arrow

प्रचण्ड भन्छन् –वाम एकता प्रस्तावमा विदेशीको धम्की आयो नामचाहिं अहिले भन्दिन 

logo
प्रकाशित २०७४ असोज २२ आइतबार
pmprachandadahal.jpeg

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नयाँ शक्तिसँग एकताको प्रस्तावमा विदेशी शक्तिको धम्की आएको बताएका छन् ।

माओवादी केन्द्रका नेताहरुलाई शनिवार काठमाडौमा प्रशिक्षण दिने क्रममा प्रचण्ड एमालेसँग चुनावी तालमेल र पार्टी एकताको प्रस्ताव अगाडि बढाएपछि आफू माथि दबाब र धम्की आएको बताएका हुन । तर प्रचण्डले कुन विदेशी शक्तिबाट उनी माथि दबाब र धम्की आएको भनेर भने खुलाएनन् ।

असोज १५ गते बसेको केन्द्रीय सचिवालयको बैठकमा एमालेसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने प्रस्ताव पेश गर्ने क्रममा पनि भारतीय अधिकारीहरुबाट धम्की आएको प्रचण्डले बताएका थिए । तर शनिवारको प्रशिक्षणमा भने प्रचण्डले भारतीय अधिकारीहरुको नाम उच्चारण नै नगरी बाह्य शक्ति उल्लेख गरेका थिए ।

राष्ट्रिय सभागृहमा भएको प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने ‘सबै खालका चुनौतीहरु छन बाहय तनाव,धम्की र चुनौतीहरु छन् । तर कहाँबाट कस्तो कस्तो धम्की आयो,त्यो चाहि अहिले म भन्दिन । ती सबै चुनौतीहरुलाई पार गरेर अगाडि बढिएको हो । समाजवादी क्रान्तिको यात्रामा अगाडि बढन नयाँ जोखिम मोलिएको हो’ प्रचण्डले भने ।

एमालेले ल्याएको चुनावी तालमेलको प्रस्तावमा आफूले नै पार्टी एकताको प्रस्ताव राखेको प्रचण्डले बताए । ‘पार्टी एकताको प्रस्ताव टुंग्याएर चुनावी तालमेल गरिएको हो’ प्रचण्डको भनाई उघृत गर्दै पोलिटव्यूरो सदस्यले भने ‘हामी र एमाले दुवै रुपान्तरित हुने हो,न एमाले माओवादीमा बिलिन हुने हो न माओवादी एमालेमा बिलिन हुने हो ।’

एमाले उपाध्यक्ष बामदेव गौतमले ल्याएको चुनावी तालमेलको प्रस्ताव माथि निरन्तर छलफल गर्ने क्रममा पार्टी एकताको सैद्धान्तिक सहमतिमा पुगिएको पनि प्रचण्डले नेताहरुलाई जानकारी गराए । पार्टी एकताको प्रस्ताव माथि एमालेबाट गौतम र माओवादी केन्द्रबाट जनाद्र्धन शर्माले बढी नै मेहनत गरेको प्रचण्डले बताए । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ