arrow

फर्केर हेर्दा रुपान्तरित संसद्को पहिलो बैठक, के के भएको थियो ? (पूर्ण विवरण)

logo
प्रकाशित २०७४ असोज २८ शनिबार
parliament_meeting.jpg

काठमाडौं । शनिबार रुपान्तरित संसद्को अन्तिम बैठक चलिरहेको छ । नेपालमा संविधान बनेपछि संविधान सभाबाट व्यवस्थापिका संसद्मा रुपान्तरण भएको संसद्को पहिलो बैठकमा के के भएको थियो त ? यो धेरैलाई चासो हुनसक्छ भनेर हामीले प्रस्तुत गरेका छौं । रुपान्तरित संसद्को पहिलो बैठक तत्कालीन सभामुख सुवास चन्द्र नेम्वाङले गरेका थिए भने अहिले अन्तिम बैठक सभामुख ओनसरी घर्तीले गरिरहेकी छिन् । 

व्यवस्थापिका–संसदको पहिलो अधिवेशनको पहिलो बैठक तत्कालीन सभामुख सुवास चन्द्र नेम्वाङ्गको अध्यक्षतामा २०७२ साल असोज १५ गते दिनको १ :३० बजे प्रारम्भ भएको थियो । सर्वप्रथम सभामुख नेम्वाङले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आव्हान सम्बन्धी पत्रको व्यहोरा पढेर संसद् बैठकको सुरुवात गरेका थिए । 
त्यो पत्रको व्यहोरा यस्तो :

नेपालको संविधानको धारा २९६ को उपधारा (६) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिशमा संवत् २०७२ साल असोज १५ गते शुक्रवारका दिन अपरान्ह १ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ वानेश्वरमा व्यवस्थापिका–संसदको अधिवेशन आव्हान गरेको छु ।

डा. रामवरण यादव
राष्ट्रपति
मिति :– २०७२/०६/०८ 

त्यसपछि लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्न सभाले २ मिनेट मौन धारण गरेको थियो । त्यसपछि सभामुख नेम्वाङले सभाको अधिवेशनको पहिलो बैठकमा आएका सबै संसद् सदस्यहरुलाई हार्दिक स्वागत गरेका थिए ।

त्यससँगै बैठक अपरान्ह ५ बजेसम्मको लागि स्थगित भएको थियो । सोही दिनको दोस्रो बैठक तोकिएको समयभन्दा ४५ मिनेट पछाडि सभामुख सुवास चन्द्र नेम्वाङ्गको अध्यक्षतामा अपरान्ह ५ : ४५ बजे प्रारम्भ भएको थियो ।

बैठक सुरु भएसँगै सर्वप्रथम तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण सम्पन्न गर्न योगदान गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै संविधानको विद्यमान व्यवस्था र आफ्नो सार्वजनिक प्रतिवद्धता अनुरुप नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन राष्ट्रपति समक्ष आजै अनुरोध गर्न जानेछु भन्दै सार्वजनिक महत्वको वक्तव्य दिएका थिए ।

त्यसपछि सभामुखले व्यवस्थापिका–संसदको कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र अन्य कार्य नियमित गर्न अर्को व्यवस्था नभएसम्मको लागि “व्यवस्थापिका–संसदको अन्तरिम कार्यविधि, २०७२” लाई पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो ।

त्यसपछि सभामुख नेम्वाङले व्यवस्थापिका–संसदको अन्तरिम कार्यविधि, २०७२ को दफा ५ को उपदफा (२) बमोजिम सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न निम्नलिखित सदस्यहरुको नाम मनोनयन गरेको व्यहोरा जानकारी गराएका थिए ।
 
मानबहादुर विश्वकर्मा
सुशिला नेपाल
प्रतिक्षा तिवारी मुखिया
रामकुमार सुब्बा 

त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त निम्नलिखित पत्रको व्यहोरा पढेर सुनाएका थिए । राष्ट्रपति डा रामवरण यादवबाट नेपालको संविधानको धारा ११३ को उपधारा 
(२) बमोजिम प्रमाणिकरण भएको देहाय बमोजिमका ऐनहरुको प्रमाणीकृत प्रतिहरु पठाएका थिए ।
 
सि.नं.    विवरण    प्रमाणीकरण मिति
१.    विनियोजन ऐन, २०७२    २०७२/०६/१४
२.    आर्थिक ऐन, २०७२    २०७२/०६/१४
३.    राष्ट्र ऋण उठाउने ऐन, २०७२    २०७२/०६/१४
४.    लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२    २०७२/०६/१४
५.    केही नेपाल कानून संशोधन तथा खारेज गर्ने ऐन, २०७२    २०७२/०६/१४
६.    भूमि सम्बन्धी (छैठौं संशोधन) ऐन, २०७२    २०७२/०६/१४

(भूपेन्द्रप्रसाद पौड्याल)
निमित्त सचिव
मिति : २०७२/०६/१४    

त्यसपछि सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निम्नलिखित पत्रहरुको व्यहोरा पढेर सुनाएका थिए ।

(क) मौजुदा मन्त्रिपरिषद्का युवा तथा खेलकूद मन्त्री पुरुषोत्तम पौडेलले नेपालको संविधानको धारा २९८ को उपधारा (९) को खण्ड (क) बमोजिम राजीनामा दिनु भएकोले सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाले निजले सम्हाल्दै आउनु भएको युवा तथा खेलकुद मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री एवं गृह र कृषि विकासमन्त्री वामदेव गौतमले सम्हाल्ने गरी तोक्नुभएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु ।
(डा० सोमलाल सुवेदी)
मुख्य सचिव
मिति :– २०७२/०६/१४    

(ख) मौजुदा मन्त्रिपरिषद्का ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीलाई नेपालको संविधानको धारा २९८ को उपधारा (९) को खण्ड (ग) बमोजिम पदमुक्त गरिएकोले निजले सम्हाल्दै आउनु भएको ऊर्जा मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाले उपप्रधानमन्त्री एवं गृह र कृषि विकासमन्त्री वामदेव गौतमले सम्हाल्ने गरी तोक्नुभएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु ।
(डा० सोमलाल सुवेदी)
मुख्य सचिव
मिति :– २०७२/०६/१४    

यो पत्र सुनाएसँगै संसद् बैठक २०७२ साल असार १७ गते आइतवार दिनको १ बजेसम्मको लागि स्थगित भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ