arrow

एनआरएनएका उपाध्यक्षका प्रत्यासीहरुको प्रतिबद्धता,‘नेपालको विकास र समृद्धिको लागि लगानी बढाउँछौं’

logo
प्रकाशित २०७४ असोज २५ बुधबार
nrn-vc-candidate.jpg

काठमाडौं। गैर–आवासीय नेपाली संघ(एनआरएनए) को आठौं विश्व सम्मेलनको चुनावी सरगर्मी बढेसँगै विभिन्न पदका प्रत्यासी उम्मेद्धवारहरुले आ–आफ्नो जीतको दाबी प्रस्तुत गरेका छन्। 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्षका प्रत्यासी कुमार पन्तले संघले नेपालको विकासमा महत्वपर्ण टेवा पुर्याएको भन्दै आगामी दिनमा पनि सरकारसँग सहकार्य गरेर मुलुक र जनताको समृद्धिको लागि अघि बढ्ने प्रतिबद्धता जनाए। 

पन्तले संघको सामूहिक तथा प्रत्यक्ष लगानीमा हाईड्रोपावर, भुकम्पपछिको पुर्ननिर्माण, बाढि पहिरो लगायतका प्राकृतिक विपद्मा समेत आफूहरुले प्रत्यक्ष सहभागिता जनाएको उल्लेख गर्दै आगामी दिनमा समेत मातृभुमिको लागि आफूहरुको भूमिका सहयोग र सद्भावमा कुनै कमी नआउने विश्वास दिलाए। 

उनले मुलुक समृद्ध भए खुशी लाग्ने तर व्यक्ति धनी भएर राष्ट्र गरिब हुनु दुःखलाग्दो कुरा भएकोले अब आफूहरु मुलुकलाई धनी बनाउने महान अभियानमा होमिएको जनाए। 

त्यस्तै उपाध्यक्षकै प्रत्यासी कुल आचार्यले संघलाई राजनीतिक दलको रुपमा लिनको लागि सरकारसँग आग्रह गरेका छन्। उनले भने,‘हाम्रो संघ भनेको एउटा शक्ति हो, तर यहाँ कुनै विवादहरु छैनन्, चुनावको बेलामा केही विचारहरुको जन्म हुन्छ, र स्वस्थ प्रतिष्पर्धा पनि हुन्छ, तर संस्थालाई भिजन २०–२० भित्रै मुलुकलाई पूर्ण समृद्धिको लागि उभ्याएर छाड्छौं, यो हाम्रो अभियान हो।’ आचार्य लगानी तथा प्रर्वद्धक टास्कफोर्सको संयोजक हुन्।

त्यस्तै महिलातर्फकी उपाध्यक्षकी प्रत्यासी रञ्जु वाग्ले थापाले पनि संस्थाको बृहत्त हितको लागि महिलाहरुको पनि माथिल्लो निकायमा उपस्थिति हुनुपर्ने देखेकोले आफ्नो उम्मेद्धवारी उपाध्यक्षमा रहेको स्पष्ट पारिन्।

उनले रोलक्रम र अनुभवका आधारमा पनि अन्य उपाध्यक्षका प्रत्यासीहरुको तुलनामा आफू योग्य र सक्षम उम्मेद्धवार भएको दाबी गर्दै आफ्नो जीत सुनिश्चित रहेको समेत दाबी गरिन्। भिजन २०–२० प्रति अहिले आईरहेका विभिन्न टिकाटिप्पणीहरुलाई आफूहरुले सहज रुपमा लिएको बताउँदै यसले संस्थाको बृहत्त हित र मुलुकको समृद्धिको लागि टेवा पुग्ने बताईन्।

त्यस्तै उपाध्यक्षकै अर्का प्रत्यासी चिरञ्जिवी थापाले अहिले संस्था मनोमानी ढंगले चलिरहेको आरोप लगाए । उनले भने,‘पछिल्ला दिनमा एनआरएन मनोमानी ढंगले चलिरहेको हामीलाई भान भएको छ, यो अत्यन्तै गलत र दुःखदायी कुरा हो, हामी युवाहरु अब संस्थाको नेतृत्वमा आउनुपर्छ।’ उनले आफू यो मुभमेन्टको सुरुवाती दिनदेखि नै सक्रिय रुपमा सहभागी हुँदै आएकोले संस्थाको हित र मुलुकको हितमा उल्लेखनीय टेवा पुर्याउने संघ बनाउनको लागि आफ्नो उपाध्यक्षमा उम्मेद्धवारी रहेको स्पष्ट पारे।

थापाले विगतमा एनआरएनएको नेतृत्व चुकेको गुनासो पोख्दै भने,‘एनआरएनए वास्तवमा भन्नुहुन्छ भने यो प्रहरीको जागिरजस्तो भएको छ, यसमा नेतृत्व बदलिने प्रवृत्ति जो छ, यो ठिक छैन, यसले गर्दा संस्थाले लिएका दिर्घकालिन लक्ष्यहरु पूरा हुँदैनन्।’ अब संस्थाको नेतृत्वमा नयाँ तथा युवाहरु आउनुपर्नेमा जोड दिए। 

त्यस्तै गैर–आवासीय नेपाली संघ जापानका पूर्व अध्यक्ष तथा गैर–आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका केन्द्रिय सदस्य एवम् संघको ग्लोबल सम्मेलनमा एसिया प्यासिफिकको उप–संयोजकका प्रत्यासी पारसमणि पोखरेलले संघ माटोको माया भएको बताए। 

उनले भने,‘एनआरएनए माटोको माया हो, हामी देश बाहिर भएपनि हाम्रो मन नेपालमै छ, मुलुकले भोग्नु परेका अप्ठ््याराहरुमा पनि हाम्रो संघले मल्हम लगाउने काम गरेको छ।’ उनले युवाहरुको जोश, जाँगर र सिपलाई मुलुकको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए। उनले भने,‘एनआरएनका साथीहरु अहिले मुलुकको विकासमा टेवा पुर्याउनको लागि सक्रिय भएर लागिपरिरहनुभएको छ।’

त्यस्तै कार्यक्रममा युरोप क्षेत्रिय संयोजक गंगाधर गौतमले आफूसँग व्यक्तिगत स्वार्थ केही पनि नभएको उल्लेख गर्दै संस्थाको हितको लागि आफ्नो उम्मेद्धवारी रहने दाबी गरे। उनले भने,‘म र मेरो होईन कि हामी र हाम्रो भावनाको साथ संस्थालाई अघि बढाउनुपर्छ।’ कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले गैर–आवासीय नेपाली संघलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए। उनले भने,‘एनआरएनए पछिल्लो समय नेपाल र नेपालीहरुको मनमा बस्न सफल भएको छ, त्यसैले यसलाई समय सापेक्ष बनाउनुपर्छ।’

अन्तराष्ट्रिय सम्मेलनका लागि विश्वभर रहेका महाधिवेशन प्रतिनिधिहरु राजधानी ओर्लिसकेका छन्। आगामी चुनावी समिकरणका विषयमा प्रतिनिधीहरु बीच बहस र वार्ता शुरु भएको छ। आगामी नेतृत्वका लागि आफ्नो पक्षमा रिझाउन कोठे बैठकहरु पनि शुरु भएको छ। 

७७ देशमा शाखा रहेको एनआरएनको मुख्य नेतृत्वको लागि दुई जनाले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। असोजको २८ देखि ३१ एनआरएनको ’कुम्भ मेला’ हुँदैछ। दुई कार्यकाल उपाध्यक्षको पदमा भूमिका निर्वाह गरेका भवन भट्ट आठौं विश्व सम्मेलनका लागि अध्यक्ष पदका उम्मेद्धवारी दिईसकेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ