arrow

बाम शक्तिहरुको एकीकरण कि बृहद ब्राह्मण एकता सम्मेलन ?

logo
अमरदीप मोक्तान,
प्रकाशित २०७४ असोज १८ बुधबार
three_communist_leader.jpg

काठमाडौँ  । मंगलबार साँझ ५ बजे काठमाडौ स्थित खचाखच भरिएको राष्ट्रिय सभागृह हलमा एमाले ,माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच बृहद बाम एकताको अवधारणालाई मूर्त रुप दिन तीन पार्टीबीच एकीकरण भएको छ । नेपालमा स्थिरता विकास शान्ति सुव्यवस्था स्थापित गर्नका लागि  नयाँ र फराकिलो विचार बोकेको राजनैतिक शक्तिको अत्यन्त आवस्यकता महसुस गरिएको बेला तीन पार्टीबीच एकीकरण पश्चात  नेपाली राजनीतिका विशालकाय शक्तिको एकजुटताले सर्वहितचिन्तक राजनीतिक पार्टीको जन्महुनु उदय हुनु एकजुट हुनुसकारात्मक कुरा हो तर दूर्भाग्य के छ भने आफ्नो पार्टी भित्र चर्चा परिचर्चा छलफल मन्थन चिन्तन नै नगरी तीन पार्टीका शिर्षस्थ ब्राह्मण बाहुल्य नेताको चाकडीद्वारा लोकमान विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा गरेको सर्जिकल स्ट्राईक जस्तै अचानक तीन पार्टीको एकीकरणको घोषणा गर्नु पार्टी भित्र रहेको निरंकुशतालाई उजागर गरेको छ साथै  हो यो एकीकरणले  भविश्यमा राम्रो परिणाम प्राप्ति हुनेछ भन्ने विषयमा सन्देह बनिरहने छ ।

तीन पार्टी एकीकरण कार्यक्रममा सबैभन्दा पहिला बोल्ने पालो पाएका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले पार्टीहरुबीचको एकतालाई इतिहासको आवश्यकताको संज्ञा दिए । उनले इतिहासका कालखण्डमा एउटा पुस्ताले भूगोल एकीकरण गरेको अर्को पुस्ताले लोकतन्त्र स्थापना गरेको भन्दै अबको पुस्ताले प्रगतीशील समुन्नत समाजवादतर्फ देशलाई लैजानपर्ने आवश्यकता रहेको बताए । त्यस्तैगरी, पुष्पकमल दाहाल प्रचण्डले  एकता ऐतिहासिक आवश्यकताबाट निर्देशित भएको बताए । तीन दलबीचको सहमती घोषणा सभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि निरन्तरतामा क्रमभंग गरेको  ‘राजनीति धेरैहदसम्म सम्भावनाको खेल हो, राजनीतिमा सम्भव नदेखिएका कुराहरु पनि हुन्छन्, कतिपय सम्भव देखिने कुरा पनि हुनसक्दैन्, आज त्यही असम्भावना देखिएको कुरा सम्भव हुँदैछ भने। एमाले अध्यक्ष केपी ओलीले कम्युनिष्ट दलहरुको एकता राष्ट्रियता, अखण्डतालाई माथि उठाउने उद्देश्य लिएर गरिएको र यसले राष्ट्रलाई एकजुट बनाउने उद्घोष गरे। केपी ओलीले अबको राजनैतिक यात्रा सत्ता नभएर राष्ट्रको आर्थिक समृद्धि  देशमा सुशासन, सदाचार, भौगोलिक एकता कायम गर्दै इन्द्रधनुषी राष्ट्रिय एकता गर्नुपर्ने औल्याए ।  

एमाले माओवादी नयाँ शक्ति पार्टीबीच राष्ट्रियहितका लागि एकता एवं सहमतिमा हस्ताक्षर गरिएको भनिएता पनि उल्लेखित कार्यक्रमले सम्पूर्ण नेपालको प्रतिनिधित्व गरेको थिएन संविधानको मूलमर्म समावेशी समानुपातिक माथि क्रुर रुपमा प्रहार गरेको स्पस्ट रुपमा देखिन्थ्यो। तीन पार्टीबीचको एकीकरणलाई बृहद वामएकताको संज्ञा दिएता पनि उल्लेखित कार्यक्रम विशुद्ध ब्राह्मण राजनैतिक एकता सम्मेलन भएको आभाष दिईरहेको थियो भन्दा अन्यथा हुनेछैन । तीनै जना वरिष्ठ नेताले सम्बोधनको क्रममा आदिवासी जनजाती मधेसी दलित सबैको साझा हित गर्ने उद्घोष गरे तापनि  मञ्चको अग्रपंक्तिमा दायाँबाट क्रमशः कृष्णबहादुर महरा, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, बाबुराम भट्टराई, केपी शर्मा ओली प्रचण्ड, माधव कुमार नेपाल, वामदेव गौतम, झलनाथ खनाल र भीम गौतम बसेका दृश्यले आगामी दिनको राजनीतक पूर्वानुमान सहजै गर्न सकिन्छ । तीन पार्टी एकीकरणको कार्यक्रमका सञ्चालक एमालेका नेता विष्णु पौडेलले गरेका थिए भने एकीकरणको दस्तावेज वाचन गर्ने कार्य माओवादी नेता जनार्दन शर्मा प्रभाकर ले गरेका थिए । एकीकरण कार्यक्रममा आदिवासी, जनजाती, मधेशी दलितलाई  हस्ताक्षर, दस्तावेज वाचन, कार्यक्रम सञ्चालन एवं सम्बोधनबाट वन्चित गरेर उक्त कार्यक्रमले भविस्यको संकेत एवं घोर निरंकुशतन्त्रको स्मरण गराएको छ ।

एमाले-माओवादी-नयाँ शक्तिको एकीकरण पहाडी ब्राह्मणको मात्र एकता न भई यसको विस्तार तराई मधेशमा पनि भएको छ भन्ने कुराको पुष्टि  एमाले माओवादी पार्टीलाई पहाडी ब्राह्मण वर्चस्व स्थापित गर्यो मधेशीलाई दस बनायो मधेशलार्इ उपनिवेश बनायो भनि  पगपगमा गाली गर्ने राजपाका वरिष्ठ नेता हृदयेश त्रिपाठीसहित विके गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्ला सहित बहुसंख्यक मधेशी ब्राह्मणले सुर्य चिन्हमा चुनाव लड्ने  घोषणामा हस्ताक्षर गरेर एमाले, माओवादी, नयाँ शक्तिको एकीकरण बृहद बाम एवं राष्ट्रभक्त शक्तिको एकता नभई आगामी दिनमा हिमाल पहाड तराईमा हुने चुनाव पश्चात आफ्नो निहित स्वार्थ सिद्धी एवं राजनीतिक भागबण्डाका निमित्त ब्राह्मण एकता गरिएको छर्लंग हुन्छ ।
 
निसन्देह नेपालको विकास समृद्धिका लागि राष्ट्रभक्त शक्तिको एकता अति आवस्यकताको रुपमा महसुस गरिएको छ र तीन पार्टीको एकीकरणको सन्देसलाई पनि सकारात्मक रुपमा लिन सकिन्छ र लिन पनि जरुर छ तर नेपाली जनताले बारम्बार छ्द्मभेसी नेताबाट धोका पाएका हुनाले यो एकीकरण पनि सन्देहको दायरामा रहेको छ । विपी कोइरालाको आव्हानमा सशस्त्र क्रान्तिमा होमिन्ने  र सहादत दिने नेपालीले के प्राप्त गरे ०४६ /४७ को जनआन्दोलनमा ज्यान गुमाएका अंगभंग भएकाहरुले के प्राप्त गरे ,माओवादीको आव्हानमा गरिएको जनयुद्धमा ज्यान गुमाएका १७ हजार होनहार नेपालीको सहादतले राष्ट्रले के नै प्राप्त गर्यो ? नेपाली जनता को बलिदानले राष्ट्रमा सुख समृद्धि  त आएन तर राणा, शाह जस्तै परिवर्तनको प्रत्येक कालखण्डमा जंग बहादुर जस्तै नयाँ नयाँ वंशको उदय भएको छ । जस्तै काँग्रेसमा कोइराला, देउवा, केसी, महत वंश, एमालेमा खनाल, ओली, पोख्रेल,नेपाल वंश त्यस्तै गरी माओवादीमा दाहाल र भट्टराई वंश । 

एमाले माओवादी नयाँ शक्ति  पार्टी  को एकीकरण को सफलता र असफलता को मुख्य सुत्र के हो भने भाषण र नियमका कुरा नेपाली जनताले धेरै भोगी सकेका छन् । राष्ट्रलाई सहि पथमा डोर्‍याउन र सफल हुनका लागि अब नेताहरु ले नियतमा रहेका पुरातनवादी निरङ्कुश चिन्तन रुपी विषबृक्षलाई हमेशाका लागि जरादेखि उखालेर फ्याक्नु पर्छ। तीन पार्टीको एकीकरणको प्रारम्भिक चरणमा  देखिएको ब्राह्मण एकता सम्मेलन जस्तो  दृश्य  पुनः न दोहोरियोस्  समुन्नत नेपाल निर्माणको निमित्त सम्पूर्ण नेपाल प्रतिबिम्बित हुने संरचना वर्तमान समयको आवस्यकता हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ