arrow

 संसद्को अन्तिम बैठक बस्दै

logo
प्रकाशित २०७४ असोज २८ शनिबार
Nepal-Parliament-October9.jpg.jpeg

काठमाडौं । संविधान सभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक शनिबार बस्दैछ । 

संसद्को अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक तस्वीर खिचाउने कार्यक्रम रहेको र त्यसपछि अपराह्न ३ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । 

बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले विदाई सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्ने सचिवालयका प्रवक्ता डा भरतराज गौतमले  जानकारी दिए । समापन समारोहका लागि आजै सभामुख घर्तीले संसद् परिसरमा रात्रिभोजको आयोजना गरेकी छन् । 

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भोलि आइतबार समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुने निर्वाचन तालिका भएकाले त्यसको अघिल्लो दिन आज राति १२ बजेदेखि नै संसद्को अवधि सकिन लागेको हो । 

विसं २०७० माघ ८ गतेदेखि शुरु भएको संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गरेपछि सोही दिनदेखि संविधानसभा व्यवस्थापिका–संसद्मा रुपान्तरित भएको हो । 

संसद्ले यस अवधिमा महत्वपूर्ण विधेयक पारित गर्नुका साथै महाअभियोगजस्ता नयाँ अनुभवसमेत गर्नुपर्यो । संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान कार्की र सर्वाच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भए पनि त्यस सम्बन्धमा छलफल प्रक्रिया अघि बढ्न सकेन । 

संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा बढी ध्यान केन्द्रित गर्नुपरेको संसद्ले अन्तिम समयमा दलहरुबीच सहमति नभएपछि ‘राष्ट्रिय सभा सम्बन्धी विधेयक’ जस्तो महत्वपूर्ण विधेयक र जनचासोको महत्वपूर्ण विधेयक ‘चिकित्सा शिक्षा विधेयक’ भने पारित गर्न सकेन । 

संविधानको भाग–३३ संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९६ मा रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल २०७४ माघ ७ गतेसम्म कायम रहने उल्लेख छ । 

सोही धाराको प्रतिबन्धात्मक प्रावधानमा त्यस्तो कार्यकाल पूरा हुनुअगावै संविधानबमोजिमको प्रतिनिधिसभाको निर्वाचन हुने भएमा त्यस्तो निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म संसद् कायम रहने प्रावधान उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ