लौ बन्यो उर्लाबारीबाट मधुमल्ला हुँदै रविसम्म जोड्ने सडकखण्ड, बसमै सरर

प्रकाशित मिति : २०७४ असोज २६ बिहिबार

उर्लाबारी । पूर्वी नेपालको समृद्धिसँग जोडिएको मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रविसम्म जोड्ने सडकखण्डमा गाडी सञ्चालन हुन थालेको छ । 

बुधबार उर्लाबारीबाट को १ च ५४५७ नंको एम्बुलेन्स बिरामी बोकेर सो सडकखण्ड भएर इलामको चुलाचुली गाउँपालिका–६ स्थित फुङ्नाम पुगेको हो । 

चालक सोही ठाउँका २२ वर्षीय नवीन श्रेष्ठले पहिलोपटक गाउँमा गाडी पुर्याएका हुन् । 

सो गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीयवासीसँगै जनप्रतिनिधिले चालकलाई भव्यरुपमा पैसा र फूलको माला लगाएर स्वागत एवं सम्मान गरेका थिए । 

प्रतापसिंह लामा स्मृति प्रतिष्ठान, मधुमल्लाद्वारा सञ्चालित एम्बुलेन्स लिएर चालक श्रेष्ठ गाउँ पुगेका थिए । आफूहरुको गाउँमा पहिलोपटक गाडी आइपुग्दा स्थानीयवासी निकै हर्षित भएको चुलाचुली गाउँपालिका–६ का वडा सदस्य प्रकाशचन्द्र श्रेष्ठले बताए । 

श्रेष्ठले भने, “गाउँमा सडक नहुँदा यहाँका बिरामीलाई डोकोमा बोकेर तराईका अस्पतालसम्म पुर्याउनु पर्ने बाध्यता थियो तर अब गाउँमै गाडी आउन थालेपछि नयाँ जीवन नै शुरु भएजस्तो अनुभव भएको छ ।” 

सडक निर्माणकार्य पूर्णरुपमा सम्पन्न नभए पनि गाडी सञ्चालन गर्ने अवस्था भने रहेको सडक निर्माण दबाब समितिका संयोजक एवं स्थानीय समाजसेवी मानबहादुर श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार सो सडकखण्डको सिस्ने र तिनचुले भन्ने स्थानको सडक घुम्ती अझै मर्मत गर्नुपर्ने अवस्था रहेको छ । गाउँमा गाडी पुगेपछि अब गाउँमा उत्पादित कृषिजन्य सामग्री तराईका बजारसम्म आउने भएपछि स्थानीयवासी हर्षित भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक श्रेष्ठले बताए । 

विसं २०२८ मा तत्कालीन शिक्षामन्त्री नगेन्द्र प्रधानले सो सडक निर्माणको शीलान्यास गरेका थिए । उर्लाबारीबाट पाँचथरको रविसम्मको यो सडक जम्मा ५२ किलोमिटर मात्र रहेको छ । 

उर्लाबारी–मधुमल्ला–रवि सडकखण्ड तराईलाई पूर्वी पहाडसँग जोड्ने सबैभन्दा छोटो द्रुत मार्ग बन्न पुगेको छ । अनेकौँ विवाद र लामो समयपछि सो सडकखण्डमा यातायातका साधन सञ्चालन हुन थालेपछि पहाडी जिल्ला इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका बासिन्दालाई तराई झर्न सहज भएको छ । 

यो सडकखण्डमा गत जेठदेखि नै मोटरसाइकल सञ्चालन हुन थालेपनि गाडी भने बुधबार मात्र पहिलोपटक सञ्चालन भएको हो । 

तराईबाट एउटा पनि पुल निर्माण नगरी सहजै पहाडी जिल्लाको यात्रा गर्ने एकमात्र मार्ग भएकाले पूर्वी नेपालको समृद्धिका लागि निकै सहयोग पुर्याउने मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । 

नेपाल सरकारको आर्थिक सहयोगमा निर्मित सो सडकखण्ड पाँचथर र इलामको सिमाना राँके हुँदै मेची राजमार्गसँग पनि जोडिनेछ । 

नयाँ