arrow

वाम गठबन्धनको छलफल राष्ट्रियसभा गठनमा प्रवेश 

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
oli-prachanda.jpg.jpeg

काठमाडौँ । एमाले र माओवादी केन्द्रका शीर्ष नेताले राष्ट्रिय सभाको निर्वाचनमा समान धारणा बनाएर जाने निर्णय गरेका छन् । 

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको दुई दलका शीर्ष नेताको बैठकमा राष्ट्रियसभा गठन र त्यसको प्रक्रियालाई कुन ढाँचामा अगाडि लैजाने भन्नेबारेमा छलफल भएको हो । 

शीर्ष नेताले वरिष्ठ कानून व्यवसायी तथा पूर्व महान्यायाधिवक्तासँग समेत छलफल गरेका थिए । राष्ट्रियसभामा बहुमतीय निर्वाचन प्रणालीअनुसार जाने कि एकल संक्रमणीय मतका आधारमा जाने भन्ने विषयमा छलफल केन्द्रित थियो । 

छलफलमा सहभागी सांसद रामनारायण बिडारीले राष्ट्रियसभा गठन प्रक्रिया र निर्वाचन प्रणालीबारे छलफल भएको जानकारी दिए । 

राष्ट्रियसभाको चुनावसम्बन्धी संवैधानिक व्यवस्था र त्यसमा देखिएका असहजतालाई सहजबनाएर कसरी अघि बढ्ने भन्ने सम्बन्धमा पनि शीर्ष नेताले छलफल गरेका थिए । 

व्यवस्थापिका–संसद्ले प्रक्रियामा लैजान लागेको राष्ट्रियसभा निर्वाचनसम्बन्धी विधेयक सोहीरूपमा अगाडि बढाउनुपर्ने धारणा सहभागीहरुले व्यक्त गरेका थिए । एमाले र माओवादी केन्द्रबीच बीच एकता प्रक्रिया अगाडि बढेपछि नेपाली काँग्रेसले एकल संक्रमणीय आधारमा नै राष्ट्रियसभा गठनको प्रक्रिया अगाडि बढाउने धारणा राखेको छ । 

राष्ट्रियसभामा ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ । त्यसमा ५६ जना निर्वाचन प्रणालीबाट छानिनेछन् भने तीन जना मनोनीत हुनेछन् । 

यस्तै बैठकमा सरकारका तर्फबाट माओवादी केन्द्रका मन्त्री हटाउने वा सरकार विस्तार तयारीप्रति समेत शीर्ष नेताले कानून व्यवसायीसँग छलफल गरेका थिए । 

कानून व्यवसायीले भने सरकारले मन्त्री हटाउने वा सरकार विस्तार गर्न नपाउने धारणा राख्दै निर्वाचन आचारसंहिता र अन्य संवैधानिक एवं राजनीतिक कारणले पनि त्यसो गर्न नपाइने धारणा राखेका थिए । 

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले उपाध्यक्ष बामदेव गौतम, संसदीय दलका उपनेता सुवास नेम्वाङ, पूर्व कानून मन्त्री एवं सांसद अग्नि खरेललगायत सहभागी थिए । यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ, पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठलगायत सहभागि थिए ।

बैठकमा उम्मेदवारी चयनमा कार्यदलले गरेका प्रगतिबारे पनि छलफल भएको र शीघ्र सहमति जुटाउने सहमतिसमेत भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ