arrow

ओली, प्रचण्ड र देउवा प्रधानमन्त्री बन्दा के-के भएथ्यो संसदभित्र ? (पूर्ण विवरण)

logo
प्रकाशित २०७४ असोज २८ शनिबार
KP-oli-Prachanda-Shre-bdr-deuwa.jpeg

काठमाडौं । ३ जना प्रधानमन्त्री दिएको रुपान्तरित संसद्को आयू शनिबार सकिँदै छ । शनिबार विशेष बैठकमा उपस्थित भएका सांसद्हरुले नै यो संसद्को अन्तिम बैठकमा सहभागी भए । तर हामीले केही पुराना संसद्का गतिविधिहरुलाई उतार्ने प्रयास गरेका छौं । मुख्य दलका प्रमुख नेताहरु यही रुपान्तरित संसद् पछि प्रधानमन्त्री भए । उनीहरुको कार्यकालमा के कस्ता काम भए भनेर चर्चा नगरौं । बरु उनीहरुलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा कस्तो थियो संसद्को अवस्था भन्ने विषयमा भने हामीले केही चर्चा गर्ने प्रयास गरेका छौं । 

रुपान्तरित संसद्ले पहिलो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गर्यो । नेकपा माओवादी केन्द्रको समेत समर्थन पाएका ओलीले नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई पराजीत गरेका थिए । ओली निर्वाचित हुँदाको दिनको संसद् बैठक के कस्तो थियो हामीले तल प्रस्तुत गरेका छौं । 

केपी ओली २०७२ साल असोज २४ गते निर्वाचित भएका हुन् । सो दिनको बैठक सभामुख सुवास चन्द्र नेम्वाङ्गको अध्यक्षतामा दिनको १२ः३० बजे प्रारम्भ भएको थियो । सो बैठकमा सर्वप्रथम सभामुख नेम्वाङले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए । सो दिन राष्ट्रपति कार्यालयबाट आएको पत्रको व्यहोरा यस्तो थियो । 

सम्माननीय राष्ट्रपति डा रामवरण यादव समक्ष सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाले आजैका मितिदेखि लागु हुने गरी नेपालको संविधानको धारा २९८ बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजीनामा दिनु भएकोले सोही धाराको उपधारा (१०) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने छ । साथै वर्तमान मन्त्रिपरिषद्द्वारा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यप्रति सम्माननीय राष्ट्रपतिद्वारा सम्माननीय प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरुप्रति धन्यवाद व्यक्त गर्नुभएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु ।
(भूपेन्द्रप्रसाद पौड्याल)
निमित्त सचिव
मिति:– २०७२/०६/२३    

तत्पश्चात सभामुख नेम्वाङले डा बाबुराम भट्टराईले व्यवस्थापिका–संसदको सदस्य पदबाट सभामुख समक्ष दिएको निम्नलिखित राजीनामा पत्रको व्यहोरा पढेर सुनाए ।

विषयः– राजीनामा ।
म एकिकृत नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) को तर्फबाट गोरखा क्षेत्र नं. १ वाट निर्वाचित भै व्यवस्थापिका–संसदको सदस्य रहि आएकोमा मैले सो पार्टी परित्याग गरेकाले व्यवस्थापिका–संसदको सदस्यबाट राजीनामा गर्दछु ।
धन्यवाद ।

(डा बाबुराम भट्टराई)
सदस्य, व्यवस्थापिका–संसद
मिति :– २०७२।६।२४    

त्यसपछि सम्माननीय सभामुखले व्यवस्थापिका–संसदको अन्तरिम कार्यविधि, २०७२ को दफा १९ को उपदफा (३) बमोजिम प्रधानमन्त्री पदको निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारीको सूचना पेश गर्ने समयावधि भित्र नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भन्ने दुईवटा उम्मेदवारीको सूचनाहरु प्राप्त हुन आएको व्यहोरा माननीय सदस्यहरुलाई जानकारी गराए । 

तदुपरान्त नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी आफ्नो उम्मेदवारीको सूचना दिएका के.पी. शर्मा ओलीले व्यवस्थापिका–संसदको अन्तरिम कार्यविधि, २०७२ को दफा १९ को उपदफा (३) बमोजिम उक्त उम्मेदवारीको सूचना प्रस्तुत गरेका थिए ।

तत्पश्चात उक्त उम्मेदवारीको सूचनामा प्रस्तावक रहेका पुष्पकमल दाहाल (प्रचण्ड)ले उक्त उम्मेदवारीको सूचनाको प्रस्ताव गरेका थिए । त्यसपछि उक्त उम्मेदवारीको सूचनाका मूल समर्थक कमल थापाले उक्त उम्मेदवारीको सूचनाको समर्थन गरेका थिए । तदुपरान्त उक्त उम्मेदवारीको सूचनाका निम्नलिखित समर्थक सदस्यहरुले उक्त उम्मेदवारीको सूचनाको समर्थन गरे :–
 
दिपक बोहरा
चन्द्रप्रकाश (सी.पी.) मैनाली 
विश्वेन्द्र पासवान 
अतहर कमाल मुसलमान 
शिवलाल थापा 
प्रेमबहादुर सिंह 
चित्रबहादुर के.सी. 
लक्ष्मण राजवंशी 
एकनाथ ढकाल 
मेघराज नेपाली (निषाद) 
जयदेव जोशी
 
तत्पश्चात नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी आफ्नो उम्मेदवारीको सूचना दिएका शुशिल कोइरालाले व्यवस्थापिका–संसदको अन्तरिम कार्यविधि, २०७२ को दफा १९ को उपदफा (३) बमोजिम उक्त उम्मेदवारीको सूचना प्रस्तुत गरे । त्यसपछि उक्त उम्मेदवारीको सूचनामा प्रस्तावक रहेका शेरबहादुर देउवाले उक्त उम्मेदवारीको सूचनाको प्रस्ताव गरे । तदुपरान्त उक्त उम्मेदवारीको सूचनाका समर्थक रामचन्द्र पौडेलले उक्त उम्मेदवारीको सूचनाको समर्थन गरे । तत्पश्चात नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी प्राप्त उम्मेदवारीको सूचनाहरुमाथिको संक्षिप्त छलफलमा प्रेम सुवाल र गोपाल दहितले भाग लिए ।

तदुपरान्त सभामुखले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी आफ्नो उम्मेदवारीको सूचना दिने के.पी. शर्मा ओलीलाई आफ्नो उम्मेदवारीको सूचना फिर्ता लिन समय दिँदा उनले फिर्ता नलिने जानकारी गराएका थिए । तत्पश्चात सभामुखले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी आफ्नो उम्मेदवारीको सूचना दिने शुशिल कोइरालालाई आफ्नो उम्मेदवारीको सूचना फिर्ता लिन समय दिँदा उनले फिर्ता नलिने जानकारी गराएका थिए ।

त्यसपछि सभामुखले नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवं व्यवस्थापिका–संसदको अन्तरिम कार्यविधि, २०७२ को दफा १९ को उपदफा (३) बमोजिम आफुलार्ई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी दिएको उम्मेदवारीको सूचनाहरु मध्ये व्यवस्थापिका–संसदको अन्तरिम कार्यविधि, २०७२ को दफा १९ को उपदफा (६) बमोजिम कायम रहेका सबै अर्थात् दुईवटा उम्मेदवारीका सूचनाहरुलाई सभा समक्ष एकै पटक निर्णयार्थ प्रस्तुत गरिने र उक्त उम्मेदवारीको सूचनाहरु मध्ये कुनै एउटा उम्मेदवारीको सूचना व्यवस्थापिका–संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएमा उक्त उम्मेदवार प्रधानमन्त्री पदमा निर्वाचित हुने व्यहोरा जानकारी गराए । 

त्यसपछि के.पी. शर्मा ओलीले आफुलाई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस्” भनी दिएको उम्मेदवारीको सूचना र “शुशिल कोइरालाले आफुलाई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस्” भनी दिएको उम्मेदवारीको सूचनालाई मत विभाजन गरी मत संकलन गर्दा व्यवस्थापिका–संसदमा तत्काल उपस्थित भै मतदान गर्ने सदस्यहरुको संख्या जम्मा ५८७ (पाँचसय सतासी) रहेकोमा “के.पी. शर्मा ओलीले आफुलाई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस्” भनी दिएको उम्मेदवारीको सूचनाको पक्षमा जम्मा ३३८ (तीनसय अड्तीस) मत र “शुशिल कोइरालाले आफुलाई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस्” भनी दिनुभएको उम्मेदवारीको सूचनाको पक्षमा जम्मा २४९ (दुईसय उनान्चास) मत परेकोले सभामुखले सदस्य के.पी. शर्मा ओली नेपालको संविधानको धारा २९९ को उपधारा (३) एवं व्यवस्थापिका–संसदको अन्तरिम कार्यविधि, २०७२ को दफा १९ को उपदफा (३) बमोजिम व्यवस्थापिका–संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्या ५९७ (पाँचसय सन्तान्नब्बे) को बहुमतले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित हुनु भएका घोषणा गरे ।

तत्पश्चात सम्माननीय सभामुखले व्यवस्थापिका–संसदका सदस्य के.पी. शर्मा ओली नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा व्यक्तिगत र सम्पूर्ण व्यवस्थापिका–संसदको तर्फबाट हार्दिक बधाई दिँदै उनको कार्यकाल सफल रहोस् भनी हार्दिक कामना समेत गर्दै बैठक २०७२ साल असोज २५ गते सोमवार दिनको ३ः०० बजेसम्मको लागि स्थगित गरे

प्रचण्ड प्रधानमन्त्री बन्दा 

२०७३ साल साउन १९ गतेको व्यवस्थापिका–संसदको बैठक सभामुख ओनसरी घर्तीको अध्यक्षतामा दिनको १२ः४५ बजे प्रारम्भ भएको थियो । बैठक सुरु हुनासाथ सभामुखले व्यवस्थापिका–संसद नियमावली, २०७३ को नियम ४९ को उपनियम (२) बमोजिम निर्धारित प्रधानमन्त्री पदको निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारीको सूचना पेश गर्ने समयावधि भित्र व्यवस्थापिका–संसद नियमावली, २०७३ को नियम ४९ को उपनियम (३) बमोजिम नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भन्ने एकमात्र उम्मेदवारीको सूचना प्राप्त हुन आएको व्यहोरा संसद्का सदस्यहरुलाई जानकारी गराईन् । 

त्यसपछि नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी आफ्नो उम्मेदवारीको सूचना दिने पुष्पकमल दाहाल (प्रचण्ड)ले व्यवस्थापिका–संसद नियमावली, २०७३ को नियम ४९ को उपनियम (४) बमोजिम आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गरेका थिए । तत्पश्चात उक्त उम्मेदवारीको सूचनामा प्रस्तावक रहेका शेरबहादुर देउवाले व्यवस्थापिका–संसद नियमावली, २०७३ को नियम ४९ को उपनियम (४) बमोजिम उक्त उम्मेदवारीको प्रस्ताव गरे । त्यसपछि उक्त उम्मेदवारीको सूचनाका समर्थक निम्नलिखित सदस्यहरुले उम्मेदवारीको सूचनाको समर्थन गरे ।

कृष्णबहादुर महरा 
उपेन्द्र यादव
योगेन्द्र चौधरी
परशुराम तामाङ 
जयदेव जोशी
रुकमिणी चौधरी 
प्रेमबहादुर सिंह 
हरिचरण शाह
रामकुमार राई
कुमार खड्का 
लोकमणि ढकाल
यशोदा कुमारी लामा
चन्देश्वर झा
 
त्यसपछि सभामुखले नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवं व्यवस्थापिका–संसद नियमावली, २०७३ को नियम ४९ को उपनियम (३) बमोजिम आफुलार्ई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी पुष्पकमल दाहाल (प्रचण्ड)को एकमात्र उम्मेदवारीको सूचना प्राप्त भएकोले उक्त सूचनालाई निर्णयार्थ प्रस्तुत गर्दा व्यवस्थापिका–संसदमा तत्काल उपस्थित भई मतदान गर्ने सांसद्हको संख्या जम्मा ५७३ रहेकोमा “प्रचण्डले आफुलाई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस्” भनी दिएको उम्मेदवारीको सूचनाको पक्षमा अर्थात् “हुन्छ” भन्ने पक्षमा जम्मा ३६३ (तीनसय त्रिसठ्ठी) मत र विपक्षमा अर्थात् “हुन्न” भन्ने पक्षमा जम्मा २१० (दुईसय दश) मत परेको जानकारी गराईन् ।

त्यसपछि सम्माननीय सभामुखले पुष्पकमल दाहाल (प्रचण्ड) नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवं व्यवस्थापिका–संसद नियमावली, २०७३ को नियम ४९ को उपनियम (५) बमोजिम व्यवस्थापिका–संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्या ५९५ को बहुमतले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएको घोषणा गर्दै नेपालको प्रधानमन्त्रीको पदमा निर्वाचित भएकोमा प्रचण्डलाई व्यक्तिगत एवं व्यवस्थापिका–संसदको तर्फबाट हार्दिक बधाई दिईन् र बैठक साउन २४ गते सोमवार विहान ११ः०० बजे बस्नेगरी दिनको ३ः४० बजे स्थगित भयो ।

देउवा प्रधानमन्त्री बन्दा 
देउवा २०७४ साल जेठ २३ गते पछिल्लो पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । व्यवस्थापिका–संसदको सो दिनको पहिलो बैठक सभामुख ओनसरी घर्तीको अध्यक्षतामा दिनको १ः३० बजे प्रारम्भ भयो । सर्वप्रथम प्रमुख प्रतिपक्ष दलका नेता के.पी. शर्मा ओलीले भरतपुर नगरपालिकाको निर्वाचन, प्रधानमन्त्री पदको निर्वाचन, प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्ताव लगायतका विषयहरुमा आफ्नो धारणा राखेका थिए ।

त्यसपछि देउवाले प्रधानमन्त्री पदको निर्वाचन लगायत उक्त पदमा आफु निर्वाचित भएमा प्राथमिकता दिइने कार्यक्षेत्रहरुका बारेमा आफ्नो धारणा राखेका थिए । बैठकमा त्यसलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ प्रधानमन्त्री चयन र आफ्नो सरकारको कार्यकालमा भएका उपलब्धीहरुको बारेमा सार्वजनिक महत्वको वक्तव्य दिए ।

त्यसपछि सभामुखले प्रधानमन्त्री निर्वाचनका सम्बन्धमा संक्षिप्त वक्तव्य दिईन् । यसको पूर्णपाठ यस्तो थियो । 

“सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मिति २०७४ साल जेठ १० गते प्रधानमन्त्री पदबाट राष्ट्रपति समक्ष राजीनामा दिनुभएको व्यहोरा अवगतै छ । तत्पश्चात मिति २०७४ साल जेठ ११ गते सम्माननीय राष्ट्रपतिबाट नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्न आह्वान भएको पत्र प्राप्त भएकोमा उक्त पत्र व्यवस्थापिका–संसदको वैठकमा अवरोध भएका कारण सदनमा सुनाउन नसकिएकोले राजनैतिक दलहरुको परामर्शमा व्यवस्थापिका–संसद नियमावलीको व्यवस्था बमोजिम सुचनापत्र प्रकाशन गरी सवै माननीय सदस्यहरुलाई जानकारी गराइएको थियो । 

सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्न तोकिएको समयावधि मिति २०७४ साल जेठ १७ गते भित्र राजनैतिक दलहरुबीच सहमति हुन नसकेकोले सम्माननीय राष्ट्रपतिबाट नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्ने प्रकृया अगाडि बढाउन मिति २०७४ साल जेठ १८ गते आह्वान गरिएको पत्र प्राप्त भयो ।

व्यवस्थापिका–संसदको मिति २०७४ साल जेठ १८ गते वसेको वैठकमा समेत अवरोध कायम रहेकोले मिति २०७४ साल जेठ १९ गते वसेको कार्यव्यवस्था परामर्श समितिमा भएको छलफल र संसदीय परम्पराका आधारमा व्यवस्थापिका–संसद नियमावली, २०७३ को नियम ४९ को उपनियम (२) बमोजिम बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन मिति २०७४ साल जेठ २१ गते आइतवार दिनको ११ः०० बजे गर्ने गरी निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्न व्यवस्थापिका संसदका महासचिवलाई निर्देशन दिएकोमा सो बमोजिमको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गरेको विदितै छ ।

प्रकाशित निर्वाचन कार्यक्रम बमोजिम मिति २०७४ साल जेठ २० गते विहान ११ः०० बजेदेखि दिनको ४ः०० बजेसम्म प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी मा० श्री शेरबहादुर देउवाको एकमात्र उम्मेदवारीको सूचना दर्ता हुन आएको र सोही दिन ४ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरियो । प्रकाशित कार्यतालिका अनुरुप बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचनको लागि मिति २०७४ साल जेठ २१ गते विहान ११ः०० बजेको दिन र समय निर्धारण भएकोमा उक्त दिन विशेष कारणवश वैठक सञ्चालन हुन नसकेकोले सो कार्यक्रम संशोधित सूचना प्रकाशन गरी आजै मिति २०७४ साल जेठ २३ गते दिनको १ः०० बजे बस्ने व्यवस्थापिका संसदको वैठकमा निर्वाचन हुने गरी सवै सदस्यहरुलाई जानकारी गराइएको थियो ।”

त्यसपछि सभामुखले सो दिनको बैठकको कार्यसूचीको क्रमसंख्या १ र २ मा रहेको कार्यक्रमहरु अर्को बैठकमा हुनेगरी बैठकबाट हटाईएको व्यहोरा जानकारी गराउँदै बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन आजै बस्ने व्यवस्थापिका–संसदको दोस्रो वैठकमा हुनेगरी मिलाइएको व्यहोरा जानकारी गराएकी थिईन् । त्यसपछि सभामुखले “स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि व्यवस्थापिका–संसद नियमावली, २०७३ को नियम १२० बमोजिम प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरबाट संयुक्त रुपमा विरोधको सूचना प्राप्त हुन आएको व्यहोरा जानकारी गराईन् ।

त्यसपछि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि संयुक्त रुपमा विरोधको सूचना दिनुहुने मूल प्रस्तावकमा प्रेम सुवालले उक्त विरोध गर्नुपर्नाको कारण सहित संक्षिप्त वक्तव्य दिए । त्यसपछि विधेयक प्रस्तुतकर्ता उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधका सम्बन्धमा संक्षिप्त वक्तव्य दिए ।

तत्पश्चात सभामुखले काँग्रेस सांसद् मीनबहादुर विश्वकर्मा सहित २ सय ४९ जना सदस्यहरुले प्रधानन्यायाधीश सुशिला कार्की विरुद्ध दर्ता गरेको महाभियोगको प्रस्तावमाथि छलफल गर्न मिति २०७४ वैशाख २२ गतेको बैठकको दिन तोकिएकोमा उक्त प्रस्तावका मूल प्रस्तावक मीनबहादुर विश्वकर्मा सहितले मिति २०७४ जेठ १५ गते संविधान कार्यान्वयनको यो संवेदनशील घडिमा संविधान बमोजिम स्थापित राज्यका अंगहरुले संविधानको उद्देश्य अनुरुप काम गर्नुपर्ने वृहत्तर आवश्यकतालाई ध्यानमा राख्दै संवैधानिक अंगहरुको बीचमा सौहाद्र्रता, सकारात्मक सहयोग र समझदारीको अपेक्षा गर्दै प्रधानन्यायाधीश सुशिला कार्की विरुद्धको महाभियोगको प्रस्ताव फिर्ता गरिएको छ भनी सूचना दिएकोले व्यवस्थापिका–संसद नियमावली, २०७३ को नियम २७ बमोजिम मिति २०७४ जेठ १७ गतेको कार्यव्यवस्था परामर्श समितिको परामर्शमा उक्त महाभियोगको प्रस्ताव फिर्ता गर्ने सम्बन्धी प्रस्ताव सभाको सहमतिको लागि प्रस्तुत गर्नुहुँदा सभाले सहमति जनायो ।

सोही दिन अपराह्न पौने ५ बजे व्यवस्थापिका–संसदको दोस्रो बैठक प्रारम्भ भयो । सर्वप्रथम सभामुखले व्यवस्थापिका–संसद नियमावली, २०७३ को नियम ४९ को उपनियम (२) बमोजिम निर्धारित प्रधानमन्त्री पदको निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारीको सूचना पेश गर्ने समयावधि भित्र व्यवस्थापिका–संसद नियमावली, २०७३ को नियम ४९ को उपनियम (३) बमोजिम नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भन्ने एकमात्र उम्मेदवारीको सूचना प्राप्त हुन आएको व्यहोरा माननीय सदस्यहरुलाई जानकारी गराए । 

त्यसपछि नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी आफ्नो उम्मेदवारीको सूचना दिनुहुने शेरबहादुर देउवाले व्यवस्थापिका–संसद नियमावली, २०७३ को नियम ४९ को उपनियम (४) बमोजिम उक्त उम्मेदवारीको सूचना प्रस्तुत गरे । त्यसपछि उक्त उम्मेदवारीको सूचनामा प्रस्तावक रहेका पुष्पकमल दाहाल (प्रचण्ड) ले व्यवस्थापिका–संसद नियमावली, २०७३ को नियम ४९ को उपनियम (४) बमोजिम उक्त उम्मेदवारीको सूचनाको समर्थन गरे । त्यसपछि निम्नलिखित सदस्यहरुले उक्त उम्मेदवारीको सूचनाको समर्थन गरे ः–
 
रामचन्द्र पौडेल
विजय कुमार गच्छदार
प्रेमबहादुर सिंह
कुमार खड्का
जयदेव जोशी
 
त्यसपछि सभामुखले नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवं व्यवस्थापिका–संसद नियमावली, २०७३ को नियम ४९ को उपनियम (३) बमोजिम आफुलार्ई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी देउवाको एकमात्र उम्मेदवारीको सूचना प्राप्त भएकोले उक्त सूचनालाई निर्णयार्थ प्रस्तुत गर्दा व्यवस्थापिका–संसद नियमावली, २०७३ को नियम ४९ को उपनियम (५) बमोजिम व्यवस्थापिका–संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुनुपर्ने व्यहोरा जानकारी गराउँदै उक्त सूचनामाथि निर्णय गर्न व्यवस्थापिका–संसद नियमावली, २०७३ को नियम ४९ को उपनियम (७) बमोजिम मत विभाजन गरी मत संकलन गरिने व्यहोरा समेत सदस्यहरुलाई जानकारी गराए ।
 
त्यसपछि सभामुखले “सदस्य श्री शेरबहादुर देउवाले आफुलाई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस्” भनी दिएको उम्मेदवारीको सूचनालाई मत विभाजन गरी मत संकलन गर्दा व्यवस्थापिका–संसदमा तत्काल उपस्थित भै मतदान गर्ने सदस्यहरुको संख्या जम्मा ५५८ रहेकोमा “देउवाले आफुलाई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस्” भनी दिएको उम्मेदवारीको सूचनाको पक्षमा अर्थात् “हुन्छ” भन्ने पक्षमा जम्मा ३८८ मत र विपक्षमा अर्थात् “हुन्न” भन्ने पक्षमा जम्मा १७० (एकसय सत्तरी) मत परेकोले शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएको घोषणा गरिन् ।

त्यसपछि सभामुखले नेपालको प्रधानमन्त्रीको पदमा निर्वाचित भएकोमा देउवालाई व्यक्तिगत एवं व्यवस्थापिका–संसदको तर्फबाट हार्दिक बधाई दिँदै उनको सफल कार्यकालको समेत कामना गर्दै बैठक २०७४ साल जेठ २५ गते बिहीबार दिनको १ः०० बजे बस्नेगरी दिनको ६ः५५ बजे स्थगित भयो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ