arrow

२०६४ सालपछि किन गयो मतदाताको पहिरो ? एकैपटक यसरी घटे आधा करोड मतदाता

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ असोज २२ आइतबार
matadata.jpg

काठमाडौं । कुनै मुलुकमा बर्सेनी जनसंख्या बढ्दै गएपनि मतदाताको संख्यामा एक्कासी गिरावट हुन्छ भने यसले धेरैलार्इ अचम्मित पनि बनाउन सक्छ । तर, नेपालमा यस्तो ऐतिहासिक समय पनि आयो कि जुन समयभन्दा अघिको चुनावमा भन्दा पछिल्लो चुनावमा आधा करोड भन्दा बढी मतदाताको कमि भएको थियो । यो संख्या फेरि धेरै पहिलेको पनि होईन । वि. सं. २०६४ र २०७० सालको बीचमा मात्रै आधा करोड भन्दा बढी मतदाता कम भएको निर्वाचन आयोगले जनाएको छ ।  

निर्वाचन आयोगको तथ्यांक अनुसार वि. सं. २०६४ सालको संविधान सभाको निर्वाचनमा कूल १ करोड ७६ लाख ११ हजार ८ सय ३२ मतदाता मतदानका लागि अधिकारप्राप्त थिए । अर्थात् मतदाता नामावलीमा त्यो संख्यामा नेपालीहरु मतदानको लागि योग्य थिए । तर, २०७० सालको संविधान सभाको निर्वाचनमा यो संख्या घटेर १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता पुगे । जुन अघिल्लो निर्वाचनको भन्दा ५४ लाख ६३ हजार नौ सय ६७ जना कम हो । तर किन घटे त यति धेरै मतदाता ? 

निर्वाचन आयोगका अनुसार मतदाता नामावली ऐन २०६३ को दफा ५ को उपदफा १ ले मतदाता हुनको लागि सामान्य मापदण्ड तोकेको थियो । जस अनुसार कुनैपनि नेपाली नागरिक २०६३ साल मंसिर मसान्तसम्म १८ वर्ष उमेर पूरा भएको भए उ मतदाता हुनसक्ने व्यवस्था गरिएको थियो । साथै मतदाता बन्नको लागि गाउँविकास समिति र वडामा स्थायी बसोबास गरेको व्यक्ति हुनुपर्ने उल्लेख गरिएको थियो । 

यो व्यवस्थाका कारण त्यतिबेला नागरिकता भएका जति सबैले सहजै मतदानको दिन गएर मतदान गर्नसक्ने व्यवस्था गरिएको थियो । त्यतिबेला मतदाता नामावलीमा नाम लेख्ने चलन भएको भएपनि त्यसलाई कडाई गरिएको थिएन । त्यसैले त्यतिबेला कूल १ करोड ७६ लाख भन्दा बढीले मतदान गर्न पाउने भएका हुन् । तर त्यसपछि निर्वाचन आयोगले ल्याएको नयाँ व्यवस्थाका कारण मतदाताको संख्यामा भारी पहिरो गयो । 

२०६५ देखि २०७० सालसम्म चलेको निर्वाचन आयोगको प्रथम रणनीतिक आयोजनाले मतदाता नामावलीलाई शुद्ध र त्रुटीरहित बनाउने कामलाई पनि महत्वपूर्ण रुपमा अंगिकार गरी २०६६ सालमा पहिलो पटक सोलुखुम्बु, काठमाडौं, रुपन्देही, दाङ र डडेल्धुराका सातवटा गाविसमा फोटो सहितको मतदाता नामावली संकलन गर्ने कार्य गर्यो । यसैलाई मूर्त रुप दिनको लागि २०६७ सालको माघदेखि मुलुकभरका सबै जिल्ला निर्वाचन कार्यालयमा फोटो सहितको नामावली संकलन गर्न सकिने व्यवस्था मिलाईयो । 

यस बेलामा फोटो सहितको मतदाता नामावलीको खासै वास्ता गरेनन् धेरै मानिसले । तर निर्वाचन आयोगले भने आउँदो निर्वाचनदेखि फोटो सहितको मतदाता नामावली अनिवार्य गर्ने तयारी गरिसकेको थियो । त्यसैलाई प्रचार गर्दै निर्वाचन आयोगले विभिन्न समयमा मतदाता नामावली दर्ताको विशेष कार्यक्रमहरु पनि सञ्चालन गर्दै आईरहेको छ । तरपनि धेरैले यसको महत्व बुझ्न नसक्दा २०७० सालको निर्वाचनमा झण्डै आधा करोड मतदाता कम भएका हुन् । 

अहिले पनि फोटो सहितको मतदाता निर्वाचनको लागि अनिवार्य गरिएको छ । फोटो सहितको मतदाता नामावलीमा नाम भरेका मानिसले निर्वाचनमा नागरिकता वा अन्य सरकारी परिचय खुल्ने परिचयपत्र बोकेका मानिसले मतदान गर्न पाउने व्यवस्था गरिएको छ । त्यसैले १० वर्ष अघिको भन्दा २१ लाख ८४ हजार १ सय १ मतदाता ६४ सालको भन्दा कम रहेका छन् । अहिलेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाताले भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ । 

यो परिचयपत्रको व्यवस्थासँगै नेपालका लाखौं मतदान गर्न योग्य मतदाताहरु त मतदानबाट बञ्चित बन्न पुगेका छन् । तर, यो व्यवस्थाले मतदान गर्न पाउने र नपाउनेहरुलाई भने धेरै व्यवस्थित बनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ