arrow

चाडपर्वमा पनि तराई-मधेस बन्धक

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1527558475.jpeg

काठमाडौं । तराई–मधेसमा जुन बेला सशस्त्र भूमिगत गतिविधि (०६७ सम्म) तीव्र थियो, सर्वसाधारण चाडपर्वको व्यग्र प्रतीक्षामा हुन्थे। किनकि, सशस्त्र संगठनहरुले दसैंतिहार, छठजस्ता चाडपर्वमा एकतर्फी 'युद्धविराम' घोषणा गर्थे। विज्ञप्तिमार्फत सर्वसाधारणलाई चाडपर्वको शुभकामना बाँड्थे। त्यसैले सांस्कृतिक पर्व मनाउन मधेसी जनता निष्पि्कक्री हुन्थे, डरत्रासबिनै चाडबाड मनाउँथे, रमाउँथे।

नागरिक दैनिकमा मिथिलेश यादव लेख्छन्–आफूलाई मधेसवादी दल भन्न रुचाउने पार्टीहरु सम्बद्ध संयुत्क लोकतान्त्रिक मधेसी मोर्चाले तराई–मधेसमा दुई महिनादेखि आमहडताल जारी राखेको छ। हिन्दुहरुको महान पर्व दसैं सुरु भइसके पनि आमहडताल फिर्ता लिइएको छैन। चाडपर्वको मुखमा तराई–मधेसवासी बन्दको बन्धनले जकडिएका छन्। डरत्रासमुक्त वातावरणमा सांस्कृतिक पर्वमा रमाउने उनीहरुको अधिकारै बन्दी भएको छ।

दसैं मात्र होइन, तिहार र छठसमेत मोर्चाको बन्द र हडतालले प्रभावित बन्ने देखिएको छ यसपालि। 'मानवीय संवेदनालाई मध्यनजर गरी मधेसका भूमिगत संगठनले पनि चाडपर्वमा भयमुक्त वातावरण निर्माण गर्थे, चाडपर्वमा सर्वसाधारणलाई मानसिक र भौतिक रुपमा सुरक्षित वातावरण बनाउँथे,' मधेस मामिलाका विश्लेषक विजयप्रसाद मिश्र भन्छन्, 'यस्तो बेला आन्दोलन जारी राख्नुले स्थानीय जनताको सहानुभूति गुम्ने खतरा हुन्छ।'

मोर्चाले स्थानीय बजार, स्थानीय यातायात खोलेर अन्य आन्दोलनका कार्यक्रम निरन्तरता दिए मात्र पनि स्थानीयको सहानुभूति र सहयोग बढ्ने मिश्रको विश्लेषण छ।

'मधेसका माग र मुद्दा राष्ट्रिय/अन्तर्राष्ट्रियकरण भइसकेको छ,' उनी भन्छन्, 'अब दबाब आन्दोलन छिटो वार्ताका लागि हुनुपर्छ।' सरकारले वार्तामार्फत छिटो आन्दोलनरत मोर्चाका माग सम्बोधन गरिदिएर मधेसी जनतालाई बन्दको बन्धनबाट मुक्ति दिलाउनुपर्ने उनको धारणा छ।

दुई महिनादेखि बन्दले बन्धक मधेसी जनतामा अहिले छटपटी बढेको छ। व्यापारीमा उकुसमुकुस र आम जनतामा निराशा छाएको छ। मोर्चाका समर्थक नै यो रबैयाप्रति आक्रोसित छन्। यति लामो समय निरन्तर मधेस बन्द यसअघि कहिल्यै भएको थिएन। दुई महिनादेखि बन्दलाई निरन्तर साथ, सहयोग र समर्थन गरिरहेका स्थानीय व्यापारी र सर्वसाधारण अहिले चिढिन थालेका छन्। उनीहरु सरकारको बेवास्ता र मधेसी दलहरुको नीतिप्रति रोष व्यत्क गरिरहेका छन्।

'हामीले बजार बन्द गरेर आन्दोलनमा ऐक्यबद्धता जनाइरह्यौं,' जिल्ला उद्योग वाणिज्य संघ, सिरहा अध्यक्ष सुनिलकुमार महतो भन्छन्, 'दसैंतिहार र छठको अवसरमा पनि बजार र स्थानीय यातायात नखुल्दा आम जनतामा निराशा बढेको छ।' उनकोे चाहना छ– सरकार र आन्दोलनकारीबीच छिटो समझदारी बनोस्, वार्तामार्फत समाधान होस्। 'कम्तीमा पनि चाडपर्व अवधिभर बजार, पसल, यातायात खुलोस्, जनताले ढुक्कसाथ पर्व मनाउन पाऊन्,' उनले भने।

अर्का व्यवसायी विनोद साह पनि मधेसी दलको रबैयाबाट आजित छन्। 'मधेसमा सशस्त्र गतिविधि तीव्र हुँदा पनि सशस्त्र संगठनहरु दसैं, तिहार र छठ पर्वमा आफ्ना गतिविधि स्थगित गर्थ्यो,' जिल्ला उद्योग वाणिज्य संघ, सिरहाका वरिष्ठ सल्लाहकारसमेत रहेका साह भन्छन्,' शान्तिपूर्ण शैलीमा अधिकारमुखी आन्दोलन गरिरहेका मधेसी मोर्चाले चाडपर्वलाई मध्यनजर गरी स्थानीय बजार र यातायातलाई सुचारु गरेर अन्य दबाबमूलक आन्दोलन जारी राखेको भए हुन्थ्यो।' यसले सरकारलाई दबाब जारी रहन्थ्यो र स्थानीय जनताले चाडपर्वमा राहत पाउँथे,' उनी भन्छन्, 'अहिले आमहडतालका कारण सबै जनता 'बन्धक' बनेका छन्।'

लहानका व्यपारी सन्तोष साह दसैं, तिहार र छठको कमाइले दुईमहिने बन्दको भरपाइ हुनेमा आशावादी थिए। चाड सुरु भइसक्दा पनि आमहडताल निरन्तर भएपछि उनी अहिले निराश छन्। 'अब त हामीजस्ता मझौला व्यापारी टाटै पल्टिने भए,' बन्दको अत्यास व्यक्त गर्दै सन्तोषले भने, 'व्यापार हुने यही बेला हो, तर बन्दले बिल्लिबाट बनाउने भयो।'

डेराभाडा, पसलकबुल भाडा, बैंकको ब्याज, कर, स्टाफखर्च, घरखर्च गरी महिनाको डेढ लाख त खर्चकै लागि कमाउनुपर्ने अर्का व्यापारी शषिकान्त चौधरी भन्छन्, 'वर्षभरिको घाटा र खर्च दसैंतिहार र छठको व्यापारले सन्तुलन गर्थ्यो, म त बर्वादै भएँ।' सरकारले आन्दोलनकारीको मागमा गम्भीरता नदेखाउँदा हडताल जारी रहेको उनले आरोप लगाए। 'साना र मझौला व्यापारी दुई महिने बन्दले सडकमै आइसकेको अवस्था छ, यसमा सरोकारवालाको ध्यान जाओस्,' चौधरीले भने।

लहानका सुनचाँदी व्यापारी विकास सारडाको चिन्ता पनि उस्तै छ। 'आमहडतालका कारण यहाँका सुनचाँदी व्यापारी धराशयी भएको अवस्था छ,' भन्छन्, 'सुनचाँदीको व्यापार हुने मुख्य सिजन दसैंबाट सुरु हुन्छ, दसैंको मुखमा पहिले यस्तो बन्द थिएन, 'यसपालि व्यापार चौपट भयो।' उद्योग वाणिज्य संघले पटकपटक स्थानीय बजार खुकुलो बनाउन आन्दोलनरत पक्षसँग आग्रह गरिरहेको सारडाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ