arrow

पुतली बगैँचामा सेनाले जग्गा नदिएपछि संसद् भवन नयाँ वानेश्वरमै 

logo
प्रकाशित २०७४ असोज ३० सोमबार
nepal_parliament.jpg.jpeg

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको दैनिक बैठक सञ्चालन बानेश्वरस्थित हालकै संसद् भवनमा हुने भएको छ । संसद् सचिवालयले नयाँ संरचनामा पनि बानेश्वरस्थित हालकै भवनमा बैठक कक्ष व्यवस्थापन गर्ने गरी गृहकार्य सुरु भएको छ । संसद् सचिवालयका महासचिवको नेतृत्वको टोलीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र व्यवस्थापन समितिसँग आइतबार परामर्शसमेत गरेको छ ।

रूपान्तरित संसद्को कार्यकाल समाप्त भएको भोलिपल्टै संसद् सचिवालय प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक कक्ष व्यवस्थापनमा लागेको हो । संसद् सचिवालयका अनुसार नयाँ जनप्रतिनिधि निर्वाचन भई संसद् अविधेशन आह्वान नहुँदासम्म पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँगको भाडा सम्झौता कायम नै राखिने भएको छ । हालको सम्झौता भङ्ग नहुने भएको छ ।

संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले आइतबार नै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र व्यवस्थापन समितिसँग भवन भाडा कायम राख्नेबारे बैठक भइसकेको बताए । गौतमले भने, ‘महासचिवको नेतृत्वको टोलीले आइतबारै व्यवस्थापन समितिसँग छलफल गरिसकेको छ । तत्कालको आवश्यकतालाई हेरेर भवनको भाडा सम्झौता कायम राख्ने र दुवै सदनको बैठक सोही भवनमा गर्ने मोटामोटी सहमति भयो । ’

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि उक्त भवन प्रयोग गर्न नमिल्ने अवस्थामा छ । सिंहदरबारस्थित पुतली बगैँचामै भवन बनाउने तयारी भए पनि सेनाले जग्गा छाड्न नमिल्ने पत्र यसअघि नै पठाएपछि प्रक्रिया अगाडि बढेको छैन । २०६५ सालदेखि संसद्ले अन्तरराष्ट्रिय सम्मेलन केन्द्रलाई भाडावापत नै झन्डै एक अर्ब रुपियाँ तिरिसकेको छ । 

(गोरखापत्र दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ