arrow

समानुपातिक तर्फका ४० प्रतिशत सदस्य कसरी छानिन्छन् ? यस्ता व्यक्ति हुन्छन् अयोग्य

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
samanupatik_nirwachan1.png

काठमाडौं । आईतबार देशभरका राजनीतिक दलहरुले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूची पेश गर्दैछन् । निर्वाचन आयोगले तयार पारेको कार्यतालिका अनुसार आईतबार समानुपातिकको मनोनयन अर्थात् दलहरुले बन्दसूची पेश गर्न लागेका हुन् । 

यो बन्दसूची पेश गरेसँगै देशभरका प्रतिनिधि सभा तथा प्रदेश सभाका ४० प्रतिशत सांसद्हरुको मनोनयन सम्पन्न हुनेछ । पछिल्लो कानून अनुसार कूल सांसद् संख्याको ४० प्रतिशतले हुन आउने प्रतिनिधि सभाको ११० र प्रदेश सभाको २२० सदस्यहरुको मनोनयन नै यही बन्दसूची मार्फत् गर्न लागिएको हो । यसमा कस्तो छ त व्यवस्था ? र कस्ताको नाम पेश गर्न सकिन्छ त ? 

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुनको लागि प्रतिनिधि सभा तथा प्रदेश सभा दुबैमा २५ वर्षको उमेर हद तोकिएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्बन्धी ऐनमा उम्मेदवारको योग्यता भनेर निम्न बुँदाहरुको अनिवार्यता औल्याएको छ । 
(क) नेपालको नागरिक,
(ख) मतदाता नामावलीमा नाम समावेश भएको,
(ग) पच्चीस वर्ष उमेर पूरा भएको,
(घ) कुनै सङ्घीय कानूनले अयोग्य नभएको, र
(च) कुनै लाभको पदमा बहाल नरहेको ।

त्यस्तै, प्रदेश सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारको योग्यताको विषयमा यस्ता प्रावधानहरु राखेको छ । 
(क) नेपालको नागरिक,
(ख) सम्बन्धित प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको,
(ग) पच्चीस वर्ष उमेर पूरा भएको,
(घ) कुनै कानूनले अयोग्य नभएको, र
(ङ) कुनै लाभको पदमा बहाल नरहेको 

यसरी यो योग्यता पूरा भएका व्यक्तिको नाम बन्द सूचीमा पेश गरेको खण्डमा पछि राजनीतिक दलले प्राप्त गरेको कूल मतलाई समानुपातिक सिट निर्धारक सूत्रले हिसाव गरेर आउने सिट संख्यालाई हिसाव गरेर दलले पाएको सिटमा बन्दसूचीमा समावेश भएको क्रमिक नामलाई समावेशी समानुपातिक सिद्धान्त अनुसार बन्दसूचीमा समावेश भएका नामहरुबाट सांसद् चयन गरिन्छ । 

कसरी गरिन्छ घोषणा ?

निर्वाचन अधिकृतले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनको लागि खसेको मतपत्रको गणना गरी प्रत्येक दलले प्राप्त गरेको कूल सदर मत सङ्ख्याको विवरण आयोगले तोके बमोजिमको तालिकामा खुलाई तुरुन्त आयोगमा पठाउनु पर्नेछ । सो बमोजिम सम्बन्धित प्रदेशको सबै निर्वाचन क्षेत्रबाट आयोगले विवरण प्राप्त गरिसकेपछि आयोगले दलले प्राप्त गरेको कूल सदर मत सङ्ख्याको अनुपातमा समानुपातिक सिट संख्या निर्धारण सूत्रमा उल्लेख भएबमोजिमको मत परिणाम विभाजक सूत्रको आधारमा निर्वाचित हुने सङ्ख्या निर्धारण गर्नेछ ।

यस बमोजिम दलहरुले प्राप्त गरेको कूल सदर मतलाई भाग गरी दलले प्राप्त गर्ने सीट सङ्ख्या बाँडफाँट गर्दा कुनै सीटका सम्बन्धमा एकभन्दा बढी दलको बराबर भागफल हुन आएमा आयोगले गोला हाली सो सीट कुन दलले प्राप्त गर्ने हो सो कुराको निर्धारण गर्नेछ । यस बमोजिम दलले प्राप्त गर्ने सीट सङ्ख्या निर्धारण गरेपछि आयोगले त्यस्तो दलको तर्फबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने कूल सदस्य सङ्ख्याको तेत्तीस प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित गर्नुपर्ने महिलाको सङ्ख्या समेत यकिन गरी सम्बन्धित दललाई जानकारी गराउनु पर्नेछ ।

सो बमोजिमको जानकारी प्राप्त गरे पछि दलले सो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको निर्णयबाट निर्वाचित हुने उम्मेदवारको छनौट गरी त्यसरी छनौट भएका उम्मेदवारको सूची आयोगले तोकेको समयभित्र आयोग समक्ष पेश गर्नु पर्नेछ । यसमा दलले सूची पेश गर्दा जनसङ्ख्या र सो दलले प्राप्त गरेको सिट सङ्ख्याको आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक समूदाय तथा अपाङ्गता भएको व्यक्तिको प्रतिनिधित्व हुने गरी यथासम्भव बन्द सूचीमा नाम समावेश भएको क्रम अनुसार सूची पेश गर्नु पर्नेछ ।

यसमा सम्बन्धित दलले पेश गरेको उम्मेदवारको नामावलीको सूची प्राप्त भएपछि आयोगले सो सूचीमा नाम समावेश भएका उम्मेदवारहरु निर्वाचित भएको घोषणा गर्नेछ । यसरी निर्वाचित भएको उम्मेदवारको नाम आयोगले नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ । अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि समानुपातिक निर्वाचन प्रणालीतर्फ केन्द्रमा ३ प्रतिशत र प्रदेशमा कूल सदर मतको एक दशमलव पाँच प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ