arrow

काठमाडौँको १० क्षेत्रबाट काँग्रेस र एमालेका ३९ जनाको नाम सिफारिस

logo
पूर्णप्रसाद मिश्र,
प्रकाशित २०७४ असोज २३ सोमबार
Kathmandu_District.png

काठमाडौँ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले काठमाडौँका १० निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिश गर्न थालेका छन् ।

राजधानी र सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेकाले काठमाडौँको निर्वाचनलाई विशेष रुपमा हेरिन्छ । विसं २०७० को संविधान सभा निर्वाचनमा ठूलो दल बनेको काँग्रेसले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिश गरेको छ ।

क्षेत्र नं १ बाट पार्टीका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठलाई सर्वसम्मत सिफारिश गरिएको काँग्रेस जिल्ला कार्य समितिका सभापति कृष्ण (सबुज) बानियाँले जानकारी दिए ।

क्षेत्र नं १ मा नेकपा (एमाले)ले केन्द्रीय कमिटी सदस्य एवं काठमाडौँ जिल्ला इञ्चार्ज सावित्रा भुसालको नाम सर्वसम्मत सिफारिश गरेको जिल्ला कमिटी अध्यक्ष कृष्ण राईले बताउनुभयो । नेकपा (माओवादी केन्द्र)ले वाम दलबीच चुनावमा तालमेलको घोषणा भएकाले अहिलेसम्म नाम सिफारिश नगरिएको जनाएको छ ।

माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखनाथ न्यौपाने वाम दल एक भएर चुनावमा जाने घोषणा भएकाले टुङ्ग्याएका नाम पनि सार्वजनिक नगरिने बताउछन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष नवराज सिम्खडा १० वटै निर्वाचन क्षेत्रबाट प्रत्याशीका नाम सिफारिश भई आएकाले मंगलबार र बुधबार बैठक बसी नाम केन्द्रमा पठाइने बताए ।

काठमाडौँ क्षेत्र नं १ मा विवेकशील साझा पार्टीले संयोजक रवीन्द्र मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता रमेश पौडेलले बताए ।

क्षेत्र नं २ मा नेपाली काँग्रेसले तीन जनाको नाम सिफारिश गरेको छ । क्षेत्रीय सभापति उपेन्द्र कार्की, सांसद दीपकप्रसाद कुइँकेल र महासमिति सदस्य लोकेश ढकालको नाम पार्टी केन्द्रीय समितिमा सिफारिश गरिएको जिल्ला समितिले जनाएको छ । क्षेत्र नं २ मा एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नाम सर्वसम्मत सिफारिश गरेको छ ।

क्षेत्र नं ३ मा नेपाली काँग्रेसले सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत, महासमिति सदस्य हरिबोल भण्डारी, महामिति सदस्य एवं नेपाल तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्का र विपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलको नाम केन्द्रमा पठाएको छ । एमालेले भने पार्टीका जिल्ला अध्यक्ष कृष्ण राईको नाम सर्वसम्मत सिफारिश गरेको छ ।

क्षेत्र नं ४ मा काँग्रेसले सांसद गगनकुमार थापा, महासमिति सदस्य नरोत्तम वैद्य र महासमिति सदस्य जानु घिमिरेको नाम सिफारिश गरेको छ । यो क्षेत्रमा एमालेले सांसद राजन भट्टराईको नाम सर्वसम्मत सिफारिश गरेको छ । विवेकशील साझा पार्टीले यो क्षेत्रबाट सुबुना बस्नेतलाई उम्मेदवार बनाउने भएको छ ।

क्षेत्र नं ५ मा काँग्रेसले क्षेत्रीय सभापति रमेश खड्का, पूर्वमहासमिति सदस्य श्रीविनोद भट्टराई, नेपाल बार एशोसियशनका पूर्वअध्यक्ष एवं महासमिति सदस्य प्रेमबहादुर खड्का र महासमिति सदस्य एवं वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम केन्द्रमा बुझाएको छ । एमालेले महासचिव ईश्वर पोखरेलको नाम सर्वसम्मत रुपमा केन्द्रीय कमिटीमा सिफारिश गरेको छ । यो क्षेत्रबाट दोस्रो संविधानसभा निर्वाचनमा काँग्रेस नेता नरहरि आचार्य निर्वाचित भएका थिए । यो क्षेत्रमा विवेकशील साझा पार्टीले संयोजक उज्ज्वलबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

क्षेत्र नं ६ मा काँग्रेसले जिल्ला सभापति बानियाँ र रक्षामन्त्री भीमसेनदास प्रधानको नाम सिफारिश गरेको छ । एमालेबाट भने ३ नं प्रदेश कमिटी सदस्य योगेन्द्र सङ्ग्रौला लगायतको नामका विषयमा छलफल भइरहेको जिल्ला अध्यक्ष राईले बताउनुभयो । यो क्षेत्रको नाम टुङ्गिन भने बाँकी रहेको एमाले जिल्ला कमिटीले जनाएको छ ।

क्षेत्र नं ७ मा काँग्रेसले महासमिति सदस्य सुदर्शन आचार्य, जिल्ला समिति सदस्य विजय माली, क्षेत्रीय सभापति मुकुन्द रिजाल, रक्षामन्त्री प्रधान, यसअघि दोस्रो संविधान सभा निर्वाचनमा चुनाव लड्नुभएकी महासमिति सदस्य प्रमिला सिंह र समानुपातिक सांसद ओमदेवी मल्लको नाम सिफारिश गरेको छ । एमाले जिल्ला कमिटीले भने दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित सांसद रामवीर मानन्धरको नाम सर्वसम्मत गरेको छ । साझा पार्टीले अनुपा श्रेष्ठलाई प्रतिस्पर्धामा उतारेको छ ।

क्षेत्र नं ८ मा काँग्रेसले केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं सांसद नवीन्द्रराज जोशीको नाम सर्वसम्मत सिफारिश गरेको छ । एमालेले पार्टी केन्द्रीय कमिटी सदस्य एवं कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र केन्द्रीय कमिटी सदस्य जीवनराम श्रेष्ठको नाम पार्टी केन्द्रमा बुझाउने भएको छ । विवेकशील साझा पार्टीले यो क्षेत्रबाट पुकार बमलाई उम्मेदवार तोकेको छ ।

क्षेत्र नं ९ मा काँग्रेसले सांसद ध्यानगोविन्द रञ्जित र महासमिति सदस्य दामोदर गौतमको नाम सिफारिश गरेको छ । एमालेले भने उपाध्यक्ष एवं ३ नं प्रदेश कमिटी संयोजक अष्टलक्ष्मी शाक्य र पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठको नाम पठाएको छ । साझा पार्टीले मिलन पाण्डेलाई प्रतिस्पर्धी बनाएको छ ।

क्षेत्र नं १० मा काँग्रेसले युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीको नाम सर्वसम्मत सिफारिश गरेको छ । केसीले दोस्रो संविधान सभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गर्दै निर्वाचित भएका थिए । यो क्षेत्रबाट एमालेले समानुपातिक सांसद विनोद श्रेष्ठ र वैकल्पिक केन्द्रीय कमिटी सदस्य सुरेन्द्र मानन्धरको नाम जिल्ला कमिटीका तर्फबाट केन्द्रीय कमिटीमा बुझाएको छ ।

विसं २०७० मंसिर ४ गते भएको दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये ७ मा काँग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । काठमाडौँ २ बाट निर्वाचित एमाले नेता नेपाल रौतहट जिल्लाबाट पनि निर्वाचित हुनुभएपछि उनले काठमाडौँ २ छोडे। विसं २०७१ असार ८ गते भएको उपनिर्वाचनमा काँग्रेसका दीपकप्रसाद कुइँकेल विजयी भएका थिए ।

काठमाडौँमा महिला तीन लाख ११ हजार ७६३, पुरुष दुई लाख ९१ हजार ८४६ र ११ जना तेस्रोलिङ्गी गरी कुल छ लाख तीन हजार ६२० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ