arrow

मोहनविक्रम र नारायणमानलाई प्रचण्डको व्यंग्य, ‘वौद्ध भिक्षु जस्तो सँधै एउटै पार्टीमा’ 

संयुक्तसँग पार्टी एकता : माओवादी केन्द्रमा ३ सांसद थपिए 

logo
प्रकाशित २०७४ असोज २५ बुधबार
maobadi3.jpg

काठमाडौं। माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता भएको छ। वुधबार दिउँसो बानेश्वरमा पार्टी एकता घोषणासभा भएको हो। पार्टी एकताको संयुक्त वक्तव्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा संयुक्तका अध्यक्ष गणेश साहले हस्ताक्षर गरेका छन्।

पार्टी एकता कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले कम्युनिष्टहरुको बृहत् एकता र ध्रुवीकरणमार्फत् नेपालमा सामाजवादी क्रान्ति सम्पन्न गर्ने र विश्व सर्वहारा वर्गलाई नयाँ सन्देश दिने जिम्मेवारी नेपालका कम्युनिष्टहरुको काँधमा आएको बताए । 

अध्यक्ष दाहालले भने, ‘हामीले एकता र ध्रुवीकरणको नयाँ प्रक्रिया आरम्भ गरेका छौं, यो हाम्रा लागि निकै खुसीको कुरा हो । हामी कम्युनिष्टहरुको एकता र ध्रुवीकरणमार्फत् नेपालमा समाजवादी क्रान्ति र विश्व सर्वहारा वर्गलाई नयाँ सन्देश दिने ठाउँमा छौं, त्यो जिम्मेवारी हामीले पुरा गर्नैपर्छ।’ ‘माओवादीले कहिल्यै पनि घिसेपिटे तरीकाले सोचेन, एउटा नयाँ सोंच र क्रमभङ्गका रुपमा हामी अहिलेको ठाउँमा आइपुगेका छौं’, अध्यक्ष दाहालले भनेका छन्। 

मोहनविक्र सिंह र नारायणमान विजुक्छेतर्फ संकेत गर्दै दाहालले भने, ‘कतिपय कम्युनिष्ट नेता र अग्रजहरु मन्दिरमा घण्टी बजाएझैं एकै ठाउँमा बसिरहनु भएको छ, हामीले त्यसो गरेनौं । निरन्तरतामा क्रमभङ्ग गरेर मात्र क्रान्ति अगाडि बढ्छ, समाज अघि बढ्छ, हामीले त्यही क्रमभङ्गलाई आत्मसात गरेका छौं, नयाँ पार्टी बनाएर, क्रान्तिको नयाँ सिद्धान्त विकसित गरेर समाजवादी क्रान्ति गर्ने सोचका साथ फेरी निरन्तरतामा क्रमभङ्ग गरेका छौं।’

उनले अगाडि भने, ‘मेरा कतिपय गुरुहरु मध्ये अहिले पनि उहिलेकै पार्टीमा हुनुहुन्छ  । २१ सालकै पार्टीमा । उहाँहरु वौद्ध भिक्षु जस्तो घण्टी बजाइराख्नुभाछ । न समाजमा कुनै परिवर्तन छ, न जीवनको कुनै आवेग छ, न कुनै आक्रोश छ । उहाँ चलिराख्नु भाको छ, चलिराख्नु भाको छ ।’

एकता कार्यक्रममा नेकपा संयुक्तका अध्यक्ष गणेश साहले शान्तिपूर्ण राजनीतिक परिवर्तनमा अगाडि बढेको पार्टी क्रान्तिकारी विद्रोहको नेतृत्व गरेको पार्टीसँग एकता हुँदा कम्युनिष्ट आन्दोलनमा नयाँ गति पैदा हुने बताए।  कार्यक्रममा माओवादी केन्द्रका नेता अमिक शेरचन, दीनानाथ शर्मा, नेकपा संयुक्तका नेता सुनिल मानन्धर लगायतले बोले। एकतासँगै नेकपा संयुक्तमा रहेका तीन सांसद पनि माओवादी केन्द्रमा ध्रुवीकृत भएका छन्।

एकता कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४०० जना नेता, कार्यकर्ता समेत माओवादी केन्द्रमा प्रवेश गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ