‘डिजिटल नेपाल’ बनाउन सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड

प्रकाशित मिति : २०७४ असोज २९ आइतबार

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत अर्जेन्टिनाको ब्यूनर्स आयर्समा भएको ‘विश्व दूरसञ्चार विकास सम्मेलन’मा भाग लिई आइतबार  स्वदेश फर्केका छन् । 

स्वदेश फर्कने क्रममा मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सम्मेलनमा विश्वभरका विभिन्न देशका दूरसञ्चारको क्षेत्रमा भएका नवीनतम प्राविधिक प्रयोग, सफलता र अभ्यासको आदानप्रदानका बारेमा महत्वपूर्ण छलफल भएको बताए । 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका मन्त्री बस्नेतले सम्मेलनलाई यही अक्टोबर १० तारिखमा सम्बोधन गर्दै नेपालले हालसम्म दूरसञ्चार क्षेत्रमा गरेका प्रगति, विद्यामान समस्या र चुनौतीको प्रस्तुतिका साथै अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु)ले नेपाललाई पुर्याएको सहयोगको सराहना गर्दै त्यसको निरन्तरताका लागि आग्रह गरेका  थिए । 

सो अवसरमा उनले सन् २०२५ सम्ममा नेपाललाई ‘डिजिटल नेपाल’मा रुपान्तरण गर्न पूर्वाधार विकास र सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड दिइएको धारणा व्यक्त गरेका थिए । 

सम्बोधनका क्रममा मन्त्री बस्नेतले आइटियुले अध्ययन अनुसन्धान गरी तयार गरेको ज्ञानलाई सदस्य मुलुकले अधिकतम प्रयोग गर्नुपर्ने, सूचना तथा सञ्चार प्रविधिको विकास र प्रयोगलाई विकाससँग आबद्ध गर्नुपर्ने, अन्तर्राष्ट्रिय इन्टरनेट ब्याण्डविथको मूल्य घटाउन विशेष पहल गर्नुपर्ने र साइबर सुरक्षामा विशेष जोड दिनुपर्ने विषयमा सम्मेलनको ध्यानाकर्षण गराएका थिए । 

प्रत्येक चार वर्षमा अन्तर्राष्ट्रिय आइटियुले आयोजना गर्ने यस्ता सम्मेलनमा सहभागी हुँदा देशमा यस क्षेत्रमा अन्तर्राष्ट्रिय आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउन सहयोग पुग्ग्ने देखिन्छ । 

सम्मेलनको शुरुको दिन कमविकसित, भूपरिवेष्ठित, विकासोन्मुख र साना टापु विकासोन्मुख मुलुकका मन्त्रीबीच भएको छलफलमा नेपालले दूरसञ्चार क्षेत्रमा गरेको प्रगतिको प्रशंसा हुनाका साथै सो उपलब्धिलाई कसरी दिगो विकासका लक्ष्य प्राप्तिमा मद्दत पुर्याउन सकिन्छ भन्ने जिज्ञासा राखिएको थियो । 

सो अवसरमा मन्त्री बस्नेतले आइटियुका महासचिव होयुलिन झोव, बुर्किनाफासोका डिजिटल अर्थमन्त्री हड्जा फतिमत सानोनलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नाका साथै सूचना प्रविधिका क्षेत्रमा भएका प्रगति, चुनौती र सम्भावनाका बारेमा छलफलसमेत गरिएको जानकारी दिए । 

मन्त्री बस्नेतले नेपाल सरकारले इ–गभर्नेन्सलाई प्राथमिकता दिई मुलुकभर अप्टिकल फाइबर बिछ्याउने र इन्टरनेट सेवा व्यापक विस्तार गर्ने कार्यक्रम गर्नाका साथै स्वास्थ्य, शिक्षा, आर्थिक गतिविधिमा समेत सूचना प्रविधि र अनलाइन प्रणाली लागू गरी सर्वसाधारण जनताको समय र उत्पादन लागतसमेत घटना जाने र यसले दिगो विकास लक्ष्यमा प्राप्तिमा मद्दत पुग्ग्ने जानकारी गराएका थिए।  सम्मेलन खासगरी सूचना तथा सञ्चार प्रविधिले दिगो विकासका लक्ष्य प्राप्त गर्न के कसरी मद्दत पुर्याउन सक्छ भन्ने सम्बन्धमा केन्द्रित रहेको मन्त्री बस्नेतले बताए । 

सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री तथा दूरसञ्चारसम्बन्धी मन्त्रालय र संस्थाका वरिष्ठ अधिकारीबाट सहभागिता रहेको थियो । यही असोज २२ देखि शुरु भएको सम्मेलन कात्तिक ३ सम्म जारी रहनेछ । रासस

नयाँ