arrow

विवेकशील साझा पार्टीले छान्यो पाँच ठाउँका उम्मेदवार, को कस्ता ?

logo
प्रकाशित २०७४ असोज २८ शनिबार
candidates_1-01.jpg

काठमाडौं । विवेकशील साझा पार्टीकातर्फबाट संयोजकद्वय रवीन्द्र मिश्र र उज्वलबहादुर थापासहित अन्य चार जनाको केहि दिनअघि काठमाडौंका विभिन्न क्षेत्रमा गरिएको उमेदवारी घोषणाप्रति स्वदेश तथा विदेशबाटसमेत प्राप्त सकारात्मक प्रतिकृयाबाट हामी निकै उत्साहित भएका छौं ।  यसबाट आम नेपाली मतदाताले हाम्रो पार्टीलाई एक मात्र भरपर्दो वैकल्पिक राजनीतिक दलको रूपमा लिएको थप पुष्टी भएको हामीलाई लागेको छ । 

यसैक्रममा हाम्रो पार्टीले दोस्रो चरणमा भक्तपुर, चितवन, लमजुंग, दोलखा जिल्लाबाट संघीय प्रतिनिधिसभा सदस्यको लागी प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको छ। र, अन्य उमेदवारहरु पनि क्रमश: घोषणा गर्दै जाने पार्टीको नीति छ। यस पटकको चुनावमा राष्ट्रिय पार्टी बन्ने र अर्को पटक देशको नेतृत्व गर्ने लक्ष्य लिएको विवेकशील साझाका थप उमेदवारहरूको परिचय यस प्रकार छ -

शशी विक्रम कार्की, भक्तपुर क्षेत्र नं २  

कार्की विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हुन् । तत्कालिन विवेकशील नेपाली दलमा आवद्ध भई राजनीतिक यात्रा सुरु गरेका ३४ वर्षीय कार्की विद्यालय अध्ययनको बेलादेखिनै विभिन्न सामाजिक अभियानहरुमा संलग्न हुँदै आएका छन् । 

उनी  भ्रष्टाचारबिरोधि अभियन्ता हुन् । चिकित्सा शिक्षा सुधारका पक्षमा डा. गोविन्द केसीको अभियानमा सक्रिय कार्कीले “पुनर्निर्माण कहाँ पुग्यो सरकार”, “सूचनाको हकको प्रयोग”, “धुलोमाडौँ कि काठमाडौँ” जस्ता अभियानको नेतृत्व गर्दै आएका छन् । 

व्यवस्थापनमा स्नातकोत्तर कार्कीले फ्रान्समा अन्तर्राष्ट्रिय व्यवस्थापनको अध्ययन गरेका छन् । पेशाले फ्रेन्च भाषाका शिक्षक रहेका उनी ट्रेकिङ तथा टुर गाइड पनि हुन् । सुसंस्कृत राजनीतिको माध्यमबाट शान्त र समृद्ध नेपाल हाम्रै जीवनकालमा स्थापना गर्न सकिने मान्यता राखी राजनीतिमा आएका हुन् ।  

भुपेन्द्र बस्नेत, चितवन क्षेत्र नं २ 
चितवनका बस्नेतले मानवशास्त्रमा स्नातकोत्तर गरेका छन। नेपाल वातावरण पत्रकार समूहका पूर्व महासचिव बस्नेतले नेपाल टेलिभिजन, च्यानल नेपाल, ईमेज च्यानल टेलिभिजन, रेडियो सगरमाथा र स्पेश टाईम दैनिक लगायत  सञ्चार माध्यममा दुई दशक बढी नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। 

झण्डै एक दशकयता चितवनलाई कर्म क्षेत्र बनाई सञ्चार, उद्योग तथा समाज सेवामा सक्रिय बस्नेतले मिलनसार समाजसेवी छवि वनाएका छन्। उपभोक्ता हित संरक्षण मन्चका उपाध्यक्ष समेत रहेका बस्नेतले निर्देशन गरेको भिडियो रिपोर्ट अन्तर्राष्ट्रिय रुपमा समेत पुरस्कृत छन । १ दर्जन वढी विकसित मुलुकको अध्ययन भ्रमण गरिसकेका बस्नेत भ्रष्टाचार विरोधी अभियानकर्ता समेत हुन्।

शरदराज पाठक, चितवन क्षेत्र नं ३ 

चितवनका ३६ वर्षीय पाठकले ग्रामिण विकासमा स्नातकोत्तर गरेका छन्l राष्ट्रिय मिडिया कान्तिपुर र अन्नपूर्ण रेडियोमा सम्पादकीय नेतृत्व निर्वाह गरिसकेका पाठकले समाजसेवीको  छवि समेत बनाएका छन् ।

पत्रकारितामार्फत भ्रष्टाचार र राजनीतिकर्मीको संरक्षणमा हुने अपराधबिरुद्ध आवाज उठाउंदै आएका पाठक सुसंकृत राजनीतिबिना देशको मुहार फेर्न नसकिने विश्वासका साथ विवेकशील साझा पार्टीमा आवद्ध छन । पाठकका पिता गोपालराज पाठकको २०४२ सालमा सिराहा प्रहरी प्रमुख रहेका बेला कार्यकक्षमै गोली हानी हत्या भएको थियो। इमान्दार र कर्तव्यनिष्ठ प्रहरी अधिकृत उनका पिताको प्रहरी संगठनमा राम्रो छवि थियो। त्यतिबेला शरदराज मात्र ४ वर्षका थिए ।

अपराधिहरुलाई राजनीतिक संरक्षण प्राप्त भएका कारण आफ्ना पिताको हत्याराले उन्मुक्ति पाएको पाठकको विश्वास छ । राजनीतिलाई अपराधीकरणबाट मुक्त गर्न ईमान्दार र सक्षम नेतृत्व राजनीतिमा आउनुपर्ने भन्दै पाठकले आफ्नो उम्मेदवारी दिएका हुन्l उनले अष्ट्रेलिया, न्यूजिल्याण्ड, सिंगापुर, थाइल्याण्ड, भारत लगायत मुलुकको विकासको प्रत्यक्ष अवलोकन गरेका छन्।

निर्देश सिलवाल, लमजुङ्ग

दलगत विद्यार्थी सङ्गठनको विकल्पमा त्रिभुवन विश्वविद्यालयमा विभिन्न अभियान चलाएका २७ वर्षीय सिलवाल त्रि.वि.सेमेस्टर विद्यार्थी समाजको संयोजक भएर नेतृत्व गरेका थिए। 
माल्मो विश्वविद्यालय स्विडेनवाट अन्तराष्ट्रिय सम्वन्धमा स्नातक सिलवालले त्रि.वि.बाट राजनीतिशास्त्रमा सर्वोत्कृष्ट ग्रेड ल्याएर स्नातकोत्तर गरेका छन्। राजनीतिशास्त्रको अध्यापन गरिरहेका सिलवाल प्राज्ञिक अनुसन्धानमा समेत दख्खल राख्छन्। 

विभिन्न सामाजिक तथा राजनीतिक अभियानको नेतृत्वकर्ता सिलवाल अब पनि सचेत युवाले राजनीतिमा हस्तक्षेप नगर्ने हो भने, मुलुक झन पछि पर्ने विश्वास व्यक्त गर्दछन। लमजुङ्गमा जन्मेका—हुर्केका सिलवाल समृद्घ लमजुङ्गको खाका सहित सक्षम यूवा नेतृत्व दिन अघि आएका छन्। 

विजयबाबु शिवाकोटी, दोलखा 

भ्रस्टाचार बिरोधि अभियान र समाज सेवामा डेढ दशकयता सक्रिय विजयबाबु शिवाकोटीले बुढानीलकण्ठ माध्यमिक विद्यालयबाट ए-लेभलसम्मको अध्ययन सम्पन्न गरी त्रि-चन्द्र कलेजमा स्नातक तह अध्ययन गरेका छन्l सानै उमेरदेखि सामाजिक काममा रुचि राख्ने ३२ बर्षिय शिवाकोटी सही नियत भएको सक्षम राजनीतिक नेतृत्व स्थापना गरी दोलखा जिल्लाका प्रचुर सम्भावनाबाट आम नागरिकको तहसम्म लाभ वितरण गर्न सकिने विश्वास राख्छन् । 

लोकतन्त्र वहालीको आन्दोलनमा सक्रियतापुर्वक लागेका उनि डा गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियानमा पनि उत्तिकै सक्रिय छन्। 
 
‘हाम्रा होइन राम्रा’ नागरिकहरू नेतृत्वमा पुगुन् भन्ने उद्देश्यका साथ पार्टीको मूल्य-मान्यतासँग सामिप्यता राख्ने र विवेकशील साझाको उम्मेदवार बन्न इच्छुक नेपाली नागरीकहरूल पार्टीमा सम्पर्क गर्न आह्वान पनि गरिएको छ। सर्वविदितै छ, चार वर्षअघि स्थापित विवेकशील नेपाली दल र ७ महिनाअघि स्थापित साझा पार्टीको बीचमा एकिकरण भइ विवेकशील साझा पार्टीको रुपमा पार्टी क्रियाशील रहँदै आएको छ। एकिकरणपछि पार्टीले चुनाव चिन्ह ‘तराजु’ प्राप्त गरेको छ भने मुख्य चुनावी नारा ‘अबको आशा: विवेकशील साझा’ तय गरेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ