arrow

असुरक्षित बन्दै पूर्वी नेपाल, दुर्घटनामा एक महिनामा ४७ को मृत्यु

logo
प्रकाशित २०७४ असोज २९ आइतबार

इटहरी । पूर्वी नेपालमा असोजमा भएका सवारी दुर्घटनामा परेर ४७ जनाले ज्यान गुमाएका छन् । सवारी दुर्घटनामा परेर मृत्यु हुनेको यो सङ्ख्या एक महिनाको अवधिमा सरसर्ती हेर्दा दैनिक दुई जनाको ज्यान जाने गरेको देखिन्छ । 

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले उपलब्ध गरेको दुर्घटनासम्बन्धी तथ्याङ्कमा उल्लेख भएअनुसार असोज महिनामा भएका सवारी दुर्घटनाको सङ्ख्या हेर्दा सुनसरी र मोरङ जिल्लाका सडकमा बराबर अर्थात् ३०–३० वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटना हुनुको मुख्य कारण तीव्र गति र अनावश्यक ढङ्गले ‘ओभरटेक’ गर्ने प्रवृत्ति बढी रहेको पनि ट्राफिक प्रहरीको भनाइ छ । 

सो अवधिमा भएका १३६ वटा सवारी दुर्घटनामा १२० जना मानिस गम्भीर घाइते भई विभिन्न अस्पतालमा उपचाररत रहेका र ८४ जना यात्रु सामान्य घाइते भएको पनि पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको तथ्याङ्कमा उल्लेख छ । 

सडक अतिक्रमण गर्ने, छाडा चौपाया तथा सडकमा निर्माण सामग्री थुपार्ने र निर्बाध सवारी सञ्चालनको सहज वातावरण निर्माणमा स्थानीय तहबाट पर्याप्त सहयोग प्राप्त हुन नसक्दा सवारी दुर्घटना न्यूनीकरण गर्न नसकिएको गुनासो पनि पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको रहेको पाइएको छ ।रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ