arrow

रामायण लेखेर सकेको ठाउँमा भव्यरुपमा मनार्इयो वाल्मीकि जयन्ती 

हनुमानघाटको अनुसन्धान गर्न विज्ञहरुको सुझाव

logo
प्रकाशित २०७४ असोज २० शुक्रबार
balmiki.jpeg

भक्तपुर । रामायणका रचयिता विश्वका आदि महाकवि महर्षि वाल्मीकिको जन्मजयन्ती भक्तपुरमा मनाइएको छ । वाल्मीकिले रामायण लेखनको अन्त्य भक्तपुरको हनुमानघाटमा आएर गरेको स्मरणमा विगत केही वर्षदेखि भक्तपुरमा वाल्मीकिको जन्नजयन्ती मनाइँदै आइएको छ । 

भक्तपुरमा भारद्वाज संस्कृति संवद्र्धन केन्द्र, हनुमानघाट सामाजिक सेवा समिति र उद्योग वाणिज्य संघ सामाजिक उपसमितिले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा इतिहासविद् तथा विज्ञहरुले वाल्मीकिले नवलपरासी र चितवनको मिसार नदी किनारमा बसेर रामायण लेखेको भनिए पनि रामायण लेखनको अन्त्य भने भक्तपुरको हनुमानघाटमा भएको बताएका छन्। 

कार्यक्रममा इतिहासकार ज्ञानमणि नेपालले भक्तपुरको हनुमानघाटमा रहेको वाल्मीकेश्वर महादेव क्षेत्रको अध्ययन अनुसन्धान गरी वाल्मीकिको यथार्थ तथ्यलाई सार्वजनिक गर्नुपर्ने बताए। इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले धार्मिक, पौराणिक र ऐतिहासिक तथ्यलाई एकीकृत गरी धर्मका बारेमा अध्ययन, अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याउँदै वाल्मीकि रामभक्त हनुमानको सहयोगमा तीन हजार ५०० वर्ष अगाडि भक्तपुरको हनुमानघाट आउनुभएको प्रमाण रहेको बताए। 

कार्यक्रममा संस्कृतिकर्मी एवं इतिहासविद् डा सुरेन्द्र केसीले हिमवत्खण्डको १४५औँ अध्यायमा हनुमान सूर्यलाई भेट्न जाँदा सूर्यसँग ठोक्किएर चिउँडो झरेको पनि प्रमाण रहेको जानकारी दिनुभयो । हनुमानघाटसँगै रहेको वाल्मीकेश्वरको ६०० वर्ष पुरानो शिलालेखले वाल्मीकि ऋषि हनुमानघाट आएको तथ्य रहेको भए पनि त्योभन्दा अगाडिको इतिहासका बारेमा अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताए । 

भारद्वाज संस्कृति संवद्र्धन केन्द्रका अध्यक्ष चैतन्यराज देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा डा ऋषिराज पोखरेल, प्रा डा विष्णुराज आत्रेय, प्रा डा शास्त्रदत्त पन्त, ओम धौभडेल, रामबहादुर प्रजापतिलगायतले विश्वका आदि महाकवि महर्षि वाल्मीकिले रामायण लेखन पूरा गरेको हनुमानघाटस्थलमा वाल्मीकेश्वर महादेव मन्दिर स्थापना गरेको बताए । 

विज्ञहरुले वाल्मीकिले हनुमानघाटमा पनि रामायण लेखेको आधार भेटिएको बताउँदै यस क्षेत्रमा वाल्मीकिले रामायण लेख्दाको आसन र शिवलिङ्ग एवं समाधिस्थलको अध्ययन हुनुपर्ने बताए । संस्कृति र इतिहासविद्हरुले तीन हजार पाँचसय वर्षभन्दा अघिको वाल्मीकिले रामायण लेख्दाको तथ्य र प्रमाणको अनुसन्धान अहिलेसम्म हुन नसकेको र त्यस्ता प्रमाणको अनुसन्धान गर्ने विषयलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वाल्मीकि महर्षिको रामायण लेखेको र तपस्या गरेको स्थान हनुमानघाटको विकास र प्रवद्र्धन गर्ने जिम्मेवारी नगरपालिकाले लिने वचनबद्धता प्रकट गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ