arrow

गुटबन्दी छोड्नुपर्छ बहुमत काँग्रेसकै आउँछ : शेखर कोइराला 

logo
प्रकाशित २०७४ असोज २० शुक्रबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । बामपन्थी शक्तिहरु एउटै ध्रुवमा ध्रुवीकरण भएपछि नेपालमा लोकतान्त्रिक शक्तिको नेतृत्व गरेको नेपाली काँग्रेसले पनि लोकतान्त्रिक शक्तिहरुबीच ध्रुवीकरणको प्रयास गरेको छ । आसन्न निर्वाचनको लागि तालमेल गरेर जानको लागि काँग्रेसले विभिन्न छ दलहरुलाई एकठाउँमा ल्याएर कुराकानी अगाडि बढाएको छ । यसै विषयका अतरिक्त समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नको लागि नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बाम ध्रुवीकरणपछि काँग्रेसलाई पार्न सक्ने असरको विषयमा हाम्राकुरा डटकमले नेपाली काँग्रेसका नेता शेखर कोइरालासँग केही प्रश्न गरेको थियो । 

स्थानीय तहको निर्वाचनमा पहिलो भएको एमालेले तेस्रो भएको माओवादीसँग तालमेल गर्ने भएको छ । यसले नेपाली काँग्रेसलाई कस्तो असर पर्ला ?
अहिले स्थानीय तहको तीन वटै चरणको निर्वाचनमा हेर्ने हो भने ३० लाख मत त हामीले पनि ल्याएका हौं । एमालेले पनि त्यही ३० लाखको हाराहारीमा ल्याएको छ । केही सयको फरक होला नत्र नेपाली काँग्रेस र नेकपा एमालेबीचमा त्यस्तै आकाश जमिनको फरक भएको पनि होईन । त्यही स्थानीय तहमा चाहिँ केहीमा सिट एमालेले बढी जितेको हो । 

यो चुनावमा पनि हामीले राम्रो जित्ने उम्मेदवारलाई टिकट दिने र शीर्ष नेताहरुमा देखिएको गुटबन्दीको अन्त्य गर्ने हो भने एमाले र माओवादी नै मिलेपनि हामीलाई बहुमत नै ल्याउन गाह्रो छैन । त्यसको लागि चाहिँ शीर्ष नेताहरुले नै वातावरण बनाईदिनु पर्छ । 

आगामी चुनावको लागि अन्य दलहरुसँगको तालमेल कत्तिको आवश्यक छ ? 
अरु पार्टीसँग पनि आस्था र सिद्धान्त मिल्ने पार्टीसँग तालमेल गर्ने कुरा ठीक हो। मिले पार्टी एकीकरण नै गर्ने कुरा पनि राम्रै कुरा हो । तर, विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग चाँहि विचार पनि मिल्ने भएकोले उहाँहरुलाई चाहिँ सक्नेसम्मको सम्मानजनक स्थान दिएर पार्टीमा मर्ज नै गराउनु पर्छ भन्ने मलाई लाग्छ । अरु त हामीले लोकतान्त्रिक गठबन्धनको कुरा गरेको छौं । यो पनि एउटा सकारात्मक र राम्रो कुरा हो । 

अहिले फोरम नेपालको विषयमा केही शंका गरिएको छ । के फोरम नेपाल गठबन्धनमा आउँछ त ?
अहिले एक्लै चुनाव लड्ने भन्ने छ । हामीहरुबीच केही सहयोग होला त्यो छलफल गर्नुपर्छ । होईन भने माओवादीका मन्त्रीहरु मोरल ग्राउण्डमा नै सरकारमा बस्न नमिल्ने अवस्थामा उपेन्द्रजीले हामीलाई सहयोग नै गर्नुपर्छ । उहाँहरु सरकारमा आउनुहुन्छ भने सरकारमा ल्याएर होईन भने सरकारको लागि समर्थन मागेरै भएपनि उहाँहरुलाई हामीले ल्याउनै पर्छ । 

बाम गठबन्धनले काँग्रेसीहरुभित्र एक हिसावले निराशा छाएको भनेर पनि टिप्पणी गर्ने गरिएको छ, के यो साँचो हो ?
त्यस्तो होईन, हामी निराशा हुनुपर्ने कुरै केही छैन । हामी आफू भित्र विभाजित नहुने हो भने हामी कोही भन्दा पछाडि नै हुँदैनौं। यो त हाम्रो आन्तरिक एकताको लागि एउटा अवसर हो नि । अवसर सिर्जना गराईदिँदा पनि किन निराश हुनु ? म त भन्छु एकजना चर्चित र समाजले चाहेको मान्छेलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर त्यसैको आधारमा हामी अगाडि बढ्न सक्नुपर्छ। यो मात्रै भयो भने झनै जनताहरुले हामीलाई बढी विश्वास गर्छन् भन्ने मलाई लाग्छ । 

प्रदेशमा मुख्यमन्त्रीको नाम अघि नै तोकेर लैजाने हो भने केन्द्रमा पनि प्रधानमन्त्री तोकेर जानुपर्ला । त्यसो गर्दा चाहिँ के हुन्छ ?
केन्द्रमा चाहिँ पहिले नै यसरी प्रधानमन्त्रीको नाम तोकेर लैजाँदा फेरि गुटबन्दी मौलाउने सम्भावना हुन्छ । प्रदेशमा चाहिँ त्यस्तो हुँदैन । तर केन्द्रमा चाहिँ अलिक समस्या छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ