arrow

डा. केसी १३औँ पटक अनसनमा

logo
प्रकाशित २०७४ असोज १९ बिहिबार
govinda-kc-kabadi-bed-ma-sutdai.jpeg.jpeg

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी १३ औं पटक आमरण अनसनमा बसेका छन् । केसीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पास गर्न खोजिएको भन्दै विहिबारबाट १३औँ अनसन सुरु गरेका हुन् ।

केसीले असोज ९ गतेदेखि आमरण अनसन थालेकामा दुई दिनपछि दशैंभरका लागि भन्दै उहाँले फूलपातीका दिन अनसन स्थगित गरेका थिए ।

केसीले १२औँ चरणको अनसन स्थगित गर्दा १९ गतेबाट सुरु गर्ने बताएका थिए । त्यही घोषणा अनुसार डा. केसीले आजबाट आमरण अनसन सुरू गरेका हुन् ।

प्रेस विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरु

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा पारदर्शिता र सुशासनका लागि हामी लामो अभियानमा रहँदै आएका छौं । साथै सरकारले बारम्बार हामीसँग भएका सम्झौता कार्यान्वयन गर्नुको सट्टा त्यस विपरीतका कामहरु गरेर सीमित व्यवसायी र माफियाहरुको स्वार्थमा काम गरिरहेको कुरा विदितै छ ।

त्यही क्रममा संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्न हाल अन्तिम प्रयास भइरहेको छ । त्यसका लागि तीनै प्रमुख दलहरुबीच अहिल साँठगाँठ भइरहेको छ । त्यसले गर्दा मेडिकल शिक्षामा माफियातन्त्र सदाका लागि संस्थागत हुने मात्र नभई हाम्रो अभियानले हालसम्म गरेका उपलब्धिहरु समेत उल्टिने कुरा प्रष्टै छ । त्यसरी गुपचुप रुपमा माफियाहरुको स्वार्थ अनुसार ऐन पारित गर्दै तीन चौथाइ विपन्न तथा ग्रामीण क्षेत्रका मानिसहरु स्वास्थ्य सेवाबाट वञ्चित गर्ने र निम्न तथा मध्यम वर्गका विद्यार्थीहरु चिकित्सक बन्नबाट वञ्चित गर्ने प्रयास भइरहेको छ ।

यो अवस्था रोक्न हामीले दिएका सुझावअनुसार परिमार्जन गरेर चिकित्सा शिक्षा ऐन पारित गर्नेलगायतका मागहरु राखेर हामीले दबाबका अनेक कार्यक्रमहरु चलाइरहँदा सुनुवाइ नभएपछि पटकपटक सत्याग्रहसहितको आन्दोलन गर्नुपर्ने अवस्था आएको छ । विद्यमान संसदको अवधि अब निकै कम भएकाले पनि समयमै सही रुपमा ऐन पारित गर्नु अहिले आएर झनै महत्वपूर्ण हुन पुगेको छ । त्यसैले हाम्रा मागहरु पूरा गर्नका लागि हामीले पटकपटक दिएको अल्टिमेटममा मागहरु पूरा नभएकाले तथा सत्याग्रहको पछिल्लो कार्यक्रमपछि हामीलाई भेटेर प्रधानमन्त्रीले दिएको माग पूरा गर्ने आश्वासन समेत पूरा नभएकाले आज दिनको ५ बजेदेखि सत्याग्रह शुरु गर्ने जानकारी गराउन चाहन्छु । विगतमा झैं यसपल्ट पनि समाजका सबै तह र तप्काबाट साथ। सहयोग र समर्थन प्राप्त हुनेछ भन्ने विश्वास पनि लिएको छु ।

सत्याग्रहका मागहरु

१) माथेमा प्रतिवेदन तथा हाम्रा सुझावअनुरुप परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा ऐन पारित गरियोस् ।
२) मेडिकल माफियासितको मिलेमतोमा एमबीबीएसका लागि सरकारले तोकेको भन्दा दशौं लाख बढी शुल्क अवैध रुपमा निर्धारण गर्ने काठमाडौं विश्वविद्यालयको निर्णय तत्काल खारेज गरी सरकारले तोकबमोजिम एमबीबीएसका लागि रु ३८,५०,००० (काठमाडौं उपत्यकाभित्र), रु ४२,४५,०००(उपत्यकाबाहिर) तथा बीडीएसका लागि रु १९,३२,६१२ कायम गरियोस् । माफियासित मिलेमतो गरेर अरबौंको चलखेल गर्ने डिन राजेन्द्र कोजु तथा उपकुलपति रामकण्ठ माकजुलाई तत्काल बर्खास्त गरियोस् । त्रिविअन्तर्गतका निजी मेडिकल कलेजमा स्नातकोत्तरको शुल्क रु २२,५०,००० कायम गरियोस् । अनियमिततापूर्वक धेरै शुल्क तोक्ने तथा खाली भवनलाई एमबीबीएसको सम्बन्धन दिने त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरेर कारवाही गरियोस् । आइओएमबाट त्रिविले खोसेर लगेका अधिकारहरु तत्काल फिर्ता गरियोस् ।
३) बर्खास्त गरिएका आयल निगमका प्रमुखमाथि छानविन गरेर उनले हिनामिना गरेको अर्बौं रुपैयाँ असुलउपर गर्दै कारवाही गरियोस् । सोही भ्रष्टाचार काण्डमा उनीसित मिलेर भ्रष्टाचार गर्ने सबै तहका अन्य सबै व्यक्तिहरु तथा भ्रष्टाचार गरेको पुष्टि भएर पनि कारवाहीमा नपरेका अन्य सार्वजनिक संस्थान, परिषद् र संस्थाका पदाधिकारीहरुमाथि समेत तत्काल पदच्युत गरेर छानविन तथा कारवाही गरियोस् ।
४) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन–अध्यापन शुरु गर्ने गरी बजेट तथा अन्य व्यवस्था गरियोस् । कैलाली र दाङका सरकारी मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । डोटी–डडेल्धुरा, धनुषा–महोत्तरी, उदयपुर, पाँचथर–इलाम आदि ठाउँमा तत्काल सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।

डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौं
२०७४।६।१९



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ