arrow

स्वास्थ्य बीमा विधेयक संसदबाट पारित

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
samsad-bhawan.jpeg

काठमाडौँ । सबै नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच हुने व्यवस्था सहितको स्वास्थ्य बीमा विधेयक २०७४ संसदबाट पारित भएको छ । तत्कालीन स्वास्थ्य मन्त्री गगनकुमार थापाले तयार पारी संसदमा दर्ता गरेको विधेयक पारित भएको हो । 

एमालेको अवरोधका कारण तत्कालिन मन्त्री थापाले संसदमा पेस गर्न नपाएको विधेयक केही साता अघि स्वास्थ्य मन्त्री गिरिराजमणी पोख्रेलले पेश गरेका थिए । विधेयक सहयोग गर्ने सवैलाई धन्यबाद दिदै सांसदहरुले दिएको सुझावलाई समेट्दै लैजाने आश्वासन दिएका थिए । 

संसदले पास गरेको ऐन राष्ट्रपतिले लालमोहर लगाएपछि कार्यान्वयनमा आउने छ ।  ‘स्वास्थ्य बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७४’ लाई अन्तिम रुप दिन तत्कालिन मन्त्री थापाले निकै धेरै महनेत गरेका थिए । 

पूर्वमन्त्री थापाले आफुले सवै भन्दा धेरै प्राथमिकतामा राखेको विषय भएकाले बीमा ऐन पारित भएकोमा ठुलो आत्मसन्तुष्टी भएको बताए । 

विधेयकमाथि संसदमा भएको छलफलमा बोल्दै उनले स्वास्थ्य बीमा ऐन कार्यान्वयन भएपछि आर्थिक अभावकै कारण कसैले स्वास्थ्य सेवाबाट बन्चित हुन नपर्ने बताए । 

आयको आधारमा प्रिमियरको योगदान गर्ने र तिर्न नसक्नेको सरकारले तिरिदिने व्यवस्था भएकाले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच पुग्ने उनको भनाई छ ।
 
औषधी सस्तो बनाउनु पर्ने तर्फ ध्यानाकर्ष गराउदै उनले औषधि सस्तो गराउन नसकिए विमा ऐन लागु भएपनि नागरिकले राहत महसुस गर्न नसक्ने बताए । 

यो विधेयकमा स्वास्थ्य बीमामा आवद्ध हुन प्रत्येक परिवारलाई इकाइका रुपमा मानिने र परिवारका सबै सदस्य स्वास्थ्य बीमामा अनिवार्य आवद्ध हुनु पर्ने व्यवस्था छ । 

बीमामा आवद्ध हुनका लागि निश्चित रकम (प्रिमियम) तिर्नुपर्ने हुन्छ । यो रकम पारिवारिक इकाइका आधारमा लिइने छ । तर, गरिबीको रेखामुनी रहेका र प्रिमियम तिर्न नसक्ने परिवारका हकमा सरकार आफैंले रकम तिरिदिने व्यवस्था राखिएको छ ।

प्रिमियमा रकम कति तिर्ने भन्ने विषयमा भने नियमावली बनाएर पछि स्पष्ट पारिने भएको छ । निशुल्क कार्यक्रमलाई पनि क्रमश बीमामा समावेश गर्दै जाने व्यवस्था पनि विधेयकमा राखिएको छ ।

विधेयक अनुसार नवजात शिशु, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्तलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नु उसको संरक्षक तथा अभिभावकको कर्तव्य हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ