arrow

ओलीको नजरमा 'अराजक माओवादी'सँग सात महिनामै कसरी बस्यो प्रेम ?

logo
प्रकाशित २०७४ असोज १८ बुधबार
oli_prachanda_prem.jpg

काठमाडौं। राजनीतिमा पछि फर्किएर हेर्ने र जनताले आफ्नो गतिविधि र अभिव्यक्तिमा के प्रतिक्रिया दिन्छन् भन्ने कुरा ख्याल गरिँदैन भन्ने कुरा भर्खरै भएको राजनीतिक घटनाक्रमले स्पष्ट गरिदिएको छ । बाम शक्तिहरुबीच एकीकरण गर्ने उद्देश्य सहित मंगलबार साँझ राष्ट्रिय सभागृहबाट नेकपा एमाले, नेकपा माओवादी र नयाँ शक्ति पार्टीबीच भएको घोषणा सभा पछि यस अघि नेकपा एमाले र माओवादी केन्द्रकाबीचमा लगाईएको आरोप प्रत्यारोप फर्किएर हेर्दा राजनीतिलाई सम्मान गर्नेहरुले समेत घृणा गर्नुपर्ने अवस्था सिर्जना गराईदिएको छ। 

स्थानीय तहको तेस्रो चरणको निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने समयमा सत्ता समिकरणमा जोडिएका थिए, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र । त्यतिबेला प्रतिपक्षमा थियोे नेकपा एमाले । पार्टी एकीकरणको कुरा गरेपनि अहिलेसम्म पनि सत्ता पक्ष र प्रतिपक्षको गठबन्धन पुरानै जारी छ । फरक यत्तिमात्रै छ कि पहिले माओवादी सत्ताको चाख मानेर बसिरहेको थियो अहिले काँग्रेसलाई चखाईरहेको छ । 

त्यहि बेलामा सबैले आ आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरे । अहिलेका निर्वाचनहरुमा आफूले गरेको राम्रा कामलाई भन्दा नराम्रालाई ध्यान दिने प्रवृत्ति हाबी भई रहेको बेलामा मुख्य पार्टीहरुले पनि एकले अर्कालाई मज्जैले सरापेका थिए । त्यतिबेला नेकपा एमालेले जारी गरेको घोषणापत्रको ५० औं पृष्ठमा लेखिएको एमाओवादी प्रति एमालेको धारणा यस्तो थियो ।  
'नेपालको राजनीतिमा अराजकता, अस्थिरता र अवसरवादको पर्यायको रुपमा नेकपा (माओवादी–केन्द्र) देखापरेको छ । यसको जन्मदेखि हालसम्मका गतिविधिहरुले नेपाल राष्ट्रलाई कमजोर बनाउने र देशमा विभाजन, विग्रह र द्वन्द्व सिर्जना गर्दै नेपालको प्रगतिमा अवरोध उत्पन्न गरेका छन्। पूर्ववर्ती माओवादी पार्टी विभिन्न समूहमा विभाजित भएपछि कायम भएको माओवादी–केन्द्र राष्ट्रिय हित र स्वाभिमानका विषयहरूबाट विमुख भएर सत्ता केन्द्रित राजनीतिको आहालमा डुबिरहेको प्रतित हुन्छ । यस पार्टीको नेतृत्वमा रहेको सरकारले निर्वाचन गर्नु पर्ने संक्रमणकालीन सरकारको दायित्व पूरा गर्नेतर्फ ध्यान केन्द्रित गर्नुको साटो संविधान संशोधनको गलत प्रयाश तथा स्वतन्त्र न्यायपालिकामाथि प्रहार गरेर अन्योल र आशंका फैलाइरहेको छ । यस्तो व्यवहार देश र जनतका लागि हानिकारक भएको तर्फ सचेत जनसमुदायले ध्यान दिनैपर्ने भएको छ ।' 

तर, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एक आपसमा मिलेर संयुक्त घोषणापत्रबाट चुनाव लड्ने मात्रै घोषणा गरेनन् एमाले अध्यक्ष केपी शर्मा ओलीले यो बामपन्थी राष्ट्रवादी शक्तिले मात्रै देशमा विकासको लहर ल्याउन सक्ने घोषणा गरे । उनले यो एकता कार्यक्रममा माओवादी केन्द्र र प्रचण्डको पनि प्रशंसा गरे । 

उनले त्यति भनिरहँदा ५ महिना अघि एमालेले सार्वजनिक गरेको घोषणापत्र र त्यसमा माओवादीमाथि लगाईएका आरोपहरु कहाँ पुगे भन्ने प्रश्न एमालेजनबाटै गम्भीर प्रश्न आउन थालेको छ । झापाको विर्तामोड नगरपालिका वडा नं २ मा एमालेबाट उम्मेदवार बनेर निर्वाचित भएका वडाध्यक्ष नागेन्द्र संग्रौला एमालेलाई प्रश्न गर्छन् 'के १७ हजार जनाको ज्यान लिएको जिम्मा एमालेले लिन्छ अब ?' उनले ०६३ र ०६६ सालमा माओवादीबाट आफू अपहरित भएको र उनीहरुको कुटाई खाएको स्मरण गर्दै 'अब कसरी माओवादीलाई भोट हाल्नु ?'भनेर प्रतिप्रश्न गरेका छन् । 

यस्तो असन्तुष्टि उनीमा मात्रै होईन । माओवादी द्वन्द्व र द्वन्द्व पछि पनि माओवादी कार्यकर्ताबाट पीडित भएका र सच्चा एमालेको सिद्धान्तमा अडिक बनेको धेरै एमालेजनहरुले यसको विरोध गरिरहेका छन् । केहीले यसमा खुलेर विरोध जनाएका छन् त केहीले कारबाहीको डरले खुल्ला रुपमा प्रष्ट धारणा राख्न सकिरहेका छैनन् । ती कार्यकर्ताहरुको भित्री विद्रोहको विस्फोट चुनावमा अन्तर्घात् बनेर प्रस्फुटन नहोला भन्न पनि सकिँदैन । 

त्यसैले एमालेले माओवादीलाई च्याप्दा आफ्नै कार्यकर्ता भड्किने देखिन्छ । यसरी ६० र ४० प्रतिशतमा उम्मेदवारी दिने सहमतिले पनि एमालेमा अर्काे असन्तुष्टि देखिएको छ । जसको असर पनि मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा नदेखिएला भन्न सकिँदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ