arrow

चितवनमा प्रहरी एक तिहाई मात्र, कसरी हुन्छ चुस्त सुरक्षा ?

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
nepal-police.jpeg

चितवन । जिल्लामा आवश्यक भन्दा एक तिहाई मात्र प्रहरी कार्यरत रहेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा दुईहजार एकसय प्रहरी आवश्यक भएपनि ७११ जना मात्रै प्रहरी जनशक्ति रहेको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले महानगरमा एकजना प्रहरीले ३०० जना, नगरपालिकामा एक प्रहरीले ३५० जना र गाउँपालिकामा एक प्रहरीले ४०० देखि ५०० जनालाई सुरक्षा गर्नुपर्ने भएपनि  एकजना प्रहरीले ८५४ जनाको सुरक्षा दिनुपरेको बताए । 

जिल्लामा दुईहजार १०० जना प्रहरी आवश्यक पर्ने बताउँदै थापाले यस्तो हुँदा एकजना प्रहरीले ३५० जनालाई सुरक्षा दिनसक्ने बताए । जिल्लामा २०६८ को जनगणना अनुसार पाँच लाख ६९ हजार ९०४ जनसंख्या रहेको छ । 

हालसम्म यो संख्या ६ लाख नाघेको अनुमान गरिएको छ । थोरै जनशक्तिले धेरै काम गर्नुपर्ने भएपछि प्रहरीलाई पेशागत मर्यादा कायम गरी काममा तदारुकता दिन लागिपरेको थापाले बताए । उनले प्रहरीको कामलाई थप जिम्मेवार बनाउन साउन १ गतेदेखि हालसम्म विभिन्न दर्जाका ४३ जनालाई कारबाही र ३३ जनालाई सम्मान गरिएको बताए । 

थापाकाअनुसार प्रहरीको आन्तरिक शुद्धिकरण अभियान चालिएकाले पेशागत मर्यादा बाहिर गएर काम गर्ने जोकोहीलाई कारबाही गरिएको छ । कारबाहीमा पर्नेमा प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्म रहेका छन् । तीमध्ये पाँचजनालाई जागिरबाटै बर्खास्त गरिएको थापाले जानकारी दिए । 

हटाइएका सबै प्रहरी जवान र हबल्दार रहेका छन् । कारबाहीमा पर्नेमा कामको सिलसिलामा आर्थिक चलखेल गर्ने, काममा लापर्बाही गर्ने, काम छोडेर भाग्ने, कुनै घटना हुँदा तदारुकता नदेखाउने, बिदा गएर समयमा नफर्किने लगायतका रहेको उनले बताए । 

उनीहरुमध्ये अन्यलाई सचेत गराउने, नसिहत दिने, ग्रेड घटुवा गर्ने जस्ता कारबाही गरिएको छ । यसै अवधिमा परेको प्रहरी दिवसमा जिल्लाका ३३ जना प्रहरीलाई सम्मानित पनि गरिएको छ । सम्मानित हुनेमा प्रहरी जवानदेखि प्रहरी नायब उपरीक्षकसम्म रहेका छन् । 

अपराध अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्ने, ट्राफिक व्यवस्थापनमा राम्रो काम गर्ने, विशेष टोलीमा खटिएर उपलब्धिपूर्ण काम गर्ने, निर्वाचनको क्रममा उत्कृष्ट काम गरेका, महत्वपूर्ण व्यक्तिको सुरक्षामा खटिएर राम्रो काम गरेका, महिला तथा बालबालिकाको क्षेत्रमा राम्रो काम गरेका र प्रहरीको सवारी चालक समेत रहेका छन् । 

आन्तरिक शुद्धिकरण अभियानमा जुटेकाले कामलाई चुस्त दुरुस्त गराउने क्रममा कर्तव्यको बोध नभएका प्रहरीलाई कारबाही गर्नुपरेको थापाले बताए । आवश्यक जनशक्ति भन्दा दुई गुणा कम जनशक्तिको भरमा जिल्लाको सुरक्षा प्रबन्ध मिलाउनुपर्ने भएकाले प्रहरी जनशक्तिलाई अनुशासित बनाएर राख्न पनि कारबाही प्रक्रिया कडाइका साथ गर्नुपरेको थापाको भनाइ छ । 

थोरै जनशक्तिले पनि जिल्लाको सुरक्षामा कुनै कमी हुन नदिएको उनले बताए । विशेष परिस्थितिमा जिल्ला बाहिरबाट पनि प्रहरी झिकाएर सुरक्षा मजबुती कायम गरिएको थापाले बताए । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ