arrow

म्याच फिक्सिङ प्रकरणमा अरू खेलाडी पनि तानिँदै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1631432881.jpeg

काठमाडौं । मिडियामा छाइरहेका स्टार फुटबल खेलाडीहरू बिहीबार भने अनुहार लुकाउन खोजिरहेका थिए। उनीहरूको मुखमा मास्क थियो भने टाउको ज्याकेटको टोपीले पिएको थियो। यसरी सञ्चारकर्मीबाट छलिन खोज्नेहरू थिए– राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा, खेलाडी विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप थापा र अञ्जन केसी।

नागरिक दैनिकमा केपी ढुंगाना लेख्छन्–खेल मिलेमतो गरेको आरोपमा बुधबार पक्राउ परेका उनीहरूले बिहीबार राजधानीको टेकुस्थित महानगरीय प्रहरी अपराध महाशाखाको हिरासतबाट कार्यालयमा जाँदा अनुहार लुकाउन खोजेका थिए। बयानका लागि प्रहरीले उनीहरूलाई कार्यालय लाँदा परिसरमा सञ्चारकर्मीको भीड थियो।

६ वर्षदेखिफुटबलको मैदानमानेपाली टिमको नेतृत्व गरेका सागर प्रहरीको घेरामा सबैभन्दा पछाडि थिए। मिलनसार छविका उनले सञ्चारकर्मीतिर नजरनै लाएनन्। उनी नीलो ज्याकेट, जिन्स र चप्पलमा थिए। अञ्जन, विकाससिंह, रितेश र सन्दीपको अवस्था पनि उस्तै थियो। सबैको नजर भुइँतिर झुकेको थियो। हतकडी लुकाउन उनीहरूले हात ज्याकेटको खल्तीमा घुसारेका थिए।

सिंगापुर र मलेसियामा रहेका फुटबलका फिक्सर(दलाल)सँगको मिलेमतोमा ८ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा पक्राउ परेका उनीहरू बुधबारदेखिनै महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। पक्राउ परेको २४ घन्टाभित्र अदालतमा पेस गरी न्यायिक हिरासतमा राख्नुपर्ने कानुनी प्रावधान रहे पनि घटस्थापनासँगै अदालत बन्द भएकाले प्रहरीले बिहीबार उनीहरूलाई न्यायिक हिरासतमा राख्ने अनुमति लिन सकेन।

कानुनी परामर्शपछि प्रहरीले दसंैपछि अदालत खुलेलगत्तै अदालती प्रक्रियामा प्रवेश गर्ने गरी राज्यविरुद्धको अपराधसम्बन्धी कानुन टेकेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।संगठित रूपमा अपराध गरेको भन्दै संगठित अपराध ऐन र आपराधिक समूहसँग मिलेर आर्थिक फाइदा लिएको भन्दै सम्पत्ति शुद्धीकरण ऐनअनुसार समेत अनुसन्धान अगाडि बढाउने प्रहरीले तयारी गरेको छ।

महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले काठमाडौं परिसरसँगको समन्वयमा उनीहरूमाथि राज्यविरुद्धको अपराध र सजाय ऐनअनुसारको कसुरमा अनुसन्धान प्रक्रिया सुरु गरिएको जानकारी दिए।

प्रहरीले सो ऐनको दफा ३ को उपदफा ३.३ मा रहेको 'कसैले नेपालको सार्वभौम सत्ता, अखण्डता वा राष्ट्रिय एकतामा आघात पर्न सक्ने गरी कुनै विदेशी राज्य वा संगठित शक्तिसँग मिली कुनै प्रकारको षड्यन्त्र गरे निजलाई जन्मकैद वा दस वर्षसम्म कैद' हुने प्रावधानलाई उनीहरूमाथिको आरोपसँग जोडेर अनुसन्धान अगाडि बढाएको छ।

'अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्दै सहभागी खेलाडीले संगठित समूहसँग मिली खेल हारजित गराएकाले यो कानुनमा टेकेर अनुसन्धान अगाडि बढाएका हौं,' एसएसपी खनालले भने, 'योसँगै संगठित अपराध ऐन र सम्पत्ति शुद्धीकरण ऐनअनुसारको अनुसन्धानका लागि समेत सरोकारवाला निकायसँग परामर्श भइरहेको छ।'

पक्राउका चार आधार

नेपाली खेलाडीले अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको सूचना आएपछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानमा उनीहरूको संलग्नतासम्बन्धी प्रमाण फेला परेपछि मात्रै उनीहरूलाई पक्राउ गरी औपचारिक अनुसन्धान प्रारम्भ गरिएको एसएसपी खनालले बताए।

खनालका अनुसार खेल मिलेमतो गरेको आरोप लागेका खेलाडीले खेलेको खेलको नतिजा, उनीहरूको सम्पर्कमा रहेका विदेशी नागरिक र उनीहरूको पृष्ठभूमि, खेलाडीको आर्थिक गतिविधि र आम्दानीको स्रोततथा उनीहरूको नाममा विदेशबाट आएको रकमको विवरण अनुसन्धानका मुख्य आधार हुन्।

पक्राउअघिको अनुसन्धानमा खेल मिलेमतो गराउने एजेन्टका रूपमा अन्तर्राष्ट्रिय फुटबलमै कुख्यात सिंगापुर र मलेसियाली नागरिकसँग सागर र अञ्जनको नियमित सम्पर्क देखिएको र उनीहरूबीच भएको आर्थिक लेनदेनको विवरणलाई प्रहरीले अनुसन्धानको मुख्य आधार बनाएको छ।

'अनुसन्धानमा अञ्जन र सागरको सम्पर्क खेल मिलोमतोमा कहलिएका विल्सन राज पेरुमल,टिटानीपेरिसामी, तमन प्रमाटा,केशवन पट्टानसँग देखिएको छ,' खनालले भने, 'यीमध्ये विल्सन नेपालमै आएर सागरसँग भेटेर गएका थिए।'

नेपाली फुटबल टोलीका कप्तान सागरसँग निकट सम्बन्धमा देखिएका सिंगापुरका विल्सन सन् १९९५ देखिनै खेल मिलेमतोमा कहलिएका फिक्सर हुन्।दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपका पाँच खेलमा मिलेमतो गराएको आरोपमा उनी सन् २०११ मा फिनल्यान्डमा पक्राउ परेका थिए। उनी अहिले हंगेरीमा छन्।

प्रहरीका अनुसार सन् २००८ मा सागर र विल्सनबीच दरबारमार्गमा भेट भएको थियो।बयानमा सागरले समेत यो कुरा स्वीकार गरेका छन्।

'विल्सनले मलाई फोन गरेर दरबारमार्गमा बोलाएपछि एक होटलमा बसेर कुराकानी गरेका हौं,' सागरको बयान उद्धृत गर्दै अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, 'उनले सिंगापुरको क्लबस्तरीय लिगमा खेल्नेबारे कुरा गर्न आएका थिए, त्यसपछि उनीसँग बेलाबखत सम्पर्क भइरहन्थ्यो।'

टिटानी, तमन प्रमाटा,केशवन पट्टानसमेत खेल मिलेमतोमा कहलिएका अन्तर्राष्ट्रिय फिक्सर हुन्।

खेल मिलेमतोमा कहलिएका अन्तर्राष्ट्रिय फिक्सरसँगै पक्राउ खेलाडी र उनीहरू निकटका नाममा सिंगापुर र मलेसियाबाट वेस्टर्न युनियन मनी ट्रान्सफरबाट आएको पैसाको विवरणसमेत प्रहरीले संकलन गरेको छ। अनुसन्धानमा अञ्जनले पाँचपटक लिएको रकमको विवरण प्रहरीसम्म आइसकेको छ भने रितेशले एकपटक रकम लिएको विवरण फेला परेको छ।

सन् २००९ डिसेम्बरमा रितेशका नाममा सिंगापुरबाट ४ हजार २ सय सिंगापुर डलर आएको थियो। अञ्जनका नाममा सन् २००९ बाट आएको रकम विवरण पनि प्रहरीले संकलन गरेको छ।उनका नाममा २००९ डिसेम्बरमा ७ हजार १ सय सिंगापुर डलर, २०१२ सेप्टेम्बरमा २ हजार ४ सय ८० मलेसियाली रिंगेट, २०१३ अगस्टमा ९ हजार ८ सय, सेप्टेम्बरमा १ हजार ६ सय मलेसियाली रिंगेट र फेब्रुअरीमा १ हजार सिंगापुर डलर आएको थियो।

सागर र रितेशलाई वेस्टर्न युनियनमार्फत पैसा पठाउनेहरूले ठूलो मात्रामा पैसा पठाएका अन्य तीन जनाको समेत पहिचान गरे पनि प्रहरीले अनुसन्धान निष्कर्षमा नपुगेको भन्दै विवरण सार्वजनिक गरेको छैन। स्रोतका अनुसार ती तीनै जना खेलाडीका आफन्त हुन्।

'पक्राउ परेकाहरूको निकट रहेका केही व्यक्तिको नाममा ठूलो परिमाणमा विदेशी पैसा आएको देखिएको छ,' एसएसपी खनालले भने, 'सो पैसा म्याचफिक्सकै हो या अन्य विषय, अनुसन्धान निचोडमा पुगिसकेको छैन।'

अञ्जन स्थानीय फिक्सर

करिब २ महिनाको अनुसन्धानपछि अनुसन्धान अधिकारी थ्री–स्टारका पूर्व प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी अञ्जन केसी अन्तर्राष्ट्रिय फिक्सर समूहको नेपाली एजेन्ट रहेको निष्कर्षनिकट पुगेका छन्। सन् २००८ बाट राष्ट्रिय टोली छाडे पनि उनको नाममा पुरानै एजेन्टबाट नियमित पैसा आइरहेको विवरण र पक्राउ परेका खेलाडीको बयानबाट उनी मिलेमतो गर्नुपर्ने खेल, त्यसका आवश्यक नतिजा र रकमको डिल गर्न सक्रिय रहेको प्रहरीको निष्कर्ष छ।

एसएसपी खनाल नेपाली टोलीको अन्तर्राष्ट्रिय खेल हुने देशमा उनी विनाहैसियत पुग्ने गरेका थिए। प्रहरीको सूचीमा म्याच फिक्स भएको फिलिपिन्सको खेल र दिल्लीमा भएको नेहरु कपमा समेत उनी उतै थिए। 'उनी म्याच फिक्सर र नेपाली टोलीबीच समन्वय गर्न त्यहाँ गएको अहिलेसम्मको अनुसन्धानले देखाएको छ,' खनालले भने, 'अहिलेसम्मको अनुसन्धानमा उनी नेपालमा रहेका फिक्सरका एजेन्ट देखिएका छन्।'

सामान्य आर्थिक पृष्ठभूमिका उनको आर्थिक अवस्थाछोटो समयमै नाटकीय सुधार भएको थियो। अनुसन्धानमा उनी क्यासिनो र ढुकुटीको खेलमा समेत संलग्न रहेको देखिएको छ। उनले ढुकुटी खेल्दा ४५ लाख डुबेको प्रहरीसँगको प्रारम्भिक बयानमा स्वीकार गरे पनि क्यासिनोमा खेल्दा पैसा कमाएकाले आर्थिक अवस्था सुधारिएको दाबी गरेका थिए।

भारतको सिक्किममा रहेको क्यासिनोमा समेत उनको लगानी रहेको प्रहरीले शंका गरे पनि उनले आफू घुम्न मात्रै जाने गरेको दाबी गरेका छन्। नेपालमा क्यासिनो बन्द भएपछि क्यासिनोमा मिटर ब्याजमा पैसा दिएर असुल्न सक्रिय गुन्डा नाइके दिनेश अधिकारी (चरी), बलराम सापकोटा र रमेश बाहुनसँग उनको निकट सम्बन्ध देखिएको प्रहरी अधिकारी बताउँछन्।

'चरी लगायतका केही आपराधिक पृष्ठभूमिका व्यक्तिसँग उनको निकटता देखिएको छ, त्यो पाटो अनुसन्धानको दायरामै छ,' एसएसपी खनालले भने।

कुन–कुन खेलमा मिलेमतो

प्रहरीले नेपाली खेलाडीले मिलेमतोमा खेलेकाआठवटा अन्तर्राष्ट्रिय खेलको सूची बनाएर अनुसन्धान अगाडि बढाएको छ। महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार सन् २००८ मा मलेसियामा आयोजित मोर्डेकाकपमा अफगानिस्तानसँगको खेलमा मिलेमतो भएको थियो। २–२ बराबरी खेल्ने सर्तमा नेपाली टोलीका २० जना सदस्यले प्रतिव्यक्ति ५ हजार अमेरिकी डलर पाएका थिए।यस्तै, सन् २००९ को साफ च्याम्पियनसिपमा फिक्सरबाट आएको ३ हजार अमेरिकी डलर सबैले दामासाहीमा बाँडेका थिए।

सन् २०११ मा मलेसियासँगको मैत्रीपूर्ण खेलमा २–० ले खेल हार्ने,सन् २०११ मा फिलिपिन्ससँग भएको मैत्रीपूर्ण खेलमा ४–० ले हार्ने सर्तमा नेपाली खेलाडीले मिलेमतो गर्दै सोहीअनुसार नतिजा दिएको एसएसपी खनालको दाबी छ।सन् २०१४ मा कोरियामा भएको अन्डर–२३ एसिया च्याम्पियनसिपमा समेत प्रतिखेलाडी ५ हजार डलरमा म्याचफिक्स भएको प्रहरीको दाबी छ।

सन् २०१२ मा भारतमा भएको नेहरु कपअन्तर्गत क्यामरुनसँग ४–० ले हार्न फिक्सरसँग सहमति भए पनि बीचमा खेलाडी फेरिएर नतिजा फरक पर्दा नेपाली खेलाडीले पैसा पाएनन्। प्रतिखेलाडी ५ हजार अमेरिकी डलरमा सहमति भए पनि नेपाल क्यामरुनसँग ५–०ले हारेको थियो। सागर बीचैमा परिर्वतनहुँदा सहमतिविपरीतको नतिजा आएको एसएसपी खनाल बताउँछन्।

प्रहरी बयानमा सागरले केही खेलमा मिलेमतोका लागि फिक्सरले प्रस्ताव गरेको स्वीकार गरे पनि रकम लिए/नलिएको भने खुलाएका छैनन्।सागरको बयानअनुसार म्याच फिक्सका लागि फिक्सरहरू होटलको कोठामै आएर प्रस्ताव राख्छन्। उनीहरूले प्रायः हार्ने गोल अन्तरको संख्या टिपाएर सोहीअनुसार पैसा प्रस्ताव गर्छन्।

'उनीहरू होटलमै क्याप्टेन खोज्दै आउँछन्, पहिला विभिन्न देशका क्लबमा अनुबन्ध गराउने प्रस्ताव राख्छन्,' सागरको बयान उद्धृत गर्दै स्रोतले भन्यो, 'पछि टिमले खेल्ने खेलबारे छलफल गर्दै आफूले भनेअनुसारको नतिजा निकाले पैसा दिने प्रस्ताव गर्छन्।'

उनले प्रारम्भिक बयानमा सिरियालियोन, जोर्डन, क्यामरुन, मलेसियासँगको खेलमा फिक्सर आएर मिलेमतोको प्रस्ताव गरे पनि आफूहरूले स्वीकार नगरेको दाबी गरेका छन्।

एन्फा अधिकारी अनुसन्धान दायरामा

पक्राउहरूको बयानबाट कुनै खेलाडी विशेष मात्रै नभई पूरै टिमनै खेल मिलेमतोमा सहमत हुने खुलेपछि प्रहरी अहिले अन्य खेलाडीको भूमिकाबारे अनुसन्धान भइरहेको छ। चार जनाको संलग्नता खुलिसकेकाले प्रहरी अहिले उनीहरूको खोजीमा छ भने अन्य खेलाडीको संलग्नताबारे अनुसन्धान जारी रहेको खनाल बताउँछन्।

खनालले प्रतियोगितामा सहभागी एन्फाका पदाधिकारी, अफिसियल र प्रशिक्षकको खेल मिलेमतोमा संलग्नतासमेत अनुसन्धानको दायरामा रहेको बताए।'फुटबल खेलमा संलग्न संस्था र व्यक्ति अनुसन्धानको दायराभन्दा बाहिर छैनन्,' उनले भने, 'अनुसन्धानको दायरा जुन–जुन व्यक्तिसम्म पुग्छ ती कोही छुट्दैनन्।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ