arrow

यसरी टुंगिँदै छ वाम गठबन्धनको क्षेत्र बाँडफाँड

शनिबार बेलुकासम्म क्षेत्र बाँडफाँड गर्ने गठबन्धनको तयारी

logo
प्रकाशित २०७४ असोज २१ शनिबार
nepal-communist-party.jpg

काठमाडौं। गठबन्धनको सिट र क्षेत्र बाँडफाँड समितिको शुक्रबार बसेको बैठकले मापदण्डका आधारमा टुंगो लगाउने गरी छलफल गरेको छ । समितिका सदस्य सुरेन्द्र पाण्डेले भने, ‘एकता संयोजन समितिले अरू दलले लिने सिट र क्षेत्र टुंग्याएपछि एमाले र माओवादी केन्द्रले लिने ६०-४० सिटको पनि टुंगो लाग्नेछ ।’ एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबारसम्म क्षेत्र बाँडफाँड टुंग्याउन निर्देशन दिएका छन् ।

०७० को संविधानसभा र ०७४ को स्थानीय निर्वाचन आधार

एमाले र माओवादी केन्द्रले सकेसम्म धेरै दललाई गठबन्धनमा समेट्ने प्रयास गरिरहेका छन् । प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अरूलाई बाँडेर बचेका सबै निर्वाचन क्षेत्रमा ६०/४० गर्ने उनीहरूको समझदारी छ । प्रदेश र केन्द्रको क्षेत्र कसले लिने भन्ने टुंगो लगाउन ०७० सालको मत परिणाम र ०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको मत परिणामलाई मुख्य आधार मान्ने भएका छन् । ०७० मा हारे पनि पछिल्लो निर्वाचनमा यदि धेरै वडाध्यक्ष जितेको छ भने त्यो क्षेत्रमा बढी जित्ने दलले नै टिकट पाउनेछ ।

हरेक जिल्लामा दुवै दलको प्रतिनिधित्व हुने गरी बाँडफाँड

हरेक जिल्लामा केन्द्र र प्रदेशमध्ये दुवै दलले कम्तीमा एउटा सिट पाउने समितिमा समझदारी बनेको छ । यो समझदारीअनुसार एउटा दलले केन्द्रको सिट लिए अर्को दलले कम्तीमा प्रदेशको एउटा सिट पाउनेछ । ‘कुनै पनि जिल्लामा एउटा दल निल नहुने गरी सिट बाँडफाँड गर्ने समझदारी भएको छ,’ समितिका एक सदस्यले भने । यसअनुसार माओवादी केन्द्र निल भएको धनकुटामा उसले प्रदेशतर्फको प्रत्यक्षमा भए पनि कम्तीमा एक सिट पाउनेछ । त्यस्तै, एमाले निल भएको गोरखामा उसले संघको सिट नपाए प्रदेशतर्फको एक सिट पाउनेछ ।

हारेको स्थानमा पनि माओवादीले उम्मेदवारी पाउने

पछिल्लो स्थानीय तहको निर्वाचनमा अधिकांश जिल्ला एमालेले जितेको छ र माओवादी धेरै पछाडि छ । तर, ६०÷४० को अनुपात मिलाउनुपर्ने भएकाले हारेका जिल्लामा पनि माओवादीले उम्मेदवारी पाउने भएको छ । एउटा दलले कुल १० हजार मत पाएकै क्षेत्रमा अर्को दलले सात हजार ल्याएको छ भने त्यस्तो क्षेत्रमा कम मत पाउने दलले उम्मेदवारी पाउनेछ । संघ र प्रदेश दुवैतर्फ यसरी नै क्षेत्र बाँडफाँड हुने गरी समितिले छलफल चलाइरहेको पाण्डेले बताए ।

नयाँ शक्ति र अन्य दलको सिटबारे छलफल

नयाँ शक्ति, अन्य पार्टी र समूहलाई कति सिट दिने विषय शीर्ष नेता रहेको एकता संयोजन समितिले नै अन्तिम टुंगो लगाउने भएको छ । नयाँ शक्तिले लिने सिटका विषयमा शुक्रबार डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् । ‘सिटका विषयमा उहाँहरूले छलफल गर्नुभयो, पहिले संख्या टुंगो लागेपछि समितिमा छलफल हुन्छ,’ नयाँ शक्तिका नेता तथा समितिका सदस्य गंगानारायण श्रेष्ठले भने । नेपाल परिवार दलले एमालेको सूर्य चिह्नमा चुनाव लड्ने तीनबुँदे सहमति गरेको छ । शुक्रबार एमाले अध्यक्ष ओलीनिवास बालकोटमा भएको सहमतिमा एमालेको ह्विप मान्ने, सिट संख्या सहमतिमा टुंगो लगाउने र एमाले उम्मेदवारलाई जिताउने उल्लेख छ ।

राप्रपा र लोहनी समूहलाई गठबन्धनमा तान्ने कसरत

गठबन्धनमा कमल थापा नेतृत्वको राप्रपालाई समेत अटाउने ओली र प्रचण्डको प्रयास छ । त्यसैले नाम नै वाम प्रगतिशील गठबन्धन राखिएको थियो । उनीहरूले डा. प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादीलाई पनि तान्ने प्रयास थालेका छन् । गठबन्धन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कमल थापाले शुक्रबार एमाले अध्यक्ष ओलीसँग बालकोटमा भेटवार्ता गरेका छन् । करिब ४५ मिनेटको छलफलमा चुनावी तालमेलबारे विभिन्न विकल्प र पछिल्लो राजनीतिको समीक्षा भएको थापाले जानकारी दिए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ