्न सक्ने भयो नि होइन ?
–चीनको कुरा कसरी लाग्छ भने, जस्तो अंग्रेजहरु भारतबाट गएदेखि नै भारतका शासकहरु नेपालमाथि लगातार हस्तक्षेप गर्दै आए । नेपालको राष्ट्रियता, परराष्ट्र नीति र सुरक्षामा । लामो पृष्ठभूमि छ । प्रशासनमा पनि हस्तक्षेप छ । घुसपैठ छ । यो प्रत्यक्ष हाम्रो अघि आएका कुरा हुन् । चीनले अहिलेसम्म केही गरेको देख्नमा आएको छैन । जस्तो, उसले एउटा नीति बनाएको छ, माक्र्सवाद सम्बन्धि, माओवाद सम्बन्धि त्यस्तो नीतिलाई पनि हामीले सही मान्दैनौँ । दक्षिणपन्थी दिशामा गएको छ भन्ने हामीले महसुस गरेका छौँ । जहाँ नेपालको राष्ट्रियताको प्रश्न हो, भारतले लगातार श्रृंखलावद्ध गरिरहेको जस्तो चीनले हस्तक्षेप गरेको छैन । नेपालको राष्ट्रियता रक्षाको लागि चीनको सकारात्मक भूमिका नै रहेको छ । उत्तरमा चीन भएकाले पनि नेपाल त्यसै पनि अस्तित्वमा छ । त्यति नभएको भए दशकौँ पहिले भारतले नेपाललाई सिक्किम, हैदरावादलाई जस्तै भारतमा मिलाई सक्थ्यो । सरदार पटेलले भनेका थिए, हैदरावादलाई जस्तै भारतमा मिलाउनु पर्छ । उनको रणनीति फेल हुनुको प्रमुख कारण हो उत्तरमा चीन हुनु । त्यसैले दुवैलाई एकै कोटीमा राख्नु सही हुँदैन त्यसलाई हामी गलत मान्दछौँ ।

माओवादी स्थापनाका जुन उद्देश्य थिए, माओवादलाई अवलम्बन गरेको थियो । एमाले लेनिनवाद र माक्र्सवादलाई मानेको छ । यी दुईटै उत्पत्तिका आधारहरु फरक हुँदा-हुँदै अहिलेको गठबन्धनले लामो समयसम्म निरन्तरता पाउँछ भन्ने आधारहरु केही छन् ?
–पहिलो त दुवैप्रति हामीले आफ्नो सैद्धान्तिक धारणा स्पष्ट गरेका छौँ । उनीहरुले जुन विचारहरु अपनाएर संघर्ष सुरु गरेका थिए । उनीहरुको विचलन भइसकेको छ । अब उनीहरु कम्युनिष्ट शक्तिहरु पनि रहेनन् । कम्युनिष्ट रहुन वा नरहुन् । हामीले कयौँ पटक काँग्रेस वा गिरिजाप्रसादले उठाएका कदमहरुलाई समर्थन गरेका छौँ । आज प्रष्ट रुपमा को कम्युनिष्ट हो होइन । हाम्रो वेग्लै विवादको विषय हो । जो राजनीतिक शक्तिहरु राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा छन् । उनीहरु एकतावद्ध भएर जानु पर्छ भन्ने हाम्रो सोचाई हो । त्यही कारण हामीले लगातार गिरिजालाई समर्थन गरेका थियौँ । सुशीलले अपनाएको नीतिलाई पनि समर्थन गरेका थियौँ । काँग्रेस, एमाले र माओवादीबीच कार्यगत एकता भएर जुन संविधान निर्माण भयो, तर, भारतीय चलखेलले गर्दा त्यो एकता कायम रहन सकेन । सुशीललाई उपयोग गरे, प्रचण्डलाई उपयोग गरे यसमा भारतीय डिजाइन रहेको छ । त्यसकारण हाम्रो राजनीतिक शक्तिहरु भारतीय डिजाइनबाट मुक्त हुनु पर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ